वीपी कोइरालाको सम्पत्ति छोराछोरीहरूले बेचेर सिध्याए

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताहरूले अहिले पनि कोइराला परिवारलाई सम्मानका साथ नाम लिन्छन् । वीपी कोइरालाले स्थापना गरेको पार्टी कांग्रेसका कार्यकर्ताले कोइराला परिवारलाई सम्मान गर्नु स्वभाविक पनि हो ।

तर, कोइराला परिवारका सदस्यहरूको गतिविधिले नेपाली कांग्रेस पार्टीलाई फाइदाभन्दा पनि धेरै बेफाइदा नै भएका छन् । कोइराला परिवारबाटै पीडित भएका धेरै नेता तथा कार्यकर्ताहरूको बिल्लिबाठ भएको छ ।

यति हुँदा पनि कार्यकर्ताहरूले कोइराला परिवारको नाम सम्मानका साथ लिन्छन् । केही दिन अगाडि नेपाली कांग्रेस दुई सय कार्यकर्ता विराटनगरस्थित कोइरालानिवास पुगेका थिए ।

काठमाडौंबाट कोइराला परिवारको उद्गम थलो सिन्धुलीको दुम्जा हुँदै विराटनगर पुगेका उनीहरूले वीपी कोइराला आठ वर्ष थुनिएको सुन्दरीजलस्थित जेलको माटो पनि साथमा लगेका थिए ।

कांग्रेसको उद्गम थलो भन्दै उनीहरूले कोइरालानिवासको द्वारमा शिर टेकाए र भित्र पसे । उनीहरूलाई मेयर भीम पराजुली र कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले स्वागत गरेका थिए ।

वीपी संग्रहालयका अध्यक्ष पर्शुराम पोखरेलको नेतृत्वको यो टोली बनारस तथा कांग्रेसका अन्य नेताहरूको जन्मथलो पनि पुग्ने बताइएको छ ।

कोइराला निवास पुगेका कांग्रेसका कार्यकर्ता आक्रोशित थिए । कोइरालानिवासमा खटिएका सशस्त्र प्रहरीको सुरक्षा दस्ता सरकारले भर्खरै हटाएकोमा उनीहरू रुष्ट भएका हुन् ।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदादेखि खटिएको सुरक्षा हटेपछि कांग्रेसवृत्तमा भुइँचालो नै गएको छ । मेयर पराजुलीले नगररक्षक खटाएर निवासमा पहरा दिन लगाइरहेका छन् ।

कांग्रेसका सांसदहरूले प्रदेश सभामा हटाइएको सुरक्षाकर्मी बहाल गर्न माग पनि गरेका छन् । सरकारले कोइरालानिवास व्यक्तिगत घर भएकाले सुरक्षा आवश्यक नभएको भन्दै हटाएको प्रतिक्रिया दिएको छ ।

सरकारले कांग्रेसको तीर्थलाई अपमान गरेको आरोप कांग्रेस कार्यकर्ताले लगाएका छन् । नेपाली लोकतान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको यो स्थान मासिने चिन्ता उनीहरूमा थियो ।

कांग्रेस कार्यकर्ता कोइरालानिवासलाई आस्थाको धरोहर तीर्थस्थल मान्छन् । कोइराला खलकका सन्तानले यो स्थान अंशबन्डा गर्दै बेच्दै गरिरहेको नयाँ पत्रिका दैनिकले समाचारमा जनाएको छ ।

शुरूमा कोइरालानिवास दुई बिघाजति जमिनमा फैलिएको थियो । कृष्णप्रसाद कोइरालाका पाँच भाइ छोरामध्ये मातृकाप्रसादले आफ्नो अंश पहिल्यै लिइसकेका थिए ।

विश्वेश्वरप्रसाद, केशवप्रसाद, तारणीप्रसाद र गिरिजाप्रसादले अंशमा ८–८ कट्ठा पाएका थिए । तिनका सन्तानहरूले जग्गा बेच्दै गएका छन् भने बेचिएका जग्गामा ठुल्ठूला घर बन्न थालेका छन् । कोइरालानिवासको दिनदिनै रूप गुम्दै गएको छ ।

निवासको बाटो मात्र होइन पूरै सौन्दर्य छेकिदिएको छ । पहिले एउटै रहेको निवासमा अब आउनेजाने बाटोसमेत अलगअलग भएको छ ।

सुजाताले आफ्नो भागमा परेको जमिनमा बुबा गिरिजाप्रसादको नाममा जीपी फाउन्डेसन खोलेर तीनतले भवन बनाइसकेकी छिन् । यो भवनले कोइरालानिवासको पुरानो मुख्य भवन नै छेकिदिएको छ ।

कृष्णप्रसाद कोइरालाले वि.सं. १९९० तिर काठ, बाँस र माटो प्रयोग गरी बनाएको घर अहिले पनि उस्तै छ । पछि क्रमशः सिमेन्टका दुईवटा घर थपिए । कृष्णप्रसाद कोइराला हुँदैदेखि यहाँ चहलपहल हुन्थ्यो । त्यतिखेर व्यापारिक काम र भूमिगत राजनीतिका लागि प्रयोग हुन्थ्यो यो स्थान ।

०१७ सालपछि पनि सुनसान भएन यो निवास । कांग्रेस सत्तामा रहँदा त यहाँको चहलपहल नै बेग्लै हुन्थ्यो । कृष्णप्रसादका तीन पुत्र मातृका, बिपी र गिरिजा प्रधानमन्त्री भए । पार्टी चलाउने केन्द्र कोइरालानिवास नै थियो । दर्जनौँ कार्यकर्ताको आवतजावत हुन्थ्यो ।

वीपी जीवित रहुन्जेल बारम्बार आइरहन्थे । ६ साउन ०३९ मा काठमाडौंमा उनको निधन हुँदा विराटनगरको निवासमा कार्यकर्ताले एक वर्षसम्म विगुत राखेर, बत्ती बालेर श्रद्धा प्रकट गरेका थिए । त्यो कोठामा अझै पनि वीपीको बडेमानको तस्बिर सजाएर राखिएको छ ।

गिरिजा प्रधानमन्त्री भएका वेला पटकपटक विश्राम लिन विराटनगर आउने गर्थे । त्यसवेला झन् भिडभाड हुन्थ्यो ।

मातृकाप्रसाद कोइरालाले आफ्नो भागको जग्गा ००७ सालमै लिएका थिए । कोइरालानिवासको मुख्य घरको उत्तरतिरको घरमा मातृकाप्रसादले जीवनका धेरै निष्क्रिय समय व्यतीत गरे । उनको निधनपछि यो सम्पत्ति छोरा कमल कोइरालाको जिम्मामा छ ।

मातृकाप्रसादको सम्पत्ति अलग भए पनि अरू चार भाइ वीपी, केशव, गिरिजाप्रसाद र तारिणीप्रसादको परिवार सगोलमा थिए । जनमतसंग्रहमा पराजयपछि ०३७ मा विराटनगर पुगेका वीपी कोइरालाले घरका अगुवा पुरुषलाई बोलाएर सम्पत्ति बाँडफाँड गराएका थिए ।

कुल दुई बिघा जमिन बाटो छोडेर चार भाइलाई आठ–आठ कट्ठा बाँडिएको थियो । बाँडफाँड गर्दा कोइराला परिवारको मूल घर केशवको नाममा पर्‍यो ।

केशवको निधनपछि सो घर छोराहरू शेखर र निरञ्जनको नाममा छ । जनमतसंग्रहपछि निरञ्जन भारततिर गए र दिल्लीमै व्यवसाय गरेर बसे । यो घर अहिले शेखरको जिम्मा छ ।

Published : Monday, 2019 June 17, 10:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया