ओलीलाई तरुण दलद्वारा कालो झण्डाले स्वागत, सुरक्षाकर्मी आतंकित

काठमाडौं । नेपाल तरुण दलले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई कालो झण्डा देखाएर विरोध जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार नेपाल तरुण दल काठमाडौंको आह्वानमा सचिव दिनेश बिक्रम शाह र नेपाल विद्यार्थी संघ मीन भवन क्याम्पस ईकाइका उपाध्यक्ष मन्दीप काफ्लेले कालो झण्डा देखाएर विरोध जनाएका हुन् ।

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने क्रममा सुरक्षार्थ खटिएका प्रहरीले शाह र काफ्लेलाई पक्राउ गरेको तरुण दलले जनाएको छ ।

कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओली युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले नेपाल तरुण दलको कालो झण्डाको सामना गर्नुपरेको छ ।

तरुण दलले कालो झण्डा देखाएर ओलीको स्वागत गरेपछि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरू आत्तिएका थिए । ओलीविरुद्ध प्रदर्शन नहोस् भनेर प्रहरीले उच्च सुरक्षा सर्तकता अपनाएको थियो ।

तरुण दल काठमाडौंका सचिव शाहले कम्युनिस्ट सरकारको अधिनायकवाद र जनविरोधी विधेयकहरूको विरोधमा सांकेतिक रुपमा कालो झण्डा देखाएर विरोध जनाएको बताए ।

‘यो कम्युनिस्ट सरकारले जनताले दिएको दुईतिहाइको म्याण्डेटको दुरुपयोग गरिरहेको छ’, उनले भने, ‘गुठी विधेयक, मिडिया काउन्सिल विधेयकलगायतका विधेयकहरू ल्याएर संविधान विरुद्धको गतिविधिहरू गर्दै आएको छ । निरंकुशता र अधिनायकवाद नेपाल तरुण दललाई सैह्य छैन ।’

नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले शान्तिपूर्ण रुपमा कालो झण्डा देखाउन क्रममा शाह र काफ्लेलाई पक्राउ गरेको भन्दै विरोध जनाए । उनले लोकतन्त्रमा शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने अधिकार रहने भन्दै कम्युनिस्ट सरकार विरोधबाट डराउने गरेको बताए ।

Published : Sunday, 2019 June 16, 5:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया