रंगशालाभित्र ‘थ्री न्यौपाने’को काण्ड, सीताराम कट्टेलकाे समर्थन

भरतपुर । चितवनको भरपुर महानगरपालिकामा बन्दै गरेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’मा प्ररम्भीक चरणमा झण्डै एक साढेदेखि दुई एक करोड खर्च भएको दाबी गरिएको छ ।

चन्दा संकलन गरेर ल्याइएको रकमलाई रंगशाला निर्माण गर्ने बहानामा कोटेशन नै ननिकालेर आफू खुसी काम गर्न दिने गरेको रहस्य बाहिर आएको छ । चन्दाको पैसाबाट बन्ने यति ठूला परियोजनालाई कोटशन निकालेर कम दर रेटमा काम गर्नेलाई दिनुपर्ने स्थानीयको दवाव छ । स्थानीयको यो दवावलाई धुर्मुस–सुन्तली फाउण्डेशनका सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई मन परेको छैन ।

रंगशाला आसपासका पाँच वटा टोल सुधार समितिहरूले साढे एक करोडदेखि दुई करोडसम्म खर्च हुँदा पनि त्यसको खर्च विवरण नदेखाएको भन्दै धुर्मुस सुन्तली फाउण्डेशनसँग आक्रोश व्यक्त गरेका छन् ।

सीताराम कट्टेल र कुञ्जना घिमिरेले प्रकाश कँडेललाई कमिशन मागेको तथा ठेक्का मागेर हैरान बनाएको भनेर आरोप लगाइरहेका बेला रंगशालाभित्रको प्राम्भीक अनियमितता बाहिर आएको छ । अरु पनि थुप्रै कुरा क्रमशः बाहिर आउनेछन् ।

स्रोतका अनुसार फाउण्डेशनका प्रतिनिधि अर्जुन न्यौपानले आफू अनुकूलका व्यक्ति र व्यापारीहरूलाई सामान खरिद र कामको जिम्मेवारी दिने गरेका छन् । उनको कार्यलाई धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले पनि अघोषित रुपमा साथ दिएको आरोप स्थानीयको छ । कमिशनको चक्करमा अर्जुन न्यौपानेले अपारदर्शी काम गरेको दाबी गरिएको छ ।

आरोपहरूलाई अर्जुन न्यौपानेले अस्वीकार गरेका छन् । ‘म भोलेन्टियरका रुपमा काम गर्दै आएको छु । मैले कुनै पनि अनियमितता गरेको छैन’, उनले भने, ‘रंगशालाको सूचना सीताराम कट्टेल सर आफैले दिनु हुन्छ । मैले भन्न मिल्दैन ।’

अर्जुन न्यौपानेकै दवावमा स्थानीय विजय परियारलाई प्लम्बिङ र वायरिङको काम नदिएर अरु नै व्यक्तिलाई पैसा दिएर काममा लगाइएको स्रोतले जनाएको छ । परियारले आफूले रंगशालाको वाइरिङ र प्लवम्बिङको काम निःशुल्क गर्ने आश्वासन दिएका थिए । तर, धुर्मुस–सुन्तली फाउण्डेशनका प्रतिनिधि अर्जुन न्यौपानेले अर्कै व्यक्तिलाई दश प्रतिशत कमिशनमा काम गराएको टोल सुधार समितिहरूले दाबी गरेका छन् ।

रंगशालाको काम गर्न फाउण्डेशनबाट जेसीबीको कोटेशन आह्वान गरिएको थियो । कोटेशनलाई लत्याएर धुर्मुस–सुन्तली फाउण्डेशनले दाखिला कोटेशन नखोलेर आफू अनुकूलको व्यक्तिलाई कामको जिम्मेवारी दिइएको छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका सहयोगी गोपाल न्यौपाने (सल्लाहकार)ले पीडित स्थानीयहरूको मागका बारेमा सहि रिपोर्टिङ नगरेको आरोप छ । पाँच महिना अगाडिको स्थानीयको मागलाई गोपाल न्यौपानेकै जोडबलमा फाइललाई रोकेर राखिएको स्थानीय उपभोक्ता समितिहरूले आरोप लगाएका छन् । गोपाल न्यौपानेले पनि रंगशाला निर्माणका क्रममा भएका सामान खरिद र टेण्डरहरूमा आफ्नाहरूलाई पार्न चलखेल गर्ने गरेको स्रोतको भनाइ छ ।

तर, ती आरोपहरूलाई गोपाल न्यौपानेले अस्वीकार गरेका छन् । ‘मलाई लगाइएका आरोपहरूमा कुनै दम छैन । यो विषयमा महानगरले विशेष ध्यान दिइरहेको छ । सडक बनाउने महानगरले हो’, उनले भने, ‘रंगशालाको डीपीआर आयो भने सबै कुरा पूरा हुन्छ । स्थानीय जनताको माग पूरा हुन्छ ।’ प्रकाश कँडेललाई के गर्नु हुन्छ भन्ने जिज्ञासामा गोपाल न्यौपानेले भने, ‘यो विषय प्रहरी, प्रशासन र अदालतको हो । हाम्रो होइन ।’

गोपाल न्यौपानेले महानगरपालिकाकी मेयर रेणु दाहाललाई घेराबन्दीमा राखेर स्थानीय पीडित जनताको आवाजलाई सम्बन्धित निकायसम्म पुग्न नदिएको आरोप छ । स्रोतले भन्यो, ‘गोपाल न्यौपानेले कमिशनविना कुनै पनि काम गर्नु हुँदैन । जनताले मेयरसंग भेट्न खोज्दा सधैँ अवरोध पुर्‍याउनु भएको छ ।’

रंगशालाको पश्चिमपट्टिको बाटोका सन्दर्भमा छलफल भएर निर्णयमा पुगेको तर, कार्यान्वयन गर्नुको सट्टा शक्तिको दुरूपयोग गरी स्थानीय जनताको आवाजलाई दमन गरेको आरोप उपभोक्ता समितिहरूले लगाएका छन् ।

चैत सात गते बेलुका गरिएको छलफलको कार्यान्वयन नहुँदा घटना रंगशालाको बार भत्काउने कार्य भएको थियो । सडकमा स्थानीय जनताको पैतीस र राज्यको पैसठ्ठी प्रतिशत योगदान गर्ने सहमति कार्यान्वयन नहुँदा घटना भएको जनाइएको छ । चैत १४ गते बेलुकासम्म पटक पटक फोन र म्यासेज गर्दा समेत गोपाल न्यौपानेले बेवास्ता गरेको आरोप स्थानीयले लगाएका छन् ।

यस विषयमा आफूहरूले मेयर दाहालको सचिवालयका सुरेशचन्द्र अधिकारीलाई समेत पटक–पटक जानकारी गराएको पीडितहरूले बताएका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १६ ढण्ढाघारी घर भएका मधुसुदन न्यौपानेले फाउण्डेशनका अर्जुन न्यौपाने र मेयरका सहयोगी गोपाल न्यौपानेसँग मिलेर रंगशालामा कमिशनको खेल चलाएको आरोप छ ।

मधुसुदन न्यौपानेले कमिसनको खेलमा शुरूदेखि नै विजुली प्लम्बिङ, सिमेन्ट, गिट्टी, वालुवा लगायत सम्पूर्ण निर्माण सामाग्री आफू मातहत खरिद गर्न लगाई दश प्रतिशत कमिसनमा काम गर्ने गरेको स्रोतले दाबी छ ।

मधुसुदन न्यौपानेले नै स्थानीय जनतालाई भड्काउनेदेखि शंका हुने खालका गतिविधि गरेको आरोप स्थानीयले लगाएका छन् । यद्यपि आफूमाथि लागेका आरोपहरूलाई मधुसुदन न्यौपानेले अस्वीकार गर्दै कुनै पनि आरोप पुष्टि भए सजाय भोग्न तयार रहेको बताए ।

रंगशालाको बेथिति र स्थानीय जनताको कुरा उठाउँदा स्थानीय युवा प्रकाश कँडेलसहितका व्यक्तिहरू अहिले पनि थुनामा छन् । रंगशाला बन्न नदिने खेलामा तीन जना न्यौपानेहरू सक्रिय भएको आरोप छ ।

Published : Friday, 2019 June 14, 12:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया