कम्युनिस्ट अधिनायकवादविरुद्ध लड्न कांग्रेसभित्र विवाद छैनः डा.शेखर कोइराला

बनेपा । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कम्युनिष्टहरूले केन्द्रदेखि वडासम्म निषेधको राजनीति गरेर कांग्रेससंग मुठभेड निम्त्याएको बताएका छन् ।

काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको सल्लेमा बुधबार आयोजित आमसभालाई सम्बोधन गर्दै डा.कोइरालाले आफूहरू प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न तयार भएपनि सरकार दुईतिहाईको दम्भले अगाडि बढिरहेको बताए ।

‘सरकारको दम्भले सीमाले नाघेको छ’, उनले भने, ‘कांग्रेस अब चुप लागेर बस्दैन । सरकारका गलत क्रियाकलापको गाउँदेखि केन्द्रैसम्म खबरदारी हुन्छ ।’ ओली सरकारले अब ठाउँ ठाउँमा कांग्रेसको सामना गर्नुपर्ने डा.कोइरालाले बताए ।

‘कम्युनिष्टहरूको ज्यादतिबिरुद्ध लड्ने समय आएको छ’, उनले भने, ‘त्यसका लागि तपाईहरू तयारी अवस्थामा रहनुस् ।’

कांग्रेस नेता डा.कोइरालाले पार्टीभित्र केही बैचारिक मतभेद रहे पनि कम्युनिष्टहरूका बिरुद्ध लड्न कांग्रेस एकढिक्का रहेको बताए । ‘पार्टीभित्र विवाद छ । पार्टीको विवाद मिलाउँला’, उनले भने, ‘कम्युनिस्टहरूको अधिनायकवाद विरुद्ध लड्न कांग्रेस एकजुट छ ।’

उनले पार्टीको १४औं महाधिवेशन समयमै हुनुपर्ने बताएका छन् । ‘डेढ वर्षभित्र संघीय संरचनाअनुसार पार्टीलाई सांगठनिक रुपमा लैजानुपर्छ’, डा.कोइरालले भने, ‘तदर्थ समिति बनाएर अगाडि बढ्न खोजिएको छभने त्यो कांग्रेस नेतृत्वका लागि घातक हुनेछ ।’

कांग्रेस केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, बहादुरसिंह तामाङ र शिब हुमागाइँ तथा काभ्रे कांग्रेसका सभापति मधु आचार्यले कम्युनिष्ट सरकारको दिनगन्ती शुरू भएको बताएका थिए ।

Published : Saturday, 2019 June 1, 10:22 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया