अभियानले कांग्रेसका कार्यकर्तालाई जाँगरिलो बनाएको छः विश्वप्रकाश शर्मा (अन्तर्वार्ता)

विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस

नेपाली कांग्रेसले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हिंसात्मक गतिविधि विरोध गर्दै आएको छ । तर, नेपाल सरकारले नेपाली कांग्रेसले विप्लवको गतिविधिप्रति कडा रुपमा प्रस्तुत हुनुपर्ने अपेक्षा राख्दै आएको छ । विप्लवको हिंसाको कांग्रेसले विरोध गरेपनि सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता हुनुपर्ने धारणा कांग्रेसको छ ।

नेपाली कांग्रेसले आफूलाई गाउँमा केन्द्रित पनि गरेको छ । जागरण अभियान चलाइरहेको कांग्रेसका नेताहरूबीच गुटको प्रभाव देखिएको छ । कतिपय स्थानहरूमा नेताहरूबीच भनाभन हुनुका साथै हातपातसम्मको अवस्था सिर्जना भएका छन् । केही नेताहरूले सभापति शेरबहादुर देउवाविरुद्ध गाली गर्ने थलोका रुपमा समेत प्रयोग गरेका छन् । यी सबै विषयमा हाम्रा सहकर्मीले नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासँग गर्नुभएको कुराकानीको सम्पादित अंश

विप्लव नेतृत्वको नेकपाले बम विस्फोट गराउँदा संसदमा नेपाली कांग्रेसको दुई थरी कुरा आयो ? कसैले विप्लवको पक्षमा धारणा दिए । कसैले विरोध गरे । किन यस्तो कुरा भयो ?

देशमा लामो द्वन्द्वबाट शान्ति स्थापना भएको छ । शान्तिलाई खलल पुर्‍याउनेभन्दा उपलब्धी प्राप्तिको लागि विप्लव समेतको हिजो योगदान थियो । त्यसैले विप्लव पनि यही प्रक्रियामा आउनुपर्छ । देशको समृद्धिको यात्रा खोज्नुपर्छ । विप्लवले हिंसा छाड्नुपर्छ । हत्या आतंक छाड्नुपर्छ । सरकारले पनि निषेधको राजनीति छाड्नुपर्छ । सरकारले विप्लवलाई वार्तामा ल्याएर आएर समाधानमा पुग्नुपर्छ । हाम्रो मूल लाइन यही हो । तर, कहिँ बम पड्किन्छ । जीवन गुम्छ भने विप्लवले ठीक गरे भनेर हामीले भन्न सक्दैनौँ । विप्लवले त्यो बाटो छाड्नै पर्छ । हिंसा कायरता हो । हिंसा कुनै बहादुरी होइन ।

विप्लव नेतृत्वको नेकपाले बम विस्फोट गराएपछि तपाईको विज्ञप्ति आयो । नेपाली कांग्रेसले विस्फोट र आतंकको विरोध गरेको छ । तर, नेपाली कांग्रेसका नेता र सांसदहरूले नै तपाईले जारी गर्नुभएको विज्ञप्तिलाई फलो गर्नु भएन । किन होला ?

सांसदहरूको एकदमै फरक धारणा छैन । सांसदहरूको धारणालाई सारमा फरक मान्नु हुँदैन । उहाँहरूले हिंसाको विरोध गर्नुभएको छ । निषेधको राजनीति नगर्न सरकारलाई दवाव दिनुभएको छ । नेपाली कांग्रेसले हिंसाको विरोध गरेपछि सांसद र नेताहरूले समर्थन भन्ने कुरै आउँदैन । तर, सरकारलाई पनि वार्ताको बाटो अंगाल्न नेपाली कांग्रेसको दवाव रहन्छ ।

कांग्रेसले विप्लव नेतृत्वको नेकपाको विषयमा किन स्पष्ट धारणा दिन नसकेको होला ?

हामीले त वार्ता गर भन्ने हो । सरकारले जहाँ बम विस्फोट भइरहेको छ त्यहाँ नियन्त्रण नगर्ने त कुरो हुँदैन । सरकारको दायित्व त्यस्ता घटना नियन्त्रण गर्ने नै हो । नियन्त्रण गर्नुपर्छ । शान्ति सुरक्षा त दिनैपर्छ । अर्कोतर्फ तिमीले गलत गर्दै छौँ । बम पड्काउँदै छौ भने तिमीलाई ठोक्ने मात्रै भनेर हुँदैन प्रतिपक्षले । प्रतिपक्षले तिमीले गलत गर्दै छौँ भनेर विप्लव समूहलाई वार्तामा आउ भन्नुपर्छ । सरकारलाई पनि त्यही भन्नुपर्छ ।

विप्लवले बम पड्काएर मान्छे मारेको विषयलाई नेपाली कांग्रेसले ठीक भन्छ कि बेठीक भन्छ ?

कसरी ठीक भन्छ ? हिंसालाई जहिले पनि कांग्रेसले बेठीक भनेको छ । र, हिंसामा गएका शक्तिले हिंसा छोडेर आउनुपर्छ । राज्यले उनीहरूलाई वार्ताबाट मूल प्रवाहमा ल्याउनुपर्छ । कांग्रेसको हिंसाको पक्षमा छैन । हिंसा कायरता हो । हिंसालाई नेपाली जनताका माझ स्थान छैन ।

नेपाली कांग्रेसको जागणर अभियानमा विवाद आएको छ । कसैले महाधिवेशनको कुरा गरेका छन् । कसैले संगठन सुदृढीकरणको कुरा गरेका छन् । यसमा किन विवाद भएको होला ?

जागरणको उदेश्य पार्टीलाई जागृत गर्ने मात्रै होइन । पार्टीको धारणाहरू सार्वजनिक रुपमा राख्ने पनि हो । नेपाली कांग्रेस पार्टी जागरण अभियानको कारण देशव्यापरी रुपमा एउटा जागृत अवस्थामा पनि रहेको छ । त्यो बन्दै गर्दा र भोलि महाधिवेशनमा जाँदै गर्दा त्यो विषय प्रवेश भएपछि त्यता पनि जाग्छ । जागृत अवस्थामा महाधिवेशन जाँदा पो राम्रो होला त । सुतेको, निदाएको, अल्छी गरेको अवस्थामा जाने भनेको प्रतिस्पर्धात्मक अवस्थामा जाने तर, जागृत अवस्थामा जाने हो नि ।

त्यसका लागि ठीक समयमा महाविधेशन गर्ने विषय प्रवेश हुन्छ । अहिलेलाई के हो भने हामी घरेलु जीवनलाई जागृत बनाउने नै हो । राष्ट्रिय राजनीतिमा हाम्रो भूमिकालाई प्रखर बनाउने हो । पार्टीलाई अझ पहिलाभन्दा पनि सुदृढ बनाउने हो । सुदृढ बनाएर जाने हो । कमीकमजोरीहरूको अन्त्य खोज्दै जाने अहिलेको हाम्रो कार्यभार हो ।

जागरण अभियानमा तपाईहरूले गाउँका नेताहरूलाई बोल्न बन्देज लगाएर ठीक गर्नु भएन रे ? किन बन्देज लगाउनु भयो ?

होइन बन्देज बिल्कुल लगाएको छैन । वक्ता घटाउने भन्ने केन्द्रको प्लानिङ हो । तर, स्रोता कति हुने ? तल फ्लोरबाट कतिले सुन्ने ? कतिले बोल्ने ? भन्ने कुरा केन्द्रले तोक्ने होइन । केन्द्रले लेखेको सर्कुलरमा के पनि उल्लेख छ भने केन्द्रीय प्रतिनिधिहरूलाई कि कांग्रेसले सुनाउने मात्रै होइन । आम जनता के चाहन्छन् ? कस्तो कांग्रेस चाहन्छन् ? कांग्रेसलाई के सुनाउन चाहन्छन् ? यो पनि सुनेर आउने भनेर हामीले लेखेर पठाएका छौँ ।

भातृसंगठनहरूको महाविधेशन पनि भएको छैन । पूर्णता पनि पाएका छैनन् । यी विषयहरूमा कांग्रेस नेतृत्वको ध्यान कहिले जान्छ ?

जागरण अभियानको पहिलो चरण सकिएपछि केही विभागहरूको विषय, नेविसंघको विषयहरू टुंगोमा पुग्छ ।

मिडिया काउन्सिलको विषयका बारेमा कांग्रेस के भन्छ ?

यो मिडिया काउन्सिल विधेयक सुनको तरवार हो । झुण्ड्याए जस्तो हो । कम्युनिस्ट पार्टी जनताबाट निर्वाचित भएर आएको अलिकति मायालु ढंगले तरवारले नै हान्दै गर्दा किन पित्तलकोले हान्ने भनेर सुनको तरवारले हान्न खोजेको हो । तर, प्रश्न सुनको तरवार छ कि पित्तलको छ भन्ने होइन । त्यसले दिने चोट के हुन्छ भन्ने मुख्य कुरा हो ।

Published : Thursday, 2019 May 30, 12:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया