रेणु दाहालले आफ्नै मतदाताहरूलाई पक्राउ गराइन्

भरतपुर । चितवन जिल्लामा धुर्मुस–सुन्तली फाउण्डेशनले बनाउन लागेको भनिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा सुरक्षाका लागि लगाइएको जस्ताकाे बार स्थानीयहरूले भत्काइदिएका छन् ।

स्थानीय जनताहरूलाई समस्यामा पार्ने गरी रंगशाला बनाउन थालेपछि विराेध भएकाे थियाे । स्थानीय असन्तुष्ट पक्षले बार भत्काएकाे चितवन प्रहरीले जनाएको छ । बुधबार बिहान डोजर नै प्रयोग गरेर झण्डै १ किलोमिटर क्षेत्रमा लगाइएको बार भत्काइएको छ ।

रंगशाला बनाउने बहानामा धुर्मुस सुन्तली फाउण्डेशनले सडक मिचेको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । बार भत्काउनेहरूलाई अराजक व्यक्तिहरूको संज्ञा दिइएको छ ।

बार भत्काउनेहरूमा सत्तारुढ नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरू रहेको जनाइएको छ ।

भत्काइएको क्षेत्रको बुधबार जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललगायतले अनुगमन पनि गरेका छन् ।

बार भत्काइएको स्थानको अवलोकनपछि मेयर रेणु दाहालले दोषीलाई कारबाही गर्न एसपी दानबहादुर मल्ललाई निर्देशन दिएकी थिइन् ।

‘मेयर रेणु दाहालले आफ्नै मतदाताहरूलाई पक्राउ गर्न एसपी दानबहादुर मल्ललाई निर्देशन दिनुभएपछि स्थानीय गाउँलाई पक्राउ गरिएको छ’, एकजना पीडितले भने, ‘उहाँहरू पावरमा हुनुहुन्छ । जे गरेपनि भएको छ । हाम्रो माग र पीडाको सुनुवाई हुनु पर्दैन ?’

लामो समय पुष्पकमल दाहाल ‘प्रचण्ड’को अंगरक्षक बसेका चितनव प्रहरीका प्रमुख एसपी मल्ल भरखरै जिम्मेवारी सम्हाल्न चितवन आइपुगका हुन् ।

घटनामा संलग्न भएको आशंकामा १६ जना पक्राउ गरेको चितवन प्रहरी प्रवत्ता डिएसपी दुर्गाराज रेग्मीले बताएका छन् । बार भत्काउन प्रयोग गरिएको डोजर समेत प्रहरीले नियन्त्रणमा लिइएको छ ।

रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने स्थानीयको माग छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने उनीहरूको भनाई छ ।

स्थानीयले समेत केही मिटर छाडेर बाटो खोल्ने सहमति भएको ४ दिनपछि नै केही व्यक्तिहरूको उक्साहटमा जस्ताको बार भत्काइएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए ।

Published : Thursday, 2019 May 30, 8:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया