अहँकारी प्रधानमन्त्रीलाई लोकतान्त्रिक बन्न कांग्रेसको सुझाव

प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्ना अभिव्यक्तिहरूमा प्रमुख प्रतिपक्षसहितका दल र विरोधीहरूलाई कठोर आलोचना गरेर निरंकुशताको संकेत दिएका छन् ।

संसदको मंगलबारको बैठकमा ओलीको अभिव्यक्ति र कार्यशैलीले धेरैलाई आक्रोशित बनाएको छ । नेपाली कांग्रेस ओलीको अभिव्यक्ति र शैली सुध्रिनुपर्ने पक्षमा छ ।

उपेन्द्र यादवको दल सरकारमा सहभागी भएपछि दुई तिहाइको बहुमत रहेको वर्तमान कम्युनिस्ट सरकार अराजक बन्दै गएको छ । सरकारले विपक्षी दलहरूलाई होच्याउने कार्यलाई लोकतान्त्रिक प्रक्रियामा राम्रो मानिदैन ।

ओली सरकारले यसै गरी विपक्षी दल र विरोधीहरूप्रति असंहिष्णु बन्ने हो भने राजनीतिक मुठभेड हुनेछ । त्यसको असर सरकारलाई पर्नेछ ।

सांसदहरूका प्रश्नको जवाफ दिन रोष्टममा उभिएका प्रधानमन्त्री ओलीले ‘कुण्ठा र निम्छरो प्रश्नको जवाफ दिन्न’ भन्ने शब्दावली स्तरहीन भाषाको प्रयोग हो ।

सार्वभौमसत्ता संसदका प्रश्नलाई निम्छरो र कुण्ठा ठान्नु आफैमा संसदीय मर्यादा हैन । सांसदलाई शान्त गर्ने र प्रकृया अघि बढाउने अर्थात रुलिङ गर्ने जिम्मेवारी सभामुखको हो ।

मंगलबारको संसदको बैठकमा प्रधानमन्त्री ओलीले सोझै सांसदहरूसँग बाझाबाझ गरेको देखियो । सुनियो । प्रधानमन्त्री ओलीले हल्का क्रोधको मुद्रा झिकेर सांसदहरूलाई हप्काएको आभास हेर्नेहरूलाई भयो । यो पटक्कै संसदीय अभ्यासको शैली हैन ।

ओलीको झोंकको मुद्रा हेर्न लायक थियो । ओली बिरामी भएकाले यसरी झोंक निकालेर बाझाबाझ गर्दा उच्चरक्तचाप बढनसक्छ भन्नेतर्फ ‘मेरो सरकार’ पक्कै सजग होला नै । सांसदहरूसँग नम्र ढंगले प्रस्तुत हुनु स्वास्थ्यकर छ ।

संसदमा सभामुख कृष्णबहादुर महरालाई समेत रिस देखाउने ओलीको अभिव्यक्ति र व्यवहार अहँकारमा केन्द्रित थियो । त्यसैले ओलीले अहँकार त्यागेर संविधान र लोकतान्त्रिक प्रक्रियाअनुसार अगाडि बढ्दा नै हित हुन्छ ।

Published : Tuesday, 2019 May 14, 10:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया