अस्तिका चिचिला कम्युनिस्टहरूले खुमबहादुरसँग तुलना गर्न सुहाउँदैनः राजु खनाल (अन्तर्वार्ता)

राजु खनाल, युवा नेता एवम् पूर्वसांसद, नेपाली कांग्रेस

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले कम्युनिस्टहरूका कारण उपलब्धि गुम्ने अवस्था आएको बताउँछन् । कांग्रेसभित्रको विवादलाई छिटो समाधान गरेर कम्युनिस्टहरूसँग गाउँदेखि नै वारपारको लडाइँ लड्ने बेला आएको उनी बताउँछन् ।

दाङ कांग्रेसको राजनीतिमा सक्रिय रहेका खनालले दाङका सिनियर नेताहरूको सल्लाह, निर्देशन र सामूहिक निर्णयका आधारमा अगाडि बढ्नुपर्छ भन्छन् ।

दाङमा बढदै गएको कम्युनिस्टहरूको झुठको खेतीबाट जनतालाई सचेत गराउने दायित्व कांग्रेसको काँधमा आएको युवा नेता खनालले बताएका छन् । कांग्रेसका युवा नेता राजु खनालसँग रिएको कुराकानीको सम्पादित अँश :

दाङ कांग्रेसको राजनीति के भइरहेको छ ?

नेपाली कांग्रेसले दाङमा आफ्ना गतिविधिहरू गरेर गईरहेको छ । क्षेत्रीयस्तरमा होस् वा जिल्ला कार्यसमितिले गर्ने कार्यक्रमहरू र समय समयमा केन्द्रीयबाट आउने कार्यक्रम जिल्लाका साथीहरूले गर्नुभएको छ । भेटघाट गर्ने र आफ्ना कार्यक्रमहरू नेता तथा कार्यकर्तालाई सम्झाउने गर्नुभएको छ । निर्देशन दिने काम भएका छन् ।

जनतालाई अहिलेको परिस्थिति सम्झाउने देश कसरी गईरहेको छ ? सत्ताधारी दलहरूले देश कसरी सञ्चालन गरिरहेका छन् ? विकास निर्माणका योजना र कार्यक्रममा विगत र अहिलेको अवस्था के अवस्था छ ? कांग्रेसबाट निर्वाचित भएको बेला के अवस्था थियो ? अहिले कुन अवस्था भईरहेको छ ? कसरी विकासका बजेटहरू गईरहेका छन् ? तीबारेमा जनतालाई सचेत गराउने । किन भने विगतको तुलनामा त्यो क्षेत्रबाट निर्वाचित मान्छेहरू, त्यो जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरू अहिले कोही मुख्यमन्त्री छन्, कोही सभामुख छन् ।

तर, पनि सोँचे अनुसारको बजेट दाङमा जान सकेको छैन । विगतमा हामी सांसद भएका बेला जति विकास निर्माणका काम भए, अहिले त्यति काम पनि हुन सकेको अवस्था छैन । त्यसले गर्दा खेरी जनतामा जुन आश्वासन उनीहरूले दिएका थिए त्यो अनुसारको कामहरू पूरा हुन सकेको छैन । दाङमा सबै राजनीतिक दलहरूले माग गरेको भनेको प्रदेशिक राजधानीको कुरा थियो । अहिले राजधानी यतिसम्म भन्नुभयो कृष्णबहादुर महराले त आठौं प्रदेश बनाएर भएपनि दाङलाई हामी राजधानी बनाउँछौँ भन्नु भएको थियो ।

अहिले उहाँहरूको दुई तिहाइको बहुमत छ । र, बैधानिक व्यवस्था पनि दुई तिहाइले जहाँ चाह्यो त्यहीँ निर्णय हुन सक्छ । प्रदेश ५ को मुख्यमन्त्री पनि हाम्रै जिल्ला र हाम्रै क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुनुहुन्छ । त्यसलाई अगाडि निर्णय गर्ने अवस्थामा पु¥याउनेभन्दा पनि उहाँहरूले यसलाई एउटा लिङ्गेरिङ गराएर पछाडि धकेलेर लिएर जाने रणनीतिमा लागेको अहिले दङ्गाली जनताहरूले बुझेका छन् ।

दाङ कांग्रेसको गतिविधि शून्य भयो । गुट उपगुटका कारण दाङमा कांग्रेस कमजोर भयो भन्छन् । अवस्था त्यस्तै हो ?

कम्युनिस्टहरूसँग भिड्न र संगठन बनाउन जिल्ला र क्षेत्रले जसरी कार्यक्रमहरू बढाउनु पर्ने हो त्यस्तो नभएको गुनासाहरू सुनिने गरेका छन् । तर, हामी विपक्षा छौँ । विपक्षमा हुनेवित्तिकै सत्तापक्षमा हुनेभन्दा अझै क्रियाशीलता हुनुपर्ने बढी आवश्यक्ता छ । विभिन्न कामहरू अहिले सत्तामा बस्नेहरूले गरिरहेका हुन्छन् । गलत कामहरू भईरहेका हुन्छन् । त्यसलाई रोक्ने भनेको विपक्षीले हो । हामीहरू अझै क्रियाशील भएर जानुपर्ने अवस्था छ । तर, पनि दाङ कांग्रेसले गतिविधि गर्दै नगरेको अवस्था चाहिँ होइन । कार्यक्रमहरू गरिरहेका छौँ । मिडियामा नआएको हुन सक्छ । केन्द्रको कारणले पनि गुटलाई प्रभाव परेको छ । केन्द्रमा नै व्यापक गुटबन्दी देखिएको छ । केन्द्रको प्रभाव जिल्लामा पर्नु स्वभाविक छ ।

खुमबहादुर खड्काको अभाव खड्किएको हो ?

हिजोका दिनमा खुमबहादुर खड्काज्यू हुनुहुन्थ्यो । सबैको नेतृत्व उहाँले गर्नु हुन्थ्यो । खुमबहादुर खड्काको अवसानपछि अब दाङमा कसरी नेतृत्व लिने भन्ने खालको दौड पनि धेरैको बीचमा देखिन्छ । हिजो एकातिर भएका व्यक्तिहरू अब कतातिर सेफ हुने ? भन्ने खालले पनि एलाइन्स भईरहेको अवस्था देखिन्छ । पछिल्लो समय साना कोठे बैठकहरू भएको अवस्था छ । उहाँको अभाव त भैहाल्छ नि ।

दाङ कांग्रेसले जिल्लास्तरमा उठाउनुपर्ने एजेण्डा नै पाएन । के हो त दाङ कांग्रेसको एजेण्डा ? दाङमा कम्युनिस्टहरू हाबी हुँदै गएका छन् । कम्युनिस्टहरूका विरुद्ध जनतालाई भन्ने तपाईहरूले एजेण्डा नै पाउनु भएन है ?

हामीसँग प्रसस्त एजेण्डा छन् । स्थानीयस्तरमा पनि एजेण्डा छन् । हामीले करको कुरा उठाइ रहेका छौँ । कम्युनिस्टहरूले एयरपोर्टको हल्ला गरे । एयरपोर्टका नाममा जनतालाई झुक्काउने काम गर्दैन् । प्रादेशिक राजधानीको कुरा आएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रले दाङलाई राजधानी बनाउने भनेर अहिले पछाडि हटेका छन् ।

त्यो कुरालाई पनि दाङ कांग्रेसले जोडतोडका साथ उठाएको छ । कम्युनिस्टहरूले निर्वाचनका बेला पाँच हजार वृत्त भत्ता बढाएर पाँच हजार पुर्‍याइ घरघरमा ल्याइदिने भनेका थिए । घरमा ल्याउने त के वृद्धि पनि गरेनन् । कांग्रेसले यो कुरा उठाएको छ ।

कम्युनिस्टहरू झुठ हुन्छन भन्ने कुरा प्रमाणित गरेका छन् । सत्तारुढ कम्युनिस्टहरूले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चल्नै नसक्ने गरेर विवाद सिर्जना गरिएको छ । दलगत स्वार्थमा सत्तारुढ दलहरूले काम गरेका छन् । तत्कालीन बाम गठबन्धनका उम्मेदवारले जनता समक्ष गरेका प्रतिवद्धता र घोषणापत्रमा उनीहरूले भनेका कुरा कति पूरा भए कति पूरा हुँदै छन् भनेर प्रमुख प्रतिपक्षको हैसियतले निगरानी गरेका छौँ । दाङ कांग्रेसलाई आफ्नो दायित्व सबै थाहा छ ।

हो जसरी हामी जानुपर्ने हो त्यो रुपमा जान नसकिएको हुन सक्छ । छिटै नै हामीले कार्यक्रम लिएर गाउँ जान्छौँ । लामो समयपछि भरखरै जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । जिल्ला कार्यसमितिले पनि कार्यक्रम घोषणा गर्ला । महासमितिको बैठक सकिएको छ । त्यसले दिएका निर्देशनलाई पनि गाउँका कार्यकर्तासम्म पुर्‍याउने दायित्व छ ।

प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेलले मैले दाङको विकास गरेको छु । कांग्रेसले केही गर्न सकेको छैन । इतिहाँसकै धेरै बजेट दाङमा भित्र्याएको छु भन्नुभएको छ ? आखिर दाङको विकासका लागि शंकर पोखरेल र कृष्णबहादुर महरा नै चाहिने रहेछ है ?

यसको जवाफ मैले बेलाबेलामा दिने गरेको छु । शंकर पोखरेलजीले नामै लिएर खुमबहादुर खड्काले के गरेका थिए र ? मैले त्योभन्दा धेरै अहिले नै विसका गरिसकेँ भन्नु भएको छ । खुमबहादुर खड्कासँग शंकर पोखरेलले किन दाँज्नु पर्‍यो ? खुमबहादुर खड्कासँग शंकरजीको कुनै पनि तुलना हुँदैन । खुमबहादुर खड्कासँग दाँजेर शंकरजीले एकछिनको न्यानो गर्नुभएको होला । म चार वर्ष मात्रै सांसद बनेको थिएँ । उहाँ पहिला पनि सांसद र मन्त्री बन्नु भएको थियो । अहिले मुख्यमन्त्री हुनुहुन्छ ।

मैले ल्याएको जति मात्रै बजेट मेरै सञ्जोगले मेरै निर्वाचन क्षेत्रको प्रदेशमा हुनुहुन्छ । मैले ल्याएको जति मात्रै बजेट ल्याएपनि शंकर पोखरेलजीलाई मैले महान् हुनुहुन्छ भनुला । तर, उहाँले केही गर्न सक्नु हुन्न । मैले जति पनि बजेट ल्याउन शंकरजीले सक्नु भएको छैन । खुमबहादुर खड्काजीको पालादेखिको विकास कार्यक्रम र बजेट जोडेर त शंकरजीलाई कुनै अर्थ छैन ।

अस्तिका चिचिला कम्युनिस्टहरूले खुमबहादुर खड्कासँग नाम जोडेर हुतिहारा कुरा गरेका छन् । यो सुहाउँदैन । आफ्नो हैसियतमा बस्नुपर्छ । खुमबहादुर मात्रै होइन दीपक गिरी सिचाइँ मन्त्री बनेका बेला दाङमा कार्यक्रम र बजेट कति ल्याए त्यो पनि कम्युनिस्टहरूले ध्यान दिनुपर्छ । कांग्रेसका अगाडि हुतिहारा कुरा गर्ने होइन ।

मुख्यमन्त्री शंकर पोखरेलजीले दाङमा गएर विकास सबै मैले गरेको हुँ भन्दा कांग्रेसले त विकास गरेको रहेन छ भन्ने भ्रम पर्छ कि पर्दै नि ?

राज्यको सुख सुविधा छ । दलबलसहित जानु हुन्छ । घरमा नेता भेट्न गए जस्तो गर्नुभएको छ । सरकारी सम्पत्तिको दुरुपयोग गर्नुभएको छ । कार्यकर्तालाई भेट्न राज्यसंयन्त्रको दुरुपयोग भएको छ । शंकर पोखरेलजीले गरेको एउटा काम देखाइदिनुस् मलाई । शंकरजी मात्रै होइन कृष्णबहादुर महराजी पनि जानु हुन्छ । उहाँले पनि राज्यशक्तिको चरम दुरुपयोग गर्नुभएको छ । राज्यको सम्पत्ति दोहोन भएको छ । उहाँहरूले राज्यको सम्पत्ति दुरुपयोग गरेर जिल्ला घुम्नु हुन्छ । तर, यो–यो ठाउँमा यो कार्यक्रम ल्याएँ भनेर किटान गरेर भन्न सक्नु हुन्न । उहाँहरूले भेगमा यति करोड र यति अर्बको बजेट आयो भनेर मात्रै त भएन नि ।

तपाई पनि सांसद हुनुहुन्थ्यो तपाईले चाहिँ के गर्नु भयो त ?

हामी संविधानसभामा संविधान बनाउन गएका थियौँ । छोटो समयका लागि सांसद बनेका हौँ । संविधान बनाउने कार्यमा धेरै लाग्नु पथ्र्यो । विकास निर्माणमा धेरै समय दिन सकिएको थिएन । त्यो बेलामा पनि मैले करीव दश वटा पुलहरू मेरो ३ नम्बर निर्वाचन क्षेत्रमा मात्रै गरेको छु । बाटो पिच गर्ने काम गरेको छु । बाटो चार लेनको बनाउनेदेखि लिएर सडक विस्तार गर्ने पिच बाटोको कार्यक्रमहरू छन्, सिचाइँका कार्यक्रमहरू, कलेज र स्कूलका भवन बनाउने, खानेपानीका कामहरू गरेको छु । बरु महराजी र शंकरजीले हामीले पारेको कार्यक्रम र योजनाहरूको बजेट काटिदिनु भएको छ । बजेट गएका छैनन् । हामीले लगेका योजनाहरू महरा र पोखरेलजीका कारण अलपत्र परेका छन् ।

कम्युनिस्टहरूले त राजु खनालले केही पनि गरेन भनेर आरोप लगाइरहेका छन् नि ?

उहाँहरूको काम भनेको कांग्रेसले गरेका काम जो निर्माण सम्पन्न हुँदै छन् तिनीहरूको रिवन काटेर अब उदघाटन गर्ने हो । त्यही काम बाँकी छ । आरोप लगाउने उहाँहरूको काम हो । कम्युनिस्टहरूले गफ धेरै गछन् । काम गर्दैनन् । कांग्रेसले काम धेरै र गफ थोरै गर्छ । बजेट ल्याउने र योजना समावेश गर्ने काम उहाँहरूबाट हुँदैन । नेतृत्वमा उहाँहरू हुनुहुन्छ । जसरी बजेट र विकास जानु पर्ने हो जान सकेको छैन । गफ मात्रै दिएर जनता झुक्काउन अब सकिनेवाला छैन ।

दाङ कांग्रेसले लामो समयपछि पूर्णता पाएको छ । तर, समावेशी र असन्तुष्ट समूहलाई समेट्न सकिएन भनेर विवाद छ भन्ने सुनिन्छ कुरा के हो ?

विवादभन्दा पनि केही पर्नै पर्ने साथीहरू छुटेको भन्ने लागेको हुन सक्छ । थारु समुदाय छुटेको मलाई पनि लागेको छ । थारु समुदायबाट राखेको भए राम्रो हुने थियो । विधानअनुसार दलित, जनजातिबाट पर्नु भएको छ । दाङ कांग्रेसका सभापतिले ढिला भएपनि कार्यसमितिलाई पूर्णता दिनुभएको छ । पुराना र सिनियर नेताहरू पर्नुभएको छ । यसमा मेरो कुनै गुनासो छैन । बरु उहाँहरूलाई काम गर्ने वातावरण हामीले बनाइदिनुपर्छ । सधैँ विरोध मात्रै गर्ने भन्दा पनि कांग्रेस बनाउनेतिर ध्यान केन्द्रित गर्नुपर्छ ।

दाङमा नेविसंघ, तरुण दल, महिला संघ, दलित संघलगायतका भातृ संगठनहरू त निस्क्रिय छन् भन्छन् । यी भातृ संगठनहरू बिघठन भएका हुन् ?

केन्द्रमा नेविसंघ विघठन भएको छ । तरुण दलले सानातिना काम गरेको छ । कम्युनिस्टहरू हाबी भएका बेला कांग्रेसको भात संगठनहरूले जसरी काम गर्नुपर्ने थियो त्यसरी काम गर्न सकेका छैनन् । महिला संघले परम्परागत रुपमा कार्यक्रम गरिरहेका छन् । तरुण दलले पनि केन्द्रले दिएको कार्यक्रम गर्दै आएको छ । तर, संस्थागत रुपमा भातृ संगठनहरूर्लाइ जसरी अगाडि बढाउनु पर्ने हो गर्न सकिएको छैन । भातृ संगठनहरूलाई केन्द्रीय राजनीतिले पनि असर गरेको छ ।

दाङ कांग्रेसको सभापतिमा तपाईको पनि चर्चा छ हो ?

चर्चा हुनु स्वभाविक हो । मेरो मनस्थिति अहिलेसम्म बनाएको छैन । केन्द्रीय नेताहरूलाई चाँडै अधिवेशन लागेको जस्ता महशुस गरेको छु । अधिवेशन आउन अझै दुई वर्षभन्दा धेरै समय छ । अहिले नेतृत्वमा जानेभन्दा पनि कम्युनिस्ट सरकारले धेरै ठाउँमा ज्यादति गर्दै अगाडि बढेको छ । सेना परिचालन, नागरिकको अभिव्यक्ति स्वतन्त्रता, विभिन्न विधेयकहरू यी कुरालाई जनताका बीचमा लिएर जाने र कांग्रेसलाई संगठित रुपमा प्रतिपक्षमा बसेर सशक्त रुपमा प्रतिरोध गर्ने अवस्था पुर्‍याउने बेलामा अहिले नै हामी अधिवेशनको तँ नेतृत्वमा आउने कि म नेतृत्वमा आउने भनेर त्यसमा लाग्ने बेला भएको छैन ।

सभापतिसहित सबै केन्द्रीय सदस्य तलैबाट महाधिवेशन प्रतिनिधि बन्नुपर्छ भन्ने माग उठेको छ । यसमा तपाईको धारणा के छ ?

एउटा सल्लाह गरेर जानुपर्छ । कार्यकर्ताको भावना तलैबाट सभापतिसहितका केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्नुपर्छ भन्नेछ । तर, यही विषयलाई लिएर झगडा गर्नुपर्ने म देख्दिन । केन्द्रीय नेता भईसकेको व्यक्ति तलबाट आउन कुनै समस्या हुँदैन । झन् बढी गुटबन्दी गर्छन् कि भन्ने हुन सक्छ । तलबाट आउने कुराले राम्रो हुन्छ । गराउँदा मेरो सहमति छ ।

Published : Sunday, 2019 March 31, 9:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया