तरुण दलले आन्दोलन गर्‍यो भने ओली सरकार जलेर राख हुन्छः भुपेन्द्रजंग शाही (अन्तर्वार्ता)

वर्तमान सरकार अधिनायकवादी भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलन गर्दै गर्दा नेपाल तरुण दल अग्रपंक्तिमा देखिएको छ । तरुण दलले सात वटै प्रदेशका राजधानीहरूमा प्रदर्शन गरेको छ । प्रदर्शनमा राम्रो जनसहभागिता भएको तरुण दलको दाबी छ । सरकारविरुद्ध गरिएको प्रदर्शन र भावी कार्यक्रमका बारेमा तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीसँग हाम्रा सहकर्मीले गर्नुभएको कुराकानीको सम्पादित अंश :

तरुण दलले सात वटै प्रदेशमा किन सरकार विरोधी कार्यक्रम गरेको हो ?

सरकारको अधिनायकवादी चरित्र छ । सरकारले हरेक दिन गलत निर्णय गरेको छ । एउटा पनि निर्णय जनताको पक्षमा छैन । आफ्नो इच्छा अनुसारको काम र निर्णय भएका छन् । सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । निर्मला पन्तका बलात्कारी र हत्यारालाई अहिलेसम्म कारबाही भएको छैन । उल्टो संरक्षण गरिरहेको छ । महँगी त्यस्तै छ । मूल्य वृद्धि भएकै छ । संसदमा सरकार एकलौटी ढंगले प्रस्तुत भैरहेको छ । पहिले आफैले सहमति गरेको डा.गोविन्द केसीले उठाएका मागमा सरकार पन्छिएको छ । सरकार जनतासँग भागेर गलत काम गर्न थालेपछि त्यसको विरोधमा आन्दोलन गरिएको हो ।

तरुण दलको कार्यक्रममा मान्छे आएनन् रे ? सरकारका मन्त्रीहरू त्यही भन्छन् ?

तरुण दलको आन्दोलनमा मान्छे आएको देखेर सरकार डराएको छ । मन्त्रीहरू तर्सिएका छन् । हजारौं युवाहरू तरुण दलको जुलुसमा सहभागी हुनुभएको छ । हामी आफै तरुण दलले अपेक्षा गरेको भन्दा पनि बढी मान्छे आउनु भएकोमा हर्षित छौं । कम्युनिस्ट सरकारविरोधी हाम्रो आन्दोलनलाई सफल बनाइ दिनुभएको छ । सरकारी पक्षले हाम्रो आन्दोलन किन देख्थ्यो र ? दोस्रो जनआन्दोलनमा राजा ज्ञानेन्द्रले आन्दोलनकारीलाई देखेनन् । अहिले केपी शर्मा ओली नेतृत्वको सरकारले तरुण युवाहरूलाई सडकमा देखेको छैन । राजा ज्ञानेन्द्रकै अवस्था नओस् भन्ने हामी चाहन्छौँ । उहाँहरूको समयमै चेत खुलोस् । बोल्नेभन्दा पनि काम गरेर जनतालाई खुसी बनाउँदा नै उहाँहरूको हित हुन्छ ।

तरुण दलले अहिलेको आन्दोलनलाई आन्दोलनभन्दा पनि खड्गप्रसाद ओली नेतृत्वको सरकारलाई सुध्रिन दिइएको चेतावनी मात्रै हो । साँच्चिकै आन्दोलन गर्ने हो भने ओली सरकार राख हुन्छ । त्यो अवस्था नआओस् भन्न नेपाल तरुण दलको चाहना हो ।

तरुण दलले अकस्मात सातै प्रदेशमा सरकार विरोधी कार्यक्रम गरेको भन्छन् । कांग्रेससँग सल्लाह नै नगरी कार्यक्रम गर्नुभएको हो ? तालमेल मिलने पनि भन्ने आरोप छ नि ?

तरुण दलले कांग्रेसकै निर्देशनमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । माघ ८ देखि १४ गतेसम्म भएका कार्यक्रमहरूमा सरकारसँग आक्रोशित भएका जनताहरूको सहभागिता रहेको थियो । पार्टीका नेता तथा कार्यकर्ताहरूले आन्दोलन खोजी रहेको अवस्था थियो । जनताको आवाज बोल्नका लागि अत्यन्तै जरुरी थियो । यो सरकारले अधिनायकवाद लाद्न खोजेको थियो । त्यस कारण हामीले सात प्रदेश कार्यक्रम गरेका हौं । हाम्रा सात वटा कार्यक्रम भए पनि विराटनगरदेखि धनगढीसम्म पुगेका छौं । हाम्रो अभियान देशव्यापी पुगेको छ । राष्ट्रिय माहोल बनेको छ । सरकारको गतिविधिको देशभरि भण्डाफोर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले एजेण्डा पाएन त्यस कारण सडक र सदनमा आन्दोलन गरेको छ । मलाई काम गर्न कांग्रेसले रोकेको छ भन्नुभएको छ नि ?

प्रधानमन्त्रीले राम्रो गर्नुभएको छ वा छैन भन्ने कुरा जनताको अगाडि छर्लङग छ । एउटा काम चाहिँ राम्रो गर्नुभएको छ उहाँले । अहिलेसम्मका प्रधानमन्त्रीमा खासै उखान र टुक्का धेरै भनेको सुन्न पाइँदैन थियो । उहाँले धेरै उखान टुक्का भन्नुभएको छ । नयाँ रेकर्ड पनि राख्नुभएको छ । नेपाल पहिला गौतम बुद्धको देश, सगरमाथाको देश भनेर चिनिन्थ्यो । अहिले उखान र टुक्का सबैभन्दा बढी भन्ने प्रधानमन्त्रीको देश भनेर चिनिन्छ । त्यो चाहिँ उहाँले बनाउनु भएको छ । उहाँले एउटा पनि राम्रो काम गर्नुभएको छैन । हरेक ढंगले सरकार, हरेक तह तप्का, हरेक क्षेत्रमा सरकार पूर्णत असफल र नालायक भएको छ । यो सरकारको प्रधानमन्त्रीको कुर्सीमा बस्नेनैतिक अधिकार ओलीलाई छैन ।

कांग्रेसले प्रधानमन्त्री ओलीलाई कुन काम नै गर्न रोक्यो ?, उहाँले के चाहिँ विकास गर्नु भयो ? मलाई भन्नुस् त । उहाँको रेल र पानीजहाज अहिलेसम्म कतै देखिएको छैन । उहाँको हावाबाट बिजुली देखिएको छैन । उहाँका विकास हावाबाट मात्रै हुने रहेछन् । काठमाडौंका खाल्डाखुल्डी पुर्नपनि समय लाग्छ ? यो एक वर्षमा दुई तिहाइको सरकार जसले काठमाडौंको खाल्डाखुल्डी पुर्न सक्दैन । दुर्गम गाउँमा विकासको अपेक्षा गर्नु यो सरकारबाट कुनै अर्थ छैन । यो सरकार असफल भैसकेको छ ।

कांग्रेस र कांग्रेसका भातृ संगठनहरूको आन्दोलनले केही गर्न सकेन । कांग्रेसको आन्दोलनले सरकारलाई हल्लाउन पनि सकेको छैन । सककारले त कांग्रेसलाई पेलेरै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरायो नि ?

प्रतिपक्षले गर्ने भनेको के बन्दुक बोक्नु पर्ने हो ? बम पड्काउनु पर्ने हो ? सिंहदरबार कब्जा गर्नुपर्ने, त्यो त हामीले गर्न मिल्दैन नि ! हामीले गर्ने होइन त्यो त माओवादीले गर्ने हो । हामीले त सरकारले गरेको गलत क्रियाकलापको भण्डाफोर गर्ने हो । जनतालाई जानकारी गराउने हो । शान्तिपूर्ण प्रदर्शन गर्ने हो । प्रमुख प्रतिपक्षको काम भनेको गलत कुराका विरुद्ध आवाज उठाएर सरकारलाई सचेत गराउने मात्रै हो । त्यो बाहेक चाहिँ हामीले के नै गर्न सक्छौं र ? हामी आफै सरकारमा छैनौं । दुई तिहाइको सरकारले जे जबरजस्ती गरिरहेको छ त्यसको परिणाम भोग्छ । आजै आन्दोलनबाट सबै कुरा हुने होइन । अहिलेको हाम्रो आन्दोलन त्यति ठूलो होइन विरोध प्रदर्शन मात्रै हो । यो कुरा पनि बुझ्न जरुरी छ । अहिल हाम्रो जीवन मरणको लडाइँ होइन । यो आन्दोलन अन्तिम होइन । अबका दिनमा केही हुँदैन भन्ने होइन । आवश्यक पर्‍यो भने फेरि पनि आन्दोलन हुन्छन् । सशक्त आन्दोलन हुन्छ । आन्दोलन त भर्खर शुरु हुँदै छ । आन्दोलनको एउटा झिल्को मात्रै हो ।

तरुण दलको आन्दोलनलाई त सरकारले देखेन, सुनेन र कुनै सुनुवाई नै गरेको छैन नि ?

यो सरकारको विरुद्ध हामी ज्यान छाडेर लागेको अवस्था होइन । अहिलेको आन्दोलन ट्रेलर मात्रै हो । एउटा आन्दोलनका झिल्को मात्रै हो । यसको ज्वाला आउन बाँकी नै छ । ज्वाला आउँदा यो सरकार त जलेर कहाँ पुग्छ पुग्छ । हाम्रो आन्दोलनको उपलब्धि भएको छ । यो सरकार आफ्नो निर्णयबाट फिर्ता हुन बाध्य भएको छ । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको अस्पताललाई केन्द्रीय सरकारको मातहत ल्याउने निर्णयमा पुग्यो । ती अस्पतालहरूलाई खारेज प्रक्रियामा लैजान खोजेको थियो । हामीले नै चेतावनी दिएपछि अस्पतालहरूको बारेमा ब्याक भएर सरकारले निर्णय गरेको छ । डा.गोविन्द केसीको आन्दोलनमा हाम्रो समर्थन चाहिँ हो । तर, त्यो हाम्रो आन्दोलन होइन । त्यो गोविन्द केसीको आन्दोलन हो । नागरिकको आन्दोलन हो । डा.गोविन्द केसीको आन्दोलन नेपाली कांग्रेसको आन्दोलन होइन र, थिएन । उहाँले उठाएका मुद्दामा हाम्रो सहमति हो । यही सरकारले डा.केसीका मागहरू पूरा गर्ने सहमति गरेको थियो । सहमतिबाट यो सरकार भागेको छ ।

यति लामो समय सुतेको तरुण दलमा एकाएक कहाँबाट उर्जा आयो ?

तरुण दल कहिले पनि सुतेको छैन । तरुण दल सँधै क्रियाशील छ । नेपाली कांग्रेसमा सबैभन्दा धरै सक्रिय रहेको भातृ संगठन तरुण दल नै हो भन्छन्, हो पनि । तरुण दलमा झै–झगडा, गुटबन्दी छैन । तरुण दल एकतावद्ध भएर हिँडेको छ । यो कार्यक्रम मात्रै होइनन नि । गत फागुनको २२ र २३ गते देशभरिका जिल्ला सभापतिहरूको राष्ट्रिय भेला गरेका छौं । चैतको २५ देखि वैशाख १२ गतेसम्म सातै प्रदेशहरूमा प्रशिक्षण कार्यक्रमहरू गरिएको छ । जेठ ५ गते ७७ वटै जिल्लामा एकै दिन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छौं । साउनको पहिलो हप्ता माइतीघरमण्डलादेखि नयाँबानेश्वरसम्म गरेको प्रदर्शनमा हजारौंको सहभागिता थियो । तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतलगायत सयौं कार्यकर्ता घाइते भएका थिए । आलोचना र विरोध गर्नेहरूलाई लोकतन्त्रमा छुट छ । नगर्नुस् भन्ने होइन । आजका दिनमा कोही सक्रिय छ भने त्यो तरुण दल हो । नेपाली कांग्रेसले पनि मूल्यांकन गरेको छ ।

तपाईहरूले सात प्रदेशको आन्दोलनका बेला कुन विषयलाई उठाउनु भयो ?

महँगीको विरोध गरेका छौं । मूल्य वृद्धिको विरोध गरिएको छ । वाइडबडीमा चार अर्ब ३५ करोड भ्रष्टाचार भएको विषयमा मन्त्रीको राजीनामादेखि प्रधानमन्त्रीले यसको जिम्मेवारी लिनुपर्छ भन्ने कुरा हामीले उठाएका छौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ । बलात्कारी र हत्यारालाई सरकारले जोगाउन खोजेको छ त्यो गलत हो र दोषीलाई कारबाही गर्न भनेका छौं । भ्रष्टाचारीलाई कारबाही गर्न भनेका छौँ । बुढीगण्डकीमा भएको भ्रष्टाचारमाथि छानविन हुनुपर्‍यो भनेका छौं । गिरिजाबाबु र सुशील दाईको नामको अस्पताललाई खारेज प्रक्रियामा लैजान खोजिएको थियो । त्यो उठाएका छौं । डा.गोविन्द केसीसँग जे सम्झौता गरिएको थियो त्यो पूरा गर्न भनेका थियौं । जनजीविकाका सवालमा जनतालाई सेवा दिन कुरामा युवाहरूलाई रोजगारी दिने कुराहरूमा यावत जति कुराहरू छन् जनतासँग सरोकार राख्ने यी सबै कुराहरूलाई हामीले उठाएका थियौँ ।

बुटवलको विरोध सभामा तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको बलात्कार र हत्यामा गृहमन्त्री रामबहादुर थापाको छोराको संलग्नताबारे भन्नुभएको थियो । तरुण दलले प्रमाण भेटाएको हो ?

यो अध्यक्षज्यूले बोल्नु भएको हो । तर, उहाँको व्यक्तिगत धारणा होइन । विराटनगरमा यो करा मैले नै पहिला भनेको हो । हामीले के भनेका छौं भने निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दिन गृहमन्त्री रामबहादुर थापा बालको छोरा प्रतीक थापा नै त्यहाँ थिए । हामीले पनि सञ्चारमाध्यमबाट थाहा पाएको हो । तरुण दल भनेको अपराध अनुसन्धान गर्ने शाखा होइन । हामीले दोषी प्रमाणित वा छानविन गर्ने हामीले होइन । हामीले दोषी प्रमाणित गरेको होइन । यदि जनताले प्रतीक थापामाथि शंका गरेका छन् भने गृहमन्त्रीको छोरा हुँदैमा उम्किन चाहिँ पाइँदैन भनेकै हो । हामीले अपराधी घोषणा गरेको होइन । प्रतीक थापा शंकास्पद हुन् भने उनीमाथि छानविन हुनुपर्छ र, दोषीलाई कारबाही होस् भन्ने हाम्रो माग हो ।

सरकार विरोध कार्यक्रम त गर्नुभयो ? अब तरुण दलको भावी कार्यक्रम के हुन सक्छ ?

अहिले हामीले सरकारविरुद्ध विरोध प्रदर्शन मात्रै गरिएको हो । आगोको झिल्को मात्रै हो । ज्वालामुखी फुट्न बाँकी नै छ । सरकार सुध्रिएन र यस्तै गतिविधि गर्दै जाने हो भने अधिनायकवादी, अलोकतान्त्रिक र निरंकुश कम्युनिस्ट सरकारका विरुद्ध नेपाल तरुण दलले चाँढै एक लाख युवाहरू काठमाडौंमा परेड खेल्ने हाम्रो कार्यक्रम छ । तरुण दलको निलो ड्रेससहित मार्चपास गरेर एक लाख तरुणले सिंहदरबार घेराउ गर्ने छौं ।

रचनात्मक काम चाहिँ केही गर्दैन तरुण दलले ?

यो देशका युवाहरूप्रति तरुण दलमाथि ठूलो दायित्व छ । तरुण दलल फागुन महिनाभित्रै ‘उद्यमशील युवा, सिर्जनशिल युवा’ भनेर दश हजार युवाहरूलाई स्वरोजगारमुलक बनाउने, उद्यमी बनाउने व्यवसायी बनाउने एउटा कार्यक्रमलाई हामीले शुरु गर्दै छौं । निर्मला पन्त लगायत महिला र बालिकाहरूको बलात्कारपछि हत्या भएका छन् । महिला हिंसा भएका छन् । अपराधीसँग प्रतिकार गर्नको लागि नेपाल तरुण दलले ‘महिला रक्षक ट्रेनिङ’ देशभरिका तरुण महिलाहरू देशैभरिका करीव ५ सय महिलाहरूलाई आत्मसुरक्षाको प्रशिक्षण दिने छौं । त्यसपछि हरेक जिल्लामा महिला रक्षाका लागि चेतना अभियान चलाइनेछ । हाम्रो आन्तरिक संगठन पनि चल्नेछ । संगठनको सदस्यता वितरणलाई पनि महाअभियान बनाउनाएर देश व्यापी बनाएर तरुण दललाई लैजाने र विधानलाई पनि संघीयताअनुसारको परिमार्जन गर्नुपर्नेछ । संघीय संरचना, समावेशी र समय परिस्थितिअनुसार पनि विधानलाई परिमार्जन गर्नुपर्नेछ ।

तरुण दलले किन पूर्णता पाएन ? कहिलेसम्म तरुण दल पूर्ण हुन्छ ?

तरुण दलले पूर्णता नपाएको सत्य हो । यो कुरालाई पार्टीले चाँडै गर्छ । यो कुरा पार्टीसँग अधिकार भएको हुनाले यसको जिम्मेवारी नेतृत्वसँग छ । कार्यसमितिले पूर्णता पायो वा पाएन भन्दा पनि तरुण दलको अहिलेको समितिले काम गर्‍यो वा गरेन भन्ने हुन्छ । यसले गरेका कामलाई हेर्नुपर्छ । कार्यसमितिले पूर्णता पाएन भनेर हामीले काम नै नगर्ने भन्ने कुरा हुँदैन ।

Published : Thursday, 2019 February 7, 7:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया