मान्छे दुनियाँसंग लड्न सक्छ तर, आफन्तसंग सक्दैनः रवि लामिछाने

रवि लामिछाने

नचाहँदा नचाहँदै पनि आफ्नो व्यक्तिगत कुरा गर्नु पर्‍यो । मलाई पाइलै पिच्छे लडाउन, देशबाटै निकाला गर्ने लगायतका प्रयास विफल भएपछि अब मेरो निजी जीवनमा प्रवेश गर्ने प्रयास हुँदै रहेछ ।

लामो समयसम्म बैचारिक लडाइँ लड्दै अलग अलग बसेको र पछि कानूनी रुपमा नै अलग भएको मेरो वैवाहिक सम्बन्धलाई लिएर ठूलै खोजी चालिरहेको थाहा पाएपछि बाध्य भएर आफ्नो नितान्त निजी जीवनबारे लेख्न बाध्य भएको छु ।

मेरी पूर्व पत्नीलाई प्रयोग गरी मेरो वास्तविक रुप अर्कै हो भन्ने प्रमाणित गर्न दिनरात लाग्नु हुने साथीहरुलाई मैले पहिला पनि भनेकै थिए कि टाइम खर्च गर्नै पर्दैन, सिधै मलाई सोध्नुहोस्, मै बताइदिन्छु सबै कुरा । मलाई खोक्रो आदर्श र झुठो जिन्दगी बाँच्नु छैन र म त्यति आदर्शवान मानिस पनि होइन ।

मैले करीव २४ वर्ष अगाडि सानै उमेरमा विवाह गरेको थिए र हालसालै मेरो सम्बन्ध बिच्छेद पनि भैसकेको छ । तर वर्षौसम्म मतभेद, अलग बसाइँ र बोलचाल समेत नभएपछि राजीखुशीले आफ्ना सबै अधिकार लिएर मसंग सम्बन्ध बिच्छेद गरेकी पूर्व पत्नीले आफू मबाट अन्यायमा परेको र मेरो कर्तुत् सर्वजनिक गर्नु पर्‍यो भनेर केही पत्रकारलाई सम्झि छन् ।

लगभग २४ वर्षअघि भएको विवाहमा आएका अनेकौं घुम्तीलाई बजारमा लिलाम गर्ने उनको मनशाय आफ्नै मगजको उपज हो वा कसैबाट प्रयोजित हो त्यो म जन्दिन तर, कसै कसैले ‘रविको कर्तुत’ वा ‘रविको असलीरुप’ जस्ता शीर्षक ‘रेडी टु पब्लिस’ अवस्थामा राखेको थाहा पाएकोले उहाँहरु सबैको काम सजिलो पार्दै म आफै आफ्ना कर्तुतहरु कबुल गर्दैछु ।

अमेरिकामै छँदा म परिवारभन्दा अलग बस्ने गर्थे । सम्बन्ध सुधार गर्ने मेरो बारम्बारको प्रयास असफल भएपछि म एक विदेशी प्रेमिका सँगपनि बसेको थिए । छ सात वर्ष पुरानो यो घटनाको कारण उजागर गरेर म मेरा सन्तानको प्रतिष्ठामा ठेस पुर्‍याउन चाहन्न । मलाई त व्यक्तिगत विषयमा एक शब्दपनि बोल्न मन थिएन ।

र, सम्भावत यो मेरो जीवनको पहिलो र अन्तिम स्तरहीन टिप्पणी वा व्यक्तिगत हुनेछ । हेडलाईन नै हेरेर धारणा बनाउनेहरुले मलाई एक मिनेटमा नै ठूलै अपराधी बनाउनेछन् । मान्छे दुनियाँसंग लड्न सक्छ तर, आफन्तसंग सक्दैन । अमेरिकामै रहँदा अलग बसेका हामी विगत १० वर्षदेखि नै अलग छौं । कारण र घट्ना एउटा होइन अनेक छन् । जति छन् ती अत्यन्तै लाजमर्दा छन् ।

ती विदेशी मूलकी पूर्व प्रेमिका र मेरोबीचमा एक सन्तान पनि छ । यत्ति कुरा थाहा पाएर बाहिर ल्याउन न्वारनदेखिको बल लाउनै पर्दैन । तर, उनको र मेरो बाटो अलग भएको धेरै वर्ष भैसक्यो । हाम्रो सम्बब्ध लामो समय टिकेन । सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुँदैन रहेछ । दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिन होला र ?

तर, उनले हेर्दा मैले र मैले हेर्दा उनले बारम्बार आफ्नो त्यही गल्तीलाई निरन्तरता दियौँ जुन गल्तीले सारा घटनाहरु घटे र हाम्रो विवाह भएको वर्षहरु त बढे तर, सम्बन्ध कहिले पनि अघि बढेन । ज्यादै अप्रिय विगतलाई टुंगोमा पु¥याउने अन्तिम उपाय कानूनी उपचार नै हो । र, हामीले वर्षौको अशान्ति र असन्तोषलाई सहमति मै टुंगोमा पुर्‍यायौँ ।

परिवारका सदस्यको उपस्थितिमा, कानून व्यवसायीहरुको मद्दतमा, उनले भनेका हरेक शर्तहरुको पूरै पालना गरेर । ईजलासमा प्रस्तुत सम्बन्ध बिच्छेदको मिलापत्र हेर्दै न्यायाधीश श्रीमानले सोध्नुभयो, सबै कुरा आफ्नी श्रीमतीलाई दिनु भएछ, सन्तानको जिम्मापनि आफैले लिनु भएछ, अमेरिकामा उहाँहरु बस्ने घर र उहाँहरुको खर्च पनि तपाईं कै जिम्मामा लगाइए छ । अब तपाईसंग के बाँकी छ त ? मैले जवाफ दिएको थिए, श्रीमान म जीउँदै छु । कुनै पत्रकारलाई म्यासेजमार्फत मेरी पूर्व पत्नीले मलाई परिवारलाई रुवाएर भागेर नेपाल गएको भनेर लेखिएको र मेरो वास्तविक रुप देखिए जस्तो नभएको भनी लेखेर पठाएको थाहा पाए । बिहानैदेखि केही पत्रकारहरुको फोन आउन शुरु भएको छ ।

उनको म्यासेज कुनैपनि समयमा सार्वजनिक हुने क्रममा छ । जीवनमा भएका घटनाहरु मात्र बताएर अतितका कथा कहाँ पूरा हुन्छ्न र ? अनेकौ घटनाबीच २४ वर्ष बितेका हुन जसलाई खोतल्दा सन्तानको मानसिकतामा असर गर्दछ । पछिल्ला वर्षहरुमा पूर्व पत्नीसंग बोलचाल समेत नभएको अवस्थामा मैले एक्लै बस्ने वा उठेर फेरि हिड्ने भन्ने निर्णय गर्नु नै थियो ।

बाहिरको वाहवाही तर, घरभित्रको एक्लोपनले म कयौँ पटक बिरामी परे । र, झण्डै डिप्रेशनको शिकार नै भएको थिए । माया र विश्वास वर्षौसम्म मरेको सम्बन्धलाई सहमतिमा र अदालतबाटै टुंगो लगाएर गएपछि उनलाई मैले छल गरेको कसरी लागेछ ? म बुझ्न सकिरहेको छैन । अब मसंग बाँकी रहेको थोरै नाम र इज्जत छ । त्यसमा पनि आँखा लागेछ ।

त्यसैले, आज त्यो पनि दिन चाहन्छु । मेरो ‘नकाब’ उतार्न र आफ्ना कर्तुतहरु सर्वजनिक गरी मलाई सिध्याउन लागि पर्ने मित्रहरूलाई र पूर्व पत्नीलाई म आफै खुलेर सहयोग गर्न चाहन्छु । मन परेको हेडलाईन हालेर स्वाद अनुसारको मसला मोलेर पस्क्नु होला । यति मै मेरा कर्तुतहरु सकिँदैनन्, बाँकी सुन्न रिपोर्टर खटाउनै पर्दैन मै खुलासा गरिदिउँला । दुर्गममा परिवारको बिचल्ली पारेर मानिस युरोप अमेरिका भागेका छन् ।

मैले आफ्नी पूर्व पत्नीसहित, आफ्ना सन्तानलाई अमेरिका जस्तो देशमा (उनीहरु नेपाल आउन नमानेपछि) आफू नेपाल बसेर, सम्पूर्ण आफ्नो जायजेथा सुम्पेर, अझै अमेरिका बस्दाको पूरै व्यवस्थापन यतिबेला सम्मपनि गर्दै आएको छु । अदालतमा न्यायाधीशका सामुन्ने राजीखुशीले, मसंग भएको र शायद भविष्यमा समेत हुन सक्ने सबै लिएर आफ्ना वकिल र उनका आफ्ना परिवारका सदस्यको रहोबरमा सम्बन्ध बिच्छेद गरेर अमेरिका गएकी उनलाई के अन्याय भो ? मैले बुझिन् ?

अब म वर्षौको एक्लो जीवन र असफल सम्बन्धहरुबाट पाठ सिक्दै अघि बड्न चाहन्छु । कसैमाथी अन्याय नगरी म आफूमाथी पनि न्याय गर्न चाहन्छु । म भागेको छैन । प्रत्यक मंगलबार बिहीवार र शनिबार राति ८ः४५ मा न्यूज २४ टेलिभिजनमा प्रत्यक्ष आउँछु । भोली रातिपनि आउँदैछु । सदाझैँ उहीँ जोश, उहीँ उमंगका साथ । श्रीमान, म जीउँदै छु ।

(रवि लामिछानेको फेसबुक वालबाट साभार)

Published : Friday, 2019 January 4, 4:58 pm

2 प्रतिकृया प्राप्त “मान्छे दुनियाँसंग लड्न सक्छ तर, आफन्तसंग सक्दैनः रवि लामिछाने”

  • हो हामी मानिस सबैभन्दा चेतनशील प्रानि ।
    तर हामी मानिसको वास्तविकता के हो भन्ने तिर
    उन्मुख भने हुदैनन् अखिर किन ? एउटा मानिसले
    अर्को मानिसको सफलता हेर्न सक्नु हुन्न भने त्यो
    मानिस रहनुको कुनै अौचित्या रहदैन । हामि तीन करोड नेपाली जनताको मन मुटुमा रहका रबि लामिछाने माथिको यो काममा रबि दाइ बाट यति वास्तविकता कुरा अाईसकेको छ र ठिक पनि हो ।
    कुरा

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया