म जनतासँग नजिक छु, त्यही अनुसार काम गरेको छुः मेयर सुवेदी

नेपाली कांग्रेसबाट टिकट पाएर सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा विजयी भएका देवकुमार सुवेदी कसरी नगरको विकास र जनताको कामलाई छिटो छरितो तरिकाले सम्पन्न गर्न सकिन्छ भन्ने पक्षमा छन । उनले वीरेन्द्रनगर नगरपालिकाभित्र दुई किसिमले विकास कार्यक्रम अगाडि बढाएका छन । पहिलो चरणमा छिटो परिणाम आउने खालका र दोस्रो दीर्घकालीन कार्यक्रमहरू छन । शिक्षा, स्वास्थ्य, रोजगारी र विकासलाई प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरेर काम गर्ने पक्षमा मेयर सुवेदी छन । काठमाडौंमा भेटिएका मेयर सुवेदीसँग गरिएको कुराकानी :

अहिलेसम्म के–के काम गर्नुभयो ?

निर्वाचित भैसकेपछि वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजनासहित हटलाइनको काम अर्थात गणेशचौकदेखि एयरपोर्टसम्मको बाटाको काम अगाडि बढिसकेको छ । यसको बजेट करीव १६ करोडको छ । काँक्रेविहार देउती बज्यैमा नयाँ शहीद पार्कको निर्माण कार्य प्रदेश सरकारको सहकार्यमा हामीले अगाडि बढाएका छौँ ।

यसको वजेट २२ करोड छ ।
यसका अलावा वृहत वीरेन्द्रनगर नगरपालिकाको शहरी नापी शुरु भएको छ । वीरेन्द्रनगर नगरपालिकासँग जोडिएका साविकका लाटिकोइली, उत्तरगंगा, जरबुटा, गढी, रतु र गर्पण सहितको पुनः प्लानिङ वृहत्तर कार्यक्रमको टेण्डर प्रक्रियामा अगाडि बढेको छ । सूचना जारी भएको छ ।

यसलाई रिवाइज प्लानको रुपमा अगाडि बढाउँदै छौँ । त्यसैगरी विगतमा कनेक्सन नभएका खासगरी वडा नं. १४, १५ र १६ का बाटोहरूलाई सदरमुकामसँग जोडने कुरा अगाडि बढिरहेको छ । आन्तरिक रुपमा वडाका विभिन्न बाटोहरूको स्तरवृद्धि, पिच लगायतका नाला निर्माणहरू भएका छन । सघन शहरी कार्यक्रम वीरेन्द्रनगरमा लागू गर्नका लागि आफनो ठाउँबाट प्रयास गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको बजेट कति छ ?

हामीलाई केन्द्रबाट प्राप्त हुने ५६ करोड, आन्तरिक आम्दान सात करोड (प्रस्तावित) छ । यही बजेटभित्र रहेर हामीले नियमित कार्यसन्चालन लगायत विकास निर्माणको पूर्वाधारहरू तयार गर्नुपर्छ ।

स्वास्थ्य, शिक्षा, रोजगारमा तपाईको कार्यक्रम र योजना के छ ?

हामी निर्वाचित भएर आएपछि स्वास्थ्यमा प्रत्येक वडामा जहाँ स्वास्थ्य चौकी छैन त्यहाँ शहरी स्वास्थ्य केन्द्र स्थापना गरेका छौँ । स्वास्थ्य केन्द्रहरू स्थापना भएका छन । महिलाहरूको रोजगारीसँग जोडिएको एक करोड राखेर महिला स्वरोजगार कार्यक्रमलाई लागू गर्ने कार्यक्रम अगाडि बढाएका छौँ यही वर्षदेखि । छोरी जन्म बचत खाता, सुत्केरीको आमा सुरक्षा कार्यक्रम अन्तर्गतको कार्यक्रमहरू छन । स्वयं सेविकाहरूलाई प्रमोशन गर्ने कार्यहरू भएका छन ।

दीर्घकालीन कार्यक्रमहरू छैन ?

नगर स्वास्थ्य स्थापनका लागि नगर स्वास्थ्य अस्पताल निर्माण गर्नको लागि केही बजेट छुटयाएका छौँ । त्यसको निर्माण प्रक्रियामा छौँ । यही वर्षदेखि नै कार्यान्वयन गर्ने छौँ । भौतिक पूर्वाधारको काम पनि भैरहेको छ । शहरी विकास मन्त्रालय र नगरपालिकाको सहकार्यमा । वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ को साविकको कटकुवा हेल्थपोस्टलाई स्तर वृद्धि गरेर त्यसलाई नगर अस्पताल निर्माण गर्ने चरणमा हामी छौँ ।

बजेट अलिक ठूलो लाग्यो । कर कसरी उठाउनु हुन्छ ? लक्ष्य प्राप्ति कसरी हुन्छ ?

अन्य स्थानीय तहमा करको विषयमा धेरै ठूलो हँगामा भएपनि वीरेन्द्रनगर नगरपालिकामा करको विषयमा जनताहरूको धेरै ठूलो गुनासो छैन । एकीकृत सम्पत्ति करको दायरलाई पुनरावलोकन गरिएको छ । करको दायरा बढाउने कुरालाई जोड दिएका छौँ । वृद्धि गरेका छैनौँ । घर बहाल करलाई पनि स्वयच्छिक घोषणा गरेर व्यावसायिक लगायतका करलाई तथा नगरपालिकामा प्रवेश नभएका इन्स्च्यिुट वा व्यवसाय हुन तीनलाई वडा तहसम्मै राखेर स्वयच्छिक रुपमा इन्ट्री गर्ने वातावरण बनाएको हुँदा हामीलाई विश्वास छ त्यो चाहिँ हाम्रो अनुमानित आयको लक्ष्य प्राप्त गर्नेछ ।

निर्वाचनका बेला तपाईको पार्टी नेपाली कांग्रेसको घोषणा पत्रमा के थियो ? तपाईले अहिले कसरी र कुन आधारमा काम गर्नुभएको छ ?

कांग्रेसको घोषणापत्रमा नगर अस्पतालको कुरा थियो । छोरीहरूको प्रमोशनको कुरा थियो । छोरी भएर जन्म भएपछि गर्व गर्न लायक नगर निर्माण गर्नु थियो । छोरी जन्म बचत खाता राखेका छौँ । समग्र वीरेन्द्रनगरको भौतिक पूर्वाधार र प्लानिङको हिसावमा साविको प्लानिङलाई कार्यान्वयन गर्ने र नयाँ क्षेत्रलाई प्लानिङसहित बस्न लायक हराभरा नगर निर्माण गर्ने हाम्रो योजना थियो । त्यो योजनातर्फ क्रियाशील छौँ ।

देखिने खालका र दीर्घकालमा त्यसको काम देखिने खालका कार्यक्रम केही छैन ?

हाम्रो प्रमिकता भनको बाहिरी चक्रम पथ हो । रिङ रोडको कुरा आएको छ । यो टेण्डर भएर निर्माणको क्रममा छ । यसमा प्रदेश सरकारले आठ करोड हालेको छ । केन्द्रीय भौतिक मन्त्रालय अन्तर्गत तेत्तीस करोडको टेण्डर भएर यही वर्षदेखि काम शुरु हुँदै छ । यो कार्यक्रम वीरेन्द्रनगर नगरपालिकाको एउटा महत्वपूर्ण कार्यक्रम हो ।

रोजगारीको कुरामा तपाईको ठोस कार्यक्रम ल्याएको जस्तो लागेन ?

रोजगारीका हिसावले स्थानीय तहमा धेरै ठूलो रोजगारी दिने सकिने होइन । तर रोजगारीका निम्ति वातावरण निर्माण गर्ने हो । त्यसका निम्ति खास गरी महिलाहरूलाई लघु उद्यम र कृषिसँग जोडेर लघु उद्यमको विकास गर्ने । सीपहरू दिने स्थानीय कृषिमा आधारित कृषि पशु पालन सँग जोडिएका रोजगारीलाई प्रमोशन गर्नुपर्छ भनेर प्रत्येक वर्ष कम्तिमा एक करोडको कार्यक्रम त्यसमा पनि महिलाहरूलाई केन्द्रमा राखेर बनाइएको छ ।

कार्यक्रम शुरु भयो ?

भएको छ । यही वर्षदेखि लाभान्वित हुनुहुनेछ । प्रत्येक वडाबाट छ जना परिवारलाई रोजगारीको अवसरले निर्माण गर्ने कार्यविधि बनाएर कार्यक्रम शुरु हुन गैरहेको छ ।

सरकारी विद्यालयमा विद्यार्थी कम छन । विद्यार्थी तान्नका लागि के छ योजना ?

वीरेन्द्रनगर नगरपालिकाभित्रका केही सामुदायिक विद्यालयहरू जहाँ पढनका लागि इन्ट्रान्स हुन्छ । हामी निर्वाचित भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढेको छ । तल्लो कक्षमा एकदेखि पाँचसम्म विद्यार्थीको संख्या कम हुने र पाँचदेखि माथितिर सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढने परम्परालाई हामीले अन्त्य गर्ने छौँ । क्रमशः तल्लो कक्षमा विद्यालयको ड्रेस विभाजन, शिक्षा सिकाई क्रियाकलापलाई प्रभावकारी, अंग्रेजी शिक्षाको व्यवस्थित परिचालन केही स्कुलहरू मर्ज गरेर भए पनि सामुदायिक विद्यालयप्रति समुदायको ध्यानाकर्षण गराएका छौं । यी आधारबाट विगतको भन्दा विद्यार्थीको संख्या बढेको छ ।

वीरेन्द्रनगर नगरपालिका पर्यटनका लागि प्रख्यात थियो । यहाँले त पर्यटनका विषयमा केही भन्नु भएन ?

पर्यटनलाई केन्द्रीय योजना अन्तर्गात कांक्रेविहारलाई मूललक्ष्य काँक्रेबिहान, बुलबुल, देउती वज्यै र गोठी कांडाहरूको गन्त्यव्य स्थलमा पर्न सफल भएको छ । यसै आधारबाट काँक्रेविहारबाट पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । बुलबुले उद्यानको ताल विस्तार, मन्दिरहरू निर्माण, देउती बज्यैको निर्माण, कालिका मन्दिर क्षेत्रको मन्दिरको व्यवस्थापन, प्राइभेट, निजी सबैको सहकार्यमा यी धार्मिक पर्यटकीय क्षेत्रहरूको पुर्ननिर्माण गरिएको छ । गढी लगायतका क्षेत्रहरूमा जहाँ प्राकृतिक मनोरम लिन सकिन्छ त्यो ठाउँमा पानी, पूर्वाधारको विकास हामी लागेका छौँ ।

सुर्खेत कर्णाली प्रदेशको राजधानी हो । राजधानीका कारण वीरेन्द्रनगर नगरपालिकालाई कुनै असहजिलो त भएको छैन ?

राजधानी हुँदा स्थानीय बासिन्दाको कुराले हामी खुसी भएका छौँ । खुसीसँग चुनौती पनि छ । राजधानी भैरहँदा ट्राफिकको व्यवस्थापनको कुरा, सडक, पूर्वाधार, पानी र अन्य भौतिक पूर्वाधारको व्यवस्थित गर्नुपर्ने स्थानीय सरकारको अहिलेको दात्विको हिसावले तर, जहाँ चुनौती छ त्यहाँ अवसर पनि छ । चुनौतीलाई अवसरका रुपमा लिएर वीरेन्द्रनगर नगरपालिकाले केन्द्र र प्रदेश सरकारसाग मिलेर सहकार्य गर्दै प्रदेश राजधानी भएको नगरपालिकालाई व्यवस्थित गर्ने लक्ष्यमा हामी अगाडि बढेका छौँ ।

प्रदेश सरकारको कार्यालय, मन्त्रालय र भौतिक संरचना सार्ने पक्षमा हुनुहुन्छ कि यथास्थानमा बस्न दिनु हुन्छ ?

अहिले हामीले भौतिक संरचनाहरू सार्ने भन्दा पनि क्षेत्रीय कार्यालयहरू जहाँ थिए त्यहाँ बसिरहेका छन । त्यसलाई प्रदेश सरकारसँग समन्वय गरी अलिकति व्यवस्थित एउटा क्षेत्र बनाएर जानु पर्छ भन्ने कुरामा हाम्रो छलफल भैरहेको छ । बाहिर सार्ने भन्दा पनि भैहरहेको ठाउँलाई अलिक व्यवस्थित गराउने हो । भवन र पार्किङ सहितको कुरालाई अगाडि बढाउने विषयमा छलफल चलिरहेको छ ।

प्रदेश राजधानी बसेका कार्यालयको भवनलाई सार्ने हो ?

छुट्टै सार्नेभन्दा पनि सार्वजनिक कार्यालायमा हाम्रो प्लानिङमा तोकिएको छ । तोकिएको ठाउँभित्र जग्गा छ । प्रयाप्त पूर्वाधार पनि छ । केही नपुगेका पूर्वाधारहरू त्यही भित्रै निर्माण गरिनेछ ।

तपाई कांग्रेसबाट टिकट पाएर जितेर आउनु भएको छ । तपाईले कांग्रेसलाई समय दिन सक्नु भएको छ ?

निर्वाचित भैसकेपछि स्वभाविक रुपले त्यो समय चाहिँ पार्टीलाई दिन नसकेकै हो । हिजोको जस्तो पूर्ण रुपमा फ्रि हुन नपाएको हुँदा जनतालाई त्यो कुरा लागेको हुन पनि सक्छ । म कांग्रेसको नगर सभापतिको हिसावले पनि जुन पदमा छु त्यो पदको आधारबाट काम अगाडि बढाइ रहेका छौँ । शुरुको एक वर्ष नगर प्रमुखको हिसावले गर्नुपर्ने कामलाई बढी ध्यान दिएको हुँ । स्वभाविक रुपमा पार्टी, राजनीतिमा मेरो निश्क्रियता होइनकी केही समय चाहिँ संयमता अपनाउनुपर्ने पनि भएको हुँदा त्यस्तो केही कसैलाई लागेको होला । म जनतासँग नजिक छु । त्यही अनुसारको कार्यक्रममा अगाडि बढेको छु । आगामी दिनमा त्यसलाई थप उर्जाशील भएर नै अगाडि बढने हो ।

तपाई मेयर बनिसक्नु भयो । अब तपाई कुन पदमा उम्मेदवारी दिनु हुन्छ ? लक्ष्य के हो ?

यसरी नै यही पद भन्ने छैन । हिजो पनि म यही पद चाहिन्छ भनेर लागेको पनि होइन । स्वभाविक रुपमा जनताले माया गर्ने कार्यकर्ता नेता र पार्टीले विश्वास ग¥यो भने पार्टीले मलाई जेमा भन्छ त्यो कुरा म स्वीकार गरेर अगाडि बढने स्वभाव पनि हो । मलाई यही चाहिन्छ भन्ने पक्षमा छैन ।

अन्त्यमा केही भन्नु छ ?

वीरन्द्रनगरका बासिन्दासँग मेरो अपील छ । नगरको विकासका लागि जनताको सहयोग अनिर्वाय छ । यो निर्माणको अभियान भएको हुँदा एक खालको सहयोग र वीरेन्द्रनगर नगरपालिका निर्माण अभियानमा सबै आम वीरेन्द्रनगरबासी राजनीतिक दलहरू समुदायको सहयोग, सहकार्यको अपेक्षा म गर्न चाहन्छु ।

Published : Sunday, 2018 December 30, 12:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया