तपाई त्यो ओली कि यो ओली ?

केशवप्रसाद भट्टराई

कुनै समय केपी ओलीको बोलीमा सिङ्गो मुलुकको आवाज अभिव्यक्त भएको जस्तो लाग्दथ्यो । ओलीले बोल्दा आम जनतामा नयाँ उर्जा र जीवन शक्तिको प्रवाह हुन्थ्यो । उनी दलभन्दा माथि, कुनै वादभन्दा माथिका राष्ट्रिय महानायक लाग्दथे ।

उनी तत्कालीन एमालेका मात्र नभएर राष्ट्रिय महानायक बनेका थिए । मुलुकको स्वाभिमान, सम्मान र सुरक्षित भविष्यको प्रतीक बन्नुभएको थियो तपाइँ (केपी ओली) ! सम्भव भए ओलीलाई आफ्नो आयु दिएर उनी सहश्र वर्षसम्म बाँचुन भनेर सोँच्ने मानिस यो मुलुकमा असंख्य थिए ।

तर तिनै ओली आज… हरे शिव के भएको यो… ? कृपया तपाईहरू देख्ने, नजिकबाट चिन्ने जान्नेहरूले पनि भनिदिनुस के यी तिनै ओली हुन् ? हिजोका प्रधानमन्त्री ओली र आजका प्रधानमन्त्री ओली उही मानिस हुन् ?

आज त प्रधानमन्त्रीले पद, लाभ र अवसर उपलव्ध गराएका व्यक्तिहरूबाहेक उनको पक्षमा र समर्थनमा कोही पनि छैनन् कि जस्तो देखिन्छ त । आसेपासे ढोके, बैठके र अन्य चाकरदारकै प्रसस्तीको बलमा सत्ता टिक्ने भए श्री ५ हरूका कुरा छोडौं, अहिले मुलुकमा पशुपति शम्शेर जबरा श्री ३ महाराजा रहिरहेका हुन्थे ।

तपाईभन्दा धेरै सक्षम र इमान्दार सहयोगीहरू छनौट गर्न सक्दथे उनी हरू ! आफैंले लाभ पुर्‍याएका व्यक्तिहरू, आफ्नै सहयोगी सल्लाहकारहरू, हक र क्षमताले नपाउने तर प्रधानमन्त्रीको विशेष कृपाले मन्त्री भएकाहरूको प्रशंसा र देवत्वकरणकै भरमा प्रधानमन्त्री आत्मरतीमा रमाएर त मुलुक चल्दैन प्रधानमन्त्रीज्यू । अनि भन्नै पर्दछ ‘प्रधानमन्त्रीका निकट सहयोगी र सल्लाहकारहरू पनि प्रधानमन्त्रीको यो अवस्थाकालागि जिम्मेवार छन् ।’

प्रधानमन्त्री व्यक्ति होइन संस्था हो । त्यो पदको विशिष्ट गरिमा र मर्यादा हुन्छ र पहिला प्रधानमन्त्री आफैंले त्यसको रक्षा गरे मात्रै अरूले त्यसको रक्षा गरिदिन्छन् । र जोसँग पनि पाखुरा मात्रै सुर्केर आउने र मुखको तीतो पोख्नमा नै बुद्धिमता देख्ने र बहादुरी देखाएको अवस्थाले प्रधानमन्त्री आफ्नो पदको गरिमा र मर्यादाप्रति न्याय हुन्न कहाँ–कहाँ गल्ती गरियो आत्मसमीक्षा गर्नोस, प्रधानमन्त्री ज्यू ।

सवाल व्यक्ति केपी ओलीको होइन । व्यक्ति केपी ओलीको मात्रै सवाल हुन्थ्यो भने जे सुकै होस् भन्न सकिन्थ्यो । तर केपी ओलीको असफलता मुलुकको लागि अभिशाप बन्न जाने अवस्था भएकोले बढी गम्भीर र चिन्तित बनाएको मात्रै हो ।

अनि मनमा बारम्बार प्रश्न उठ्छ ‘तपाई त्यो ओली कि यो ओली प्रधानमन्त्री ज्यू ?’ तपाई बाहेककाबाट प्रष्ट उत्तर नआउने भएकोले तपाईलाई नै सम्वोधन गरेर लेख्ने धृष्टता गरेकोमा क्षमाप्रार्थी छु । धेरैले थला पारिसकेको यो साधारण मनुवालाई थलापार्ने कुरा नसोच्नु होला । (भट्टराईको फेसबुकबाट साभार)

Published : Wednesday, 2018 December 19, 11:03 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया