सुशीलाले खुमबहादुरलाई न्याय नदिनुको कारण वीपी र बनारसको दुश्मनी

सुशीला कार्की

बनारसमा म राजनीतिशास्त्रको विद्यार्थी थिएँ । तर, पढ्दै जाँदा मलाई कानूनमा पनि रुचि बढ्यो । होस्टलमा कानून पढ्ने विद्यार्थी देखेर रुचि बढेको थियो । मलाई पनि कानून पढ्न मन लाग्यो । नेपाल गएको बेलामा त्रिभुवन विश्वविद्यालयमा प्राइभेट परीक्षा दिने गरी बीएलमा भर्ना भएँ ।

बीएचयूको पुस्तकालयले कानून अध्ययनमा सघाउ पु¥यायो । विराटनगरमा इतिहासका शिक्षक गणेशप्रसाद शर्मा सरले मुटकोर्टमा सहयोग गर्नुभयो । बनारसबाट काठमाडौंसम्म आउजाउ गरेरै कानूनको परीक्षा दिएँ । दुईवर्षे कोर्स थियो । पहिलो वर्षको राम्रै भयो । दोस्रो वर्षमा भने आयकर विषयमा फेल भएँ । जीवनमै पहिलोपटक फेल भएको थिएँ ।

२०३२ साल (सन् १९७५) मा एमए पास गरिसकेकी थिएँ । बीएलको अन्तिम परीक्षा दिएपछि बनारस नफर्किएको भए पनि हुन्थ्यो । राजनीतिशास्त्रका प्राध्यापक डा.शरणले पीएचडी गर्ने सल्लाह दिनुभएको थियो । उहाँले म नेपालमा छँदा चिठी नै पठाउनुभएको थियो । त्यसैले म फेरि बनारस गएँ । तर शरण सर बाहिर जानुभएको रहेछ । त्यसबेला सारनाथमा सान्दाजुहरू पनि हुनुहुँदो रहेनछ । होस्टलका साथीहरू दिल्ली जान लागेको देखेर म पनि उनीहरूसँगै गएँ । दस दिनजति दिल्ली, ताजमहल र आसपास घुमेर फर्किएँ ।

दिल्लीबाट बनारस फर्किनासाथ सारनाथ गएँ । मैले सान्दाजुहरू नेपाल जाने गाइँगुइँ पनि सुनेको थिएँ । सारनाथ पुग्दा भने माहोल निकै फेरिएको पाएँ । त्यहाँ निकै नौला मानिस थिए । म जानासाथ छोरी आई भनेर उल्लास हुन्थ्यो । त्यहाँ त मलाई सबैले नचिनेजस्तो व्यवहार गरे । सबैले ठूलाठूला आँखा पारेर हेरिरहेथे, मानौं म शत्रु नै हुँ ।

भान्सामा काम गर्ने केटाहरूलाई सोधें, ‘सान्दाजु खोइ ?’

सायद उनीहरूले खबर पु¥याइदिए । माथिबाट बोलाउनुभयो । म माथि सान्दाजुको कोठामा गएँ । सुशीला आमालाई भने देखिनँ । सान्दाजुले इशाराले बस भन्नुभयो । म बसें । म बसिरहेछु, सान्दाजु केही बोल्नुहुन्न । निकै नमीठो लाग्यो ।

केही बेरपछि सान्दाजुले मौनता तोड्नुभयो, ‘तिमी त कता हो, कता ! आजभोलि दिल्लीमा नेपाली राजदूतावास धाउँछ्यौ रे ! हामीले त हाम्री छोरीजस्तै ठानेर विश्वास गरेका थियौं । तिमीले धोका दियौ । यस्तो धोका दिने मान्छे यहाँ किन आउनू ? तिमी अबदेखि यहाँ नआऊ । हामीविरुद्ध काम गर्ने, हामीकहाँ किन आउने ?’

सान्दाजुको कुरा सुनेर म छाँगाबाट खसेजस्तै भएँ । मैले कहिल्यै कल्पनासम्म नगरेको कुरामा सान्दाजुले आरोप लगाउनुभयो । त्यति ठूलो मानिसले त्यसरी अरू कसैको कुरा सुनेर धारणा बनाउनुहोला भन्ने लागेको थिएन । म दिल्ली पहिलोपटक गएकी थिएँ, त्यो पनि घुम्न । मलाई नेपाली राजदूतावास कहाँ छ भन्ने पनि थाहा थिएन । सान्दाजुले नै विश्वास नगरी त्यसो भनेपछि कसलाई के भन्नु ? उहाँसँग पनि प्रतिवाद गर्न मन लागेन । जुरुक्क उठें । हवस्, नमस्कार भनेर निस्किएँ । भ¥याङमा ओर्लिंदै गर्दा नोना आमासँग भेट भयो । उहाँलाई नमस्कार गरें तर उहाँले फर्काउनुभएन ।

म खुरुखुरु बाहिरिएँ । सरासर कम्पाउन्डबाहिर आएर केहीबेर हिँडेपछि बस चढें । बाटोभरि विचारशून्य भएँ । सायद कसैले सान्दाजुसँग मविरुद्ध कुरा लगायो होला । अब मैले कसरी त्यसको सफाइ दिऊँ ? उहाँले त मलाई कुरा के हो भनेर पनि सोध्नुभएन । एकैपटक निष्कर्षमा पुग्नुभयो । सायद राजनीतिमा यस्तै हुन्छ । म त खुब खुसी हुँदै बनारसमा पीएचडी गर्दैछु भनेर उहाँलाई सुनाउन गएकी थिएँ । सीआईडीको उपाधि पाएर पो फर्किएँ । नरमाइलोको पनि उत्कर्ष थियो त्यो ।

त्यसपछि म सान्दाजुलाई भेट्न कहिल्यै गइनँ । मविरुद्ध प्रचार हुन पनि छोडेन । एकपटक दुर्गा पोखरेल र म कामविशेषले ऋषिकेश शाहलाई भेट्न गएका थियौं । त्यहाँ स्वर्गीय सरोज कोइरालाकी श्रीमती लीला कोइराला पनि थिइन् । सबैले सुन्ने गरी उनले ऋषिकेश शाहलाई भनिन्, ‘सुशीला कार्की हाम्रो विरोधी हुन् । उनी पञ्च सरकारकी सीआईडी हुन् । उनको संगत नगर्नोस् ।’

उनी हिँडेपछि मेरो गम्भीर अनुहार देखेर शाहले भन्नुभयो, ‘चित्त नदुखाउनुहोस् । यस्तो भन्दै गर्छन् । कसैले भन्दैमा सीआईडी भइने होइन ।’

सान्दाजुले मलाई जासुसी गरेको आरोप नलगाएको भए मेरो जीवन कता मोडिन्थ्यो होला ? म राजनीतिमै सक्रिय हुन्थें कि ? पीएचडी गरेर कुनै विश्वविद्यालयको प्राध्यापक पो बन्थें कि ?

मैले नेपालमा बीएलको परीक्षा दिँदै थिएँ । बनारसमा भने कांग्रेसभित्र दुई गुटजस्तो बनेको खबर बाहिरिएको थियो । डा.अरूण कोइराला, नरबहादुर कार्की, मञ्जु गिरी दिदी एकातिर र खुमबहादुर खड्काहरू अर्कोतिर हुनुभएछ । यो विवादले बीएचयूमा पनि असर पारेछ । म पुग्दा सान्दाजुको एउटा वक्तव्य प्रकाशन भएको थियो । त्यसले खुमबहादुरको बचाउ गरेको साथीहरूको टिप्पणी थियो । माहोल निकै गरम थियो ।

म बडो रनभुल्लमा परें । बनारस मलाई मन पर्ने सहर थियो । त्यो बसाइका हिसाबले सस्तो पनि थियो । मेरो ठूलो इच्छा थियो, त्यहींबाट राजनीतिशास्त्रमा पीएचडी गर्ने । त्यस्तै संगीत, कला र भाषामा डिप्लोमा कोर्स गर्ने । मैले बीएचयूमा पीएचडीका निम्ति २०३२ फागुन १८ मा नाम दर्ता पनि गराइसकेकी थिएँ । फेरिएको माहोलले मेरो रुचि नै फेरिदियो । एकातिर देशभित्रै अराष्ट्रिय तत्व भइएको थियो । देशबाहिर पनि कांग्रेसविरोधी ठानियो । कहाँ जाने ? कसको शरणमा जाने ?

त्यतिबेला मैले प्रदीप गिरी दार्इलाई सम्झिएँ । उहाँ बनारसमै हुुनुहुन्थ्यो । सबै कुरा सुनेपछि उहाँले ठट्टा गर्नुभयो, ‘आम्मै, तिमी सीआईडी भयौ ! हो र ?’

म चुप लागें । न हाँस्न सकें, न रुन ।

त्यसपछि बनारसको माहोल बस्नलायक भएन । बडो अलमल भएपछि मैले आफ्नो लक्ष्य र जीवनकै बाटो मोडें । नेपाल फर्केर कानून पास गरी वकालत गर्ने निधो गरें । प्रदीप दार्इले वीरगञ्जसम्म आफ्ना सहकर्मी मुकुन्द गौतमलाई साथी पठाए । उनी वीरगञ्जसम्म आए । त्यसपछि म एक्लै काठमाडौं आएँ । काठमाडौं त आएँ तर गर्ने के ? वकालत गर्न बीएल उत्तीर्ण भइसकेकी थिइनँ । एमए त गरिसकेकी थिएँ । त्यसैले जागिर खोज्न गाह्रो थिएन । नेपाल खाद्य संस्थानमा जागिर पाएँ । त्यहीं जागिर गर्न थालें । एक वर्षपछि २०३४ मा बीएलको बाँकी रहेको विषय पनि उत्तीर्ण गरें । २०३५ माघ १७ मा सर्वोच्च अदालतका तत्कालीन रजिस्ट्रार हरगोविन्द सिंह प्रधानबाट वकालतको लाइसेन्स पनि लिएँ ।

त्यसपछि एउटा ठूलो प्रश्न उभियो, मेरो जीवनमा । खाद्य संस्थानको जागिर त्यति बेला तुलनात्मक हिसाबले राम्रो थियो । मासिक निश्चित आम्दानी हुन्थ्यो । खासै मेहनत पनि गर्नु पर्दैनथ्यो । तर, वकालत जीवनमा भने शून्यबाट करिअर सुरु गर्नुपर्ने थियो । कानून पढ्नु थियो । वकालतको अभ्यास गर्नु थियो । मैले त त्यतिन्जेल अदालत टेकेकी पनि थिइनँ ।

खाद्य संस्थानको जागिर छोडेर वकालतमा लाग्नु सहज क्षेत्रबाट जोखिममा प्रवेश गर्नु थियो । तर, त्यो जोखिम रोज्ने आँट गरें मैले । राजनीतिक चेतले मलाई त्यो जोखिम मोल्न सिकायो । सानैदेखि जे गरे पनि बृहत्तर समाजको हितका लागि गर्न सिकेकी थिएँ मैले । हरेक दिन खाद्य संस्थानको कार्यालय जाँदा र फर्किंदा मैले सोच्न थालें, ‘के मैले अहिले गरिरहेको कामले समाजको हित हुन्छ त ?’

मेरा आँखामा पिताजीले सुरु गरेको आन्दोलन, क्याम्पस जीवनको राजनीतिक वातावरण, राम–लक्ष्मण र उनीहरूको बलिदानी, अनेकौं दुःख खपेर प्रजातन्त्रका लागि परदेशमा संघर्ष गरिरहेका कांग्रेसका कार्यकर्ता सम्झनामा झल्झली आउन थाले । अनि आफैंसँग प्रश्न सोधें, ‘अरे, म यो के गरिरहेछु ? के मैले लिएको शिक्षादीक्षा यतिका लागि हो त ? बस्, राम्रो जागिर खान ?’

यी र यस्तै तर्कनापछि मैले वकालतमा लाग्ने निर्णय गरें । मलाई लाग्यो, वकालतमा जाँदा मैले म बाँचिरहेको समय र समाजको सेवा गर्न पाउँछु । मेरो निर्णयले पिताजी पनि खुसी हुनुभयो । खाद्य संस्थानको कार्यालयमा राजीनामा बुझाएर फर्किंदा आफैँलाई निकै हलुंगो भएको महसुस भइरह्यो । जब कि मेरो अगाडि एक अपरिचित संसार खडा थियो ।

अहिले यसो सोच्छु, सान्दाजुले मलाई जासुसी गरेको आरोप नलगाएको भए मेरो जीवन कता मोडिन्थ्यो होला ? म राजनीतिमै सक्रिय हुन्थें कि ? पीएचडी गरेर कुनै विश्वविद्यालयको प्राध्यापक पो बन्थें कि ?

जीवन यस्तै रहेछ । आशा नै नगरिएका मोडहरू आउँदा रहेछन् । अनि त जिन्दगीले आफ्नो बाटो आफैँ बनाउँदै जाँदो रहेछ । जिन्दगीले आफैँ खनेको बाटोमा मैले पाइला लम्काएँ ।

(पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ बुक–हिलबाट साभार)

Published : Saturday, 2018 September 22, 11:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया