देशलाई गलत ड्राइभरले सञ्चालन गरेका छन्ः विमलेन्द्र निधि

विमलेन्द्र निधी, उपसभापति, नेपाली कांग्रेस

अहिलेको सरकारप्रति कांग्रेसको असन्तुष्टि किन ?

सरकारले नागरिकको हितमा काम गर्न सकेन । अधिकार खोस्न थालिएको छ । नागरिक अधिकार नै हराउन थाल्यो । प्रदर्शन हुँदा सरकारले दमन गर्छ । दिनदिनै महिला हिंसा र बलात्कार भइरहेका छन् । सरकार मौन छ । प्रेस स्वतन्त्रता खोस्न लागिएको छ । प्रदेश सरकारको हात खुट्टा बाँधिएको छ । कम्युनिष्ट सरकारले वास्तवमै संघीयतामा विश्वास गरेको छैन । गलत ड्राइभरबाट देश संचालन भइरहेको छ ।

नेपालको लागि संघियता नै अभिषाप हुने हो कि भन्ने आशंका उब्जिएको छ नि ?

राजा महेन्द्रको पालामा पनि बहुदल र संसदीय प्रणाली नेपालका लागि अफाप हो भनिन्थ्यो । अहिले नेपालको लागि संघीयता नै अभिषाप हो भन्नु पनि महेन्द्रकालीन सोँच हो । संसारमा संघीय शाषन प्रणाली अति सुन्दर र उन्नत मोडल हो ।

संघीय प्रणालीले गर्दा जनताको टाउकोमा आर्थिक भार परेको छ । यसले कसरी जनताको हित हुन्छ ?

गिरिबी निवारण र आर्थिक प्रगति गर्न नसक्दा यो समस्या देखिएको हो । संघीय प्रणाली भनेको नेताहरू पाल्नको लागि होइन, देशको आर्थिक विकासका लागि हो । सबै स्थानीय निकायलाई जिम्मेवारी र अधिकार दिने हो भने उनीहरूले योजना बनाएर काम गर्न पाउँछन् । त्यसपछि विकासको अभियान अगाडि बढ्छ । नेपालले संघीयता धान्न सक्दैन भन्नु संघीयताविरोधी सोँच हो ।

कांग्रेसले अहिले गर्दैछ ?

विधान संशोधन मस्यौदा समिति निर्माण गरेका छौँ । समितिले छलफल गरेर मस्यौदा बन्छ । संघीयताअनुसारको संरचना निर्माण गर्छौं ।

कस्तो विधान बन्छ ? सभापतिलाई सबै अधिकार दिने तयारी भएको हो ?

वीपी कोइरालाको पालादेखि नै कांग्रेसमा सभापतिलाई धेरै अधिकार दिइएको थियो । अहिले आधुनिक शाषन प्रणाली दीक्षित हुँदै गएको छ । तदनुकूल नै हामीले पार्टी संगठनलाई पनि रुपान्तरण गर्दै जान्छौँ । पार्टी सभापति शक्तिशाली हुने तर, तानाशाही नहुने तरिकाले विधान बनाउँछौँ ।

सभापति शेरबहादुर देउवा असफल हुनुभयो भन्ने आरोप लागेको छ नि हो ?

यो पूर्वाग्रही सोँच हो । आलोचना भनेको हामी सबैले पाएका छौं । यो पुँजीवादी प्रतिस्पर्धाको नराम्रो पक्ष भनेको एक अर्काको घाँटी निमोठ्ने प्रवृत्ति हो । कांग्रेस प्रजातान्त्रिक प्रणाली भएकाले कहिलेकाँही यस्ता पूर्वाग्रही कुरा आउँछन् ।

शेरबहादुर देउवा सभापति भएकै बेला कांग्रेसले चुनावमा पराजित भयो नि ?

कांग्रेस पूरै मरेको त छैन नि ! एउटा चुनावमा पराजित भयो भन्दैमा मरेको जस्तो व्याख्या गर्नुभएन । अहिले हारेको छ । अर्को पटक जित्छ । रामचन्द्र पौडेलले प्रधानमन्त्रीका लागि १७ पटक चुनाव लड्दा पनि हार्नुभएको थियो अब असफल भन्ने त ? त्यसैले सभापति देउवामाथि लगाइएको आरोप कुण्ठा मात्रै हो ।

Published : Tuesday, 2018 September 18, 7:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया