आइजीपी खनालले जिते तल्लो तहका प्रहरीको मन

काठमाडौं । लामो समयदेखि समस्या नै समस्याले झेलिएको नेपाल प्रहरीमा पछिल्लो समय सुधारका संकेतहरु देखिन थालेका छन् ।

राजनैतिक हस्तक्षेप, भ्रष्ट संयन्त्र र नीजि स्वार्थका कारण प्रहरीमा सरुवा बढुवादेखि पोष्टिङसम्म चलखेल हुँदै आएको थियो । जसले गर्दा संगठनका प्रमुखहरु एकपछि अर्को गर्दै बद्नाम हुँदै गए ।

अहिले भने नेपाल प्रहरीले नयाँ प्रमुख पाएसँगै सुधारका संकेतहरु देखिन थालेका छन् । आईजीपी सर्वेन्द्र खनालले आफ्नो तीन महिने कार्यकालमा गरेको कामले प्रहरीभित्र तल्लोस्तरका कर्मचारीहरुको समेत मनोवल बढेको छ ।

त्यसैगरी आईजीपी खनालले फास्ट ट्रय्राक शैलीमा बढुवा गर्दा प्रहरी कर्मचारीहरुको बृत्ति विकासमा समेत सकारात्मक प्रभाव परेको छ । आईजीपी खनालले २० वर्षदेखि रोकिएको सईहरुको बढुवा गरेसँगै प्रहरीमा देखिएको नैराश्यता हटेको छ ।

सबै दर्जाको सरुवा र बढुवामा सफल आईजीपी खनालले काबिल र अवसरबाट बञ्चित नयाँ अनुहारलाई पनि जिम्मेवारी दिएका छन् ।

प्रहरी जवानदेखि प्रहरी नायब महानिरिक्षकसम्मको सरुवामा निश्चित मापदण्ड बनाईएकाले एकाध बाहेकका सरुवामा आईजीपी खनालले जस पाउन सफल भए ।

पहुँचको आधारमा ५ देखी २० बर्ष सम्म आकर्षक कार्यालयहरुमा अड्डा जमाइरहेका प्रहरीहरुको न्यायोचित सरुवा गरी उनले प्रहरीभित्रको सिण्डिकेट तोडेका छन् ।

रिक्त स्थान हुँदाहुँदै पनि पदावधिका कारण अनिवार्य अवकास पाउन बाध्य भइरहेका थिए राम्रा प्रहरी अधिकृत । कतिले त समयमा बढुवा नभएको भन्दै नैराश्यता पोखेर राजिनामा समेत दिने गरेका थिए ।

यसले गर्दा व्यक्तिगत र व्यावसायिक रुपमा संगठनमा नकारात्मकता असर परेको थियो । प्रहरीमा रहेको भद्रगोल अवस्थालाई सहि दिशामा ल्याउन आईजीपी खनालले सरुवा र बढुवामा निश्चित मापदण्ड बनाई बैज्ञानिक तवरले काम गरेका छन् । अहिले उनले संगठनलाई चुस्त र दुरुस्त बनाएका छन् ।

त्यतिमात्र नभई २० बर्ष भन्दा बढि समय एकै पदमा बस्न बाध्य प्राबिधिक (कम्प्युटर, संचार, स्वास्थय) सई, प्राबिधिक प्रहरी जवान देखि प्राबिधिक प्रहरी नायब महानिरिक्षकसम्मको बिबादरहित बढुवा गरी आईजीपी खनालले आफ्नो कार्यक्षमता प्रस्तुत गरिसकेका छन् । यसले प्रहरी कर्मचारीहरुमा एक प्रकारको सकारात्मक उर्जा थपिएको छ ।

जनशक्ति अभावले प्रहरी कार्य र अपराध अनुसन्धानमा ह्रास आईरहेको बिद्यमान अवस्थामा आईजीपी खनालकै अथक प्रयास एवं अहोरात्र खटाइका कारण पहिलो चरणमा नेपाल प्रहरीमा तीन हजार एक सय एक दरबन्दी थप भएको छ ।

जुन आफैमा एक उदाहरणीय कार्य पनि हो । प्रहरीभित्रको विकृति र विसंगती हटाउँदै गुण्डागर्दीको सफाया, आम जनमानसमा शान्ति सुरक्षाको अनुभूति हुनेलगायत कार्यहरु गर्दै आईजीपी खनाल गृह मन्त्रालयले अवलम्बन गरेका नीति निर्देशनहरुको अक्षरस पालना गरी अगाडि बढिरहेका छन् ।

नेपाल प्रहरीको रासनमा हुने बिभेद र भ्रष्टाचार, ठेकापट्टामा हुने अनियमितता, भौतिक पूर्वाधारहरुको द्रुत निर्माणमा ढिलाई, आन्तरिक कुशासन, यूएनमिसनमा सहभागितालगायत प्रहरी कर्मचारीहरुको बृत्तिबिकासका बाधकहरुको समेत सुक्ष्म अध्ययन गरिसकेका आईजीपी खनालले निकट भविष्यमा पहिचान भैसकेका यसका कुतत्वहरुबारे कठोर कदम चाल्ने प्रक्रियामा छन् । आईजीपी खनाल संघीय प्रहरी ऐन लागु गर्न दिनरात खटिरहेका छन् ।

भर्खरै संयुक्त राष्ट्र संघका विशिष्ठ पादधिकारीहरुसँग अमेरिकामा छलफल गरेर स्वदेश फर्किएका आईजीपी खनालले छलफलमा २०२० सम्ममा शान्ति स्थापनामा महिला सहभागितामा वृद्धि गरी २० प्रतिशत पु-याउने प्रतिबद्धता जनाएका छन् ।

Published : Thursday, 2018 June 28, 1:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया