गफाडी कम्युनिस्ट सरकारले यी कुरा नभुलोस्

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएपछि केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार अहिलेसम्मकै शक्तिशाली बनेको छ । सरकारले आफूलाई जनताको पक्षमा उभ्याउनुपर्छ । जनताले खोजेको विकास गर्नुपर्छ ।

गफ मात्रै गरेर हुँदैन । निर्वाचनमा बोलका कुरालाई ओली सरकारले पूरा गर्नुपर्छ । होइन भने पाँच वर्षपछि यसको एकएक हिसाब किताब जनताले देखाइदिनेछन् ।

निर्वाचनमा जसरी केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले मतदाता समक्ष बाचा गरेका थिए त्यसलाई पूरा गर्ने समय यही हो । तर, कम्युनिस्ट सरकारले ल्याएको बजेटबाट त्यसको कुनै पनि गन्ध आएको छैन ।

यसकारण कम्युनिस्ट सरकार विकासका कार्यक्रमबाट भाग्न खोजेको हो कि भनेर आशंका पनि आएका छन् । तर, समय धेरै बाँकी छ । सरकारले जनता समक्ष गरेका बाचा पूरा गरोस् ।

केपी ओलीले दुईतिहाईको दम्भ देखाउन छाड्नु पर्छ । उनले जसरी आफ्ना अभिव्यक्तिमा अहंकारको भाषा बोलिरहेका छन् त्यो ओलीकै लागि घातक हुनेछ । घमण्डले मानिसलाई नोक्सान गर्छ । त्यो सिद्धान्त ओलीमा पनि लागू हुन्छ ।

ओलीद्वारा कांग्रेसलाई आक्रमण हुनु दुखद हो । ओलीले सहकार्य र सहमतिको राजनीतिलाई भुल्नु हुँदैन । मिलेर नै देश विकास हुन्छ । कांग्रेसलाई भड्काएर वा आक्रोशित बनाएर कुनै पनि काम बन्दैन ।

सरकारमा सहभागी भएका उपेन्द्र यादवले पनि जथाभावी बोल्ने केपी ओलीलाई सम्झाउृन सक्नु पर्छ । बाम गठबन्धनले त्यस बेला घोषणापत्रमा राखेका कुरालाई कार्यान्वयन गराउन यादवले सहयोग गर्नुपर्छ । होइन भने उपेन्द्र यादवको पनि औचित्य समाप्त हुनेछ । त्यति मात्रै होइन यादवलाई संविधान संशोधनको बाचा पूरा गर्नुछ ।

मधेसी जनता समक्ष यादवले निर्वाचनका बेला संविधान संशोधन गर्ने आश्वासन दिएका थिए । सरकारसँग दुईतिहाईको बहुमत छ ।

संविधान संशोधन गर्ने योभन्दा उपयुक्त समय यादवका लागि कुनै रहने छैन । राजपा नेपाललाई पनि विश्वासमा लिएर यादवले ओली र प्रचण्डलाई संशोधनमा मनाउनुपर्छ । कांग्रेसले संशोधनमा सहयोग गर्ने यसअघि नै बताइ सकेको छ ।

Published : Sunday, 2018 June 10, 8:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया