ओलीप्रति विश्वास छैन, कांग्रेस खबरदारी गर !

– सुना गुरुङ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय पक्षको आलोचना गरेर राष्ट्रवादी छवि बनाएका केपी ओलीले वैशाख २८ गते उनै मोदीलाई भव्य स्वागत गर्दै छन् । ओलीकै खास निमन्त्रणमा मोदी नेपाल आउँदैछन् । मोदी नेपाल आउन त लागेका छन् । तर, नियमित बाटो प्रयोग गरेर आउँदै छैनन् । उनी बिहार राज्यको पटना हुँदै हेलिकप्टरमार्फत नेपाल आउन लागेका हुन् ।

नेपाल–भारतबीचको सबै इतिहास तोडेर मोदी जनकपुरधाममा आउन लागेका छन् । जनकपुरधाममा मोदी आउनु त्यहाँको पर्यटन र जानकी मन्दिरका लागि ठूलो महत्वको कुरा हो । तर, मोदीले जसरी आउने इच्छा जनाएका छन् त्यसले उनकै सुरक्षामा ठूलो खतरा उत्पन्न हुन सक्छ । ओलीले पनि मोदीको सुरक्षाका लागि ठूलै इन्तजाम गरेका छन् ।

जे होस् मोदीको आलोचना गरेर राष्ट्रवादी छवि बनाएका ओलीकै खास निमन्त्रणामा मोदीको यो भ्रमणले एमाले र भारतबीच बिग्रिएको सम्बन्धमा सुधार भएको संकेत दिएको छ । मोदीले पनि एमाले र एमालेका अध्यक्ष ओलीको सबै दोषहरू भुलेका छन् । साथीको हात बढाएका छन् । यसले नेपाल–भारतबीचको सम्बन्ध सुधार होस् । सबैको शुभकामना यही नै छ ।

तर, यहाँ एउटा कुरा के उब्धिएको छ भने मोदीलाई खुसी बनाउन ओली र एमालेले राष्ट्रघाति सम्झौता गर्छ कि भन्ने खतरा छ । ओलीलाई विश्वास गरिहाल्ने अवस्था छैन । केही दिन अगाडि भारतको भ्रमण गएका बेला मोदीसँग नयाँदिल्लीबाट स्वीच थिँचेर तेलको पाइपलाइनको उद्घाटन गरेका थिए ।

पहिलो पटक भारत भ्रमणमा गएका बेला ओलीले विद्युतको बटन थिँचेर उद्घाटन गरेका थिए । ओलीले केही गर्नु पर्‍यो भने नयाँदिल्लीबाट स्वीच थिच्नु पर्छ भन्ने आमधारणा बनेको छ । यो धारणालाई ओलीले कुनै गोप्य सम्झौतामार्फत पूरा गर्छन् कि भन्ने ठूलो आशंका छ ।

त्यही भएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मोदीको नेपाल भ्रमणका विषयमा सुक्ष्म रुपमा ध्यान दिनुपर्छ । प्रमुख प्रतिपक्षको भूमिकालाई प्रभावकारी रुपमा लैजानुपर्छ । ओलीको नक्कली राष्ट्रवादले देशलाई नोक्सानी गर्न दिनु हुँदैन ।

Published : Thursday, 2018 May 3, 11:01 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया