ईश्वर पोखरेलले यसरी देखाइदिए माओवादीको असल हैसियत

काठमाडौं । एमालेका महासचिव समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकीकरणमा माओवादी केन्द्रले माग गरेअनुसार बराबरीको भाग नपाउने बताएका छन् ।

नेपाल मुस्लिम इत्तेहाद संगठनले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले माओवादीलाई पार्टी एकीकरणका बेला एमालेले सम्मानजनक स्थान मात्रै दिन सक्ने बताए । उनले पार्टी एकताबाट एमाले र माओवादी केन्द्र उम्कन नसक्ने पनि बताए ।

‘एकताबाट भागेर कहाँ जाने’, माओवादीप्रति प्रश्न गर्दै महासचिव पोखरेलले भने, ‘बराबरी होइन, सम्मानजनक समझदारीमा जे आउँछ त्यो एमालेले मजाले पचाउँछ ।’

उनले एकताबारे कुनै अन्योलमा नपर्न आग्रह पनि गरे । ‘मिलाउन पर्ने सबै विषय मिलाएर निकट भविष्यमा औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिनेछ’, पोखरेलले बताए ।

‘हामी शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्त र संगठनको संरचनामा आधारित पार्टी हौँ । यही आधारमा एकतामा जानुपर्छ’, उनले भने ।

माओवादी केन्द्रले ५०–५० प्रतिशतका दरले पार्टी एकीकरण गर्नुपर्ने जोडदार रुपमा माग उठाइ रहेका बेला एमालेकै महासचिव पोखरेलले माओवादीलाई बराबरीको हैसियत दिन नसक्ने बताएका हुन् ।

Published : Tuesday, 2018 April 24, 8:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया