देउवाको अपमान गर्ने यो हो नेविसंघको अनुशासनहीन समूह

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको असन्तुष्ट समूहले सभापति शेरबहादुर देउवा समक्ष १२औं महाधिवेशनको माग गरेको छ ।

महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको असन्तुष्ट समूहले सोमबार केन्द्रीय कार्यालय सानेपा पुगेर सभापति देउवा समक्ष ज्ञापनपत्र बुझाएको हो । नेविसंघको वर्तमान नेतृत्वले संगठनलाई हुकुम प्रमांगीशैलीमा चलाएको भन्दै उनीहरूले तत्काल महाधिवेशनको मिति र स्थान तोक्न माग गरेका छन् ।

अध्यक्ष नैनसिंह महरले विधानविपरित तोकआदेशका भरमा जिल्ला सभापति नियुक्त गरेको आरोप असन्तुष्ट समूहको छ । त्यस्ता निर्णयहरू बदर हुनुपर्ने उनीहरूले माग गरेका छन् ।

करिब १० बजे पार्टी कार्यालय पुगेको विद्यार्थी नेताको समूहले केहीबेर पार्टी कार्यालयमा धर्ना दिएका थिए । नेविसंघ नेताले पार्टी केन्द्रीय कार्यालय घेराउ गरिरहँदा भित्र पार्टीको केन्द्रीय समिति बैठक चलिरहेको थियो ।

महामन्त्री काफ्लेको नेतृत्वमा गएको टोलीमा उपाध्यक्षद्वय रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी तथा सहमहामन्त्री परमेश्वर साहसहितका नेविसंघ नेताहरु सहभागी थिए ।

असन्तुष्ट समूहले सभापति देउवा पार्टी कार्यालयभित्र प्रवेश गर्न खोज्दा केही बेर बाटो अवरोध गर्ने प्रयास गरेको थियो ।

नेविसंघको असन्तुष्ट समूहले सभापति देउवालाई अभद्र व्यवहार गरेको भन्दै आलोचना भएको छ । कांग्रेसका नेताहरूले नेविसंघमा काफ्ले समूह अराजक बनेको भन्दै अनुशासनमा रहन निर्देशन पनि दिएका छन् ।

Published : Monday, 2018 April 23, 4:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया