कांग्रेसले नाकाबन्दी देखेनः प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेको परिणाम नआएको भए नेतृत्व समीक्षाका लागि तयार हुने थिएन भनेर कडा टिप्पणी गरेका छन् ।

कांग्रेसको केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै पौडेलले कांग्रेसको पराजय भएपछि मात्रै समीक्षा गर्न बैठक बोलाइएको आरोप गलाए । ‘तर, म यस्तो मान्यता मात्र राख्दिनँ । निर्वाचनको सेरोफेरोमा भएका घटनाको मात्र समीक्षा होइन कांग्रेस सत्तामा जान थालेदेखि समीक्षा जरुरी छ । १५ सालमा कांग्रेसले दुईतिहाइ मत ल्याउँदा कम्युनिस्ट ७ प्रतिशत थिए । तर, अहिले हामी ३३ प्रतिशतमा खुम्चिँदा कम्युनिस्टले ४८ प्रतिशत मत ल्याएका छन्’, उनले भनेका छन् ।

‘यस्तो हुने वातावरण हामी कांग्रेसहरूले बनायौँ । हामीले विचार, रूपान्तरण र अग्रगमनबारे बहस गरेनौँ । बिपी बितेको ३५ वर्ष भयो । तर, हामीले बदलिँदो यो समयमा पनि त्यतिखेरकै आर्थिक विषयसहितका विषयबाटै काम चलायौँ ’, उनले भनेका छन्, ‘अब यसरी मात्रै चन्दैन । नीति, सिद्धान्त, संगठनात्मक कार्यशैली, चरित्र र व्यवहारको समीक्षा हुनुपर्छ । निर्वाचनको सम्मुखमा भएका घटनाले अझ बढी निर्वाचनलाई असर गरेको छ । सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँदा हामी चुक्यौँ । बेलायत र अमेरिकामा भएका नेपालीको जुलुसले नाकाबन्दी भन्दै विरोध गरे । तर, काठमाडौंमा भएका कांग्रेसले नाकाबन्दी भनेर स्विकारेनौँ । बिपीले दुःख गरेर जोगाएको हाम्रो राष्ट्रियतामा दाग लागेको छ ।’

‘प्रधानमन्त्रीको कामले मतदाता तर्सिए । लोकतान्त्रिक गठबन्धन शक्तिशाली नेताको थियो, कांग्रेसको थिएन । एमाले र माओवादीले एक–अर्कालाई भोट हाल्दैनन् भन्ने हिसाब निकाल्यौँ’, नेता पौडेलले भनेका छन, ‘तर, निर्वाचन जित्ने गरी टिकट दिएनौँ । सही मान्छेलाई टिकट नदिँदा ३० सिट घाटा लागेको छ । यसको जिम्मेवारी कसले लिने ?’

‘आसेपासेको सानो घेराले घेरिने, आर्थिक लाभलाई महत्व दिने, पार्टीलाई निजी कम्पनी सम्झने प्रवृत्ति सभापतिलगायत सबैमा छ । गणेश भयो भने पुरस्कृत र कुमार भए दुःख पाइने प्रवृत्तिको अन्त्य नभएसम्म कांग्रेस उँभो लाग्दैन । विधानभन्दा माथि कोही हुँदैन । विधानले व्यवस्था नगरेका विषय कार्यान्वयन गर्ने अधिकार कसैलाई छैन’, केन्द्रीय सदस्य पौडेलले भनेका छन् ।

Published : Monday, 2018 April 23, 10:31 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया