ओलीसँग झुकेको होइन, झुकाएका हौं : झा

– केशव झा, महासचिव, राष्ट्रिय जनता पार्टी नेपाल

राजपाले कम्युनिष्टहरूसँग किन सहकार्य गर्न पुग्यो ?

राजपाले कम्युनिष्टसँग सहकार्य भन्दा पनि मागका विषयमा सहमति भएर सहकार्य बन्न पुगेको हो । यो संविधान अपूर्ण छ । संविधानमा परिवर्तन चाहिन्छ । संशोधन गर्नुपर्ने आवश्यक्ता छ । अहिलेको गठबन्धन यस्तो बन्न पुग्यो कि वाम गठबन्धनसँग मिलेर हामी अगाडि बढ्न सकेनौँ भने संविधान संशोधन यो पाँच वर्षसम्म नहुने स्थिति बन्छ । त्यस कारण जो संविधान संशोधन आममधेसी जनताको प्रमुख एजेण्डा भएको हुनाले र ती जनताले हामीलाई आश गरेको, मत दिएर पठाइ सकेपछि हाम्रो प्रमुख मुद्दा त्यही बन्न गयो । संशोधनकै निम्ती हामी अगाडि बढेको हो । हाम्रो सर्त नै संविधान संशोधन हो । संशोधनको गर्ने सर्तमा वाम गठबन्धनसँग सहकार्य गरेर अगाडि बढ्न तयार भएको हो ।

संविधान संशोधन कहिले हुन्छ ? वाम गठबन्धनसँग तपाईहरूले लिखित सहमति पनि गर्नुभएको छैन ?

लिखित सहमति भएको छैन । यो कुरा सत्य हो । एमालेका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी ओलीले यसअगाडि संविधानमा कमा, फुलिस्टम समेत परिवर्तन हुँदैन भन्नुभएको थियो । पछि हामीसँग ३६ पटक वार्ता पनि गर्नुभयो । पछि विचार गरौँला भन्नुभएको थियो । निर्वाचन अगाडि उहाँले संविधान संशोधनको कुरै गर्नुभएको थिएन । अहिले आएर उहाँले सार्वजनिक रुपमै संविधान संशोधन गर्ने कुरा बताइ रहनुभएको छ ।

प्रधानमन्त्री ओलीले तपाईहरूलाई उधारो आश्वासन दिनुभएको छ । त्यो तपाईहरूले मान्नुभएको छ ?

अहिलेसम्म हामी सरकारमा गइसकेका छैनौँ । हामीले कुरा अगाडि मात्रै बढाएका हौँ । दुई नं. प्रदेशमा उहाँहरूले (वाम गठबन्धन) विनासर्त हामीलाई सहयोग गर्नुभएको छ । विश्वासको वातावरण बनोस् भनेर हामीले पर्ख र हेरको पोजिशनमा छौँ । सरकारमा जाने स्थिति भयो भने पनि जे एग्रिमेन्ट गर्छौैं त्यसको समय किटेरै सहमति हुन्छ ।

संविधान संशोधन कुन–कुन विषयमा हुन्छ ? प्रधानमन्त्रीसँग के कुरा भएको छ ?

हाम्रो प्रमुख मुद्दा भनेकै सीमाङ्कनको विषय हो । मधेसमा दुईवटा प्रदेश माग गरेका छौँ । झापा, मोरङ र सुनसरीतिरको कति भाग दुई नं. प्रदेशमा राख्न सकिन्छ । र, पश्चिममा चाहिँ पाँच नं. प्रदेशमा कैलाली कञ्चनपुरतिरको कति भाग हाल्न सकिन्छ भन्ने दुईवटा विषयवस्तुलाई प्राथमिकताका साथ उठाएका छौँ । पाँच नं. प्रदेशबाट पहाडी जिल्ला हटाउने कुरा पनि पहिलादेखि चल्दै आएको कुरा हो ।

माओवादी केन्द्रले तपाईहरूको मागप्रति सहमति जनाउँछ ?

माओवादीले मान्छ । बरु एमालेले नमान्न सक्छ । हामीले खोजेको जस्तै नहुन सक्छ । सीमाङ्कन हेरफेरमा पनि हामीले खोजेको जस्तै नहुन सक्छ ।

लिखित सहमति कहिले हुन्छ ?

लिखित र सैद्धान्तिक सहमति हुन्छ । संविधान संशोधन गर्ने सर्तमा हामीले पनि एउटा समय किटान गरेर ३५ दिन, डेढ महिना, दुई महिना कति हुन्छ ? समय राखेर यतिदिनभित्र सरकारले संविधान संशोधन गर्ने सर्तमा हामी सरकारमा सहभागी हुने स्थिति बन्न सक्छ ।

सरकारमा जाने कुरा छ ?

अहिलेसम्मको सकारात्मक कुराको हिसावले सरकारमा जाने भन्ने छ । तर, हामीले प्रारम्भीक सर्त के राखेका छौँ । मुद्दा फिर्ता, बन्दीहरू खास गरेर सांसद रशेम चौधरी लगायतलाई बिनासर्त रिहाइ गर्नुपर्छ भन्ने माग अगाडि सारेका छौँ । यो कुरामा सहमति भयो भने र, संविधान संशोधनमा उहाँहरू सहमत भइसक्नु भएको छ । विषयवस्तुमा प्रवेश गरेर कुराकानी गरेका छैनौँ । सामान्य कुराकानी भएको छ ।

कम्युनिष्ट सरकारलाई समर्थन गर भनेर भारतीय पक्षले राजपालाई दवाव दिएको आरोप छ नि हो ?

राजपालाई कुनै पनि प्रकारको दवाव आएको छैन । यी सब झुठ्ठा कुरा हुन् । राजपाका नेताहरूसँग भारतीय पक्षले भेटेको भनेको भारतीय विदेशमन्त्री सुस्मा स्वराज नेपाल आएका बेला मात्रै भएको थियो । त्यसपछि भेट भएको छैन । त्यस बेला स्वराजले राजपा र संघीय फोरमलाई मिलेर अगाडि बढ्नुस् भन्ने सुझाव थियो । राजपाको एकजना अध्यक्ष संविधान संशोधनको कुरा उठाउँदा स्वराजले त्यो तपाईहरूको आन्तरिक विषय हो आफै मिलाउनुस् भनेर सुझाव दिनुभएको थियो ।

राजपा नेपाल भारतको सहयोग र सुझावबिना हिँड्नै सक्दैन भन्ने आरोप छ ? त्यस्तै हो र ?

होइन त्यो सत्यता छैन । भन्नेले जे पनि भन्छन् । राजपा होइन यो देशको जति पनि पार्टी छ ती सबै भारतको इशारा र सहयोगबिना चल्न सक्दैनन् बरु । भारतसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्दा नै राम्रो हुन्छ ।

महन्थ ठाकुर पार्टीमा अल्पमतमा पर्नुभएको हो ?

त्यस्तो मलाई लाग्दैन । पहिला पार्टीमा छ वटा धार थियो । चुनावपछि त्यो एक हुँदै गएको छ । छ वटा धार भएको हुनाले बिस्तारै समय लिन्छ सबैलाई एक भएर अगाडि बढ्नका लागि । सबै धार मर्दै गएको छ । अध्यक्ष महन्थ ठकुर कमजोर हुनुहुन्न ।

राजेन्द्र महतोले पार्टी कब्जा गरेको भनेर राजपाभित्र असन्तुष्टि छ नि ?

भन्नेहरुले राजनीतिमा जेपनि भन्छन् । एउटै पार्टीभित्र २–४ वटा गुट त हुन्छ । एमाले, माओवादी र कांग्रेसमा पनि गुटहरू छन् नि । राजपामा पनि गुट हुन सक्छ । त्यसलाई तपाईले भनेअनुसारको ब्याख्या गर्नु हुँदैन ।

सत्तामा जाने लोभले राजपाले कांग्रेससँगको लोकतान्त्रिक गठबन्धन तोड्यो है ?

सत्तामा जाने लोभले होइन, कांग्रेस आफैले त्यो कुरा बिगारेको हो । कांग्रेससँगको हाम्रो सहकार्य हुन सक्थ्यो । कांग्रेसले राष्ट्रिय सभाको सिफारिस गर्ने बेलामा ३ जनामा पनि हामीलाई धोका दियो । प्रदेश नं. २ मा विश्वासको मत लिने बेला हामीले औपचारिक रुपमा समर्थन गर्न आग्रह गर्दा पनि कांग्रेस विपक्षमा गएर बसिदियो । हामीले होइन कांग्रेसले धोका दिएको हो ।

कम्युनिष्टहरूसँग राजपाको मोह किन बढ्यो यसरी ?

कम्युनिष्टहरूसँग मोह बढेको होइन । मुद्दाप्रति हामी सम्बेदनशील छौँ । अहिले संविधान संशोधनको वातावरण बनाइएन भने राम्रो हुदैन भन्ने हो । संशोधनका लागि वाम गठबन्धनभन्दा अरुमा संभव देखिएन । संविधान संशोधन हुने सर्तमा कांग्रेसको सहयोग पनि रहन्छ । संविधान संशोधन गराउने सवालमा मात्रै कम्युनिष्टहरूसँग सकारात्मक भएर गएको हो ।

कम्यनिष्टहरूसँग राजपा सहकार्य गर्न जाने अनि कांग्रेसले तपाईहरूको मुद्दा बोक्नु पर्ने ? कांग्रेसलाई बाध्यता छ र ?

हाम्रो मुद्दा कांग्रेसलाई बोक्नु पर्दैन । कांग्रेसका भोटर मधेसी जनता पनि छन् । कांग्रेसले मधेसी भोटरको मुद्दा बोके हुन्छ । कांग्रेसको भोट बैंक मधेस हो । यसपालि पनि राम्रै गर्थे होला ! तालमेल गर्ने कुरा भएको थियो । हामीलाई हेपेर भित्तामा पु¥याउने गरी बार्गेनिङ गर्न थालेपछि लोकतान्त्रिक गठबन्धनबाट तोडिएर गएको हो । जति हामी बार्गेनिङ गरिरहेका थियौँ, जति सिट हामीले दावा गरेका थियौँ, एक–एक सिट बढी जितेर आएका छौँ । हामी कांग्रेससँग हाम्रो दुश्मनी छैन ।

राजपाको महाधिवेशन कहिले हुन्छ ? र संसदीय दलको नेता को हो ?

महाधिवेशन एक वर्षभित्र गर्ने भनेको हो । वैशाख २० एक वर्ष पुग्छ । राजनीतिक व्यस्तताले गर्दा महाधिवेशन गर्न सकिएला जस्तो छैन । छ महिनाको समय माग गरेर निर्वाचन आयोगलाई पत्र लेखेर वैशाखमा समय माग गरेर महाधिवेशन गर्छौं ।

संसदीय दलको नेता सहमतिमा चुन्ने हो । शीर्ष नेताहरू बसेर सहमति गर्नु हुन्छ । संसदीय दलको नेतामा अहिले नै यो वा त्यो भनेर भन्ने अवस्था छैन ।

राजपाका १७ वटामध्ये दश वटा सांसद राजेन्द्र महतोका छन् भन्छन् नि ?

१०–१२ सांसदभन्दा पनि लोकतन्त्रमा प्रजातन्त्रमा बहुमतको कदर हुन्छ नै । सहमतिको आधारमा जसलाई अगाडि बढाए पनि हुन्छ । भोटिङ भयो भने त एकजनाले पक्कै जित्छ ।

राजपाले उपराष्ट्रपति पाउँ छ कि पाउँदैन ?

त्यो भन्ने स्थिति भएन । कुराकानी भइरहेको छ पछिल्लो समयमा वार्ता भइरहँदा पनि मुद्दा फिर्ता र बन्दी रिहाइकै कुरामा दश दिनदेखि कुरा अड्कि रहेको छ । उपराष्ट्रपति र कतिवटा मन्त्रालय पाउने नपाउने त्यो कुरा अहिलेसम्म क्लियर भइसकेको छैन । १–२ दिनमा प्रष्टै देखिन्छ ।

Published : Thursday, 2018 March 15, 8:29 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया