एनजिओको पछि लागेर कांग्रेस बन्दैन

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई गरेको योगदानको शुभेच्छुकहरूले भुल्नु हुँदैन । वाम गठबन्धनले एकलौटी बर्चस्व बनाइ रहेका बेला देउवाको नेतृत्वमा कांग्रेसले जति सिट जितेको छ त्यो प्रशंसनीय छ । कांग्रेसले पाएको समानुपातिक भोटले शिर निहुरिने छैन । देउवालाई सबैले गाली गरिरहेका छन् । सभापति भएकाले गाली गर्नु स्वभाविक छ । तर, नेतृत्वमा बसेका देउवासहितका नेताहरू पनि उत्तिकै दोषी छन् ।

चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापासहितका नेताहरू देउवाको तेजोबद्ध गर्न सक्रिय छन् । यो समूह अहिले आएर एनजिओको उक्साहटमा सक्रिय भएको छ । उनीहरूले कांग्रेसभित्रै संगठन सुदृढीकरण गर्नुपर्ने बेला सडकमा गएर जुन नाटक देखाएका छन् त्यो अत्यन्तै भद्दा राजनीति हो । भण्डारी, गुरुङ र थापाले आफ्नो राजनीतिक चरित्रमा सुधार अनिवार्य छ । होइन भने उनीहरूको भविष्य अन्धारमय छ ।

अहिलेको अवस्था भनेको कांग्रेसका सबै नेता र कार्यकर्ताहरू मिलेर कम्युनिष्टहरूको सामना गर्ने बेला हो । संगठन सुदृढीकरण गर्ने बेला हो । सडकमा गएर जुत्तामा पालिस लगाउने समय होइन । बरु गर्नु नै छ भने भण्डारी, गुरुङहरूले गरिव जनताका पक्षमा के गर्न सकिन्छ त्यो गर्नुपर्छ । गाउँमा गएर बारी खन्ने, जोत्ने गर्नुपर्छ । मुख्य सडकमा बसेर मिडियाबाजी गर्नु आवश्यक छैन । उनीहरूको समयमा बुद्धि आएको हेर्न कांग्रेसका शुभेच्छुकहरूले चाहन्छन् ।

दमननाथ ढुंगाना जस्ता व्यक्तिको पछाडि लाग्ने बेला होइन । सधै एनजिओ र राष्ट्रघाति काम गरेका ढुंगानालाई नेपाली कांग्रेसका कार्यकर्ताले आदर्श मान्न सकिँदैन । ढुंगाना भनेका सीके राउत जस्ता विखण्डनकारीका मतियार हुन् । सीके राउतलाई बचाउन अहिले पनि ढुंगानाहरूले अदालतमा बहस गर्छन् । यस्ताबाट कांग्रेस र नेताहरूको भलो हुँदैन ।

Published : Thursday, 2018 February 1, 11:20 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया