कांग्रेसलाई ‘गिरोह’ले चलाएको छः अर्जुन नरसिंह केसी

– अर्जुन नरसिंह केसी, नेता, नेपाली कांग्रेस 

तपाई रामचन्द्र पौडेलसँग मिलेर पार्टी सभापति शेरबहादुर देउवालाई हटाउने अभियानमा लाग्नुभएको हो ?

एउटै पार्टीमा बसेपछि कसैसँग मिल्ने नमिल्ने भन्ने हुँदैन । गुट उपगुटमा पार्टी जसरी विभाजित भएको छ, म यसको पक्षमा सुरुदेखि छैन । यतिबेला म रामचन्द्रजिसँग मात्रै होइन, धेरै साथीहरुसँग भेटिरहेको छु । अहिलेको परिस्थितीलाई पारदर्शी तरिकाले विश्लेषण गरेर पार्टीलाई आगामी दिनमा कसरी अगाडि लैजाने भन्ने विषयमा आग्रह पूर्वाग्रह नराखी छलफल गरिरहेको छु ।

तर पछिल्लो समय रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र तपाई एउटै मोर्चामा देखिनुभएको छ नि ?

हो, हामी बसेर छलफल गरेका हौँ । आग्रह पूर्वाग्रह र दोषारोपणको खेलबाट मुक्त हुनुपर्छ भन्ने मेरो कुरा हो । मैले रामचन्द्रसँग भने, सभापतिसँगै वरिष्ठ नेताको हैसियतले पार्टीको पराजयको जिम्मा तपाईले पनि लिनुपर्छ । त्यसैगरी पदाधिकारीहरु, मन्त्री, केन्द्रिय समिति, जिल्ला, गाउँ समिति सबै ठाउँबाट के गल्ती भयो भनेर खोज्नुपर्छ । त्यसलाई पुर्नविचार गरेर केलाउँ भनेको हुँ ।

तर तपाईहरुको कुरा सभापति देउवाले सुन्नुभएको छैन नि ?

उहाँले सुन्नुभएको छैन । सुन्नुहोला । केन्द्रिय कार्यसमितिको बैठक अहिलेसम्म नबोलाउनु आश्चर्यजनक हो । यद्यपी सभापतिको व्यस्तता वा केही कारण होला । तर बैठक नबोलाउनु दुखद हो । हामी नीतिगत, नेतृत्व र संरचनागत रुपमा कहाँ कमजोरी भयो भनेर खोजिनुपर्छ ।

कांग्रेसमा पछिल्लो समय गुट बढ्दै गएको छ नि ?

म गुटभन्दा अलग छु । मैले कहिल्यै पनि गुट निर्माणमा लागेको छैन । महाधिवेशनमा शेरबहादुरलाई साथ दिएकै हो । उहाँलाई जिताउँदा मेरो पनि सहभागिता छ । रामचन्द्रजिले पनि आक्षेप लगाउनुभयो । तर अब आउने दिनहरुमा कसरी अगाडि बढ्ने भनेर अब सोच्नुपर्छ । देउवाको कार्यशैली सुधार नगर्ने हो भने पार्टी झन कमजोर बन्दै जान्छ ।

देउवाले कार्यशैली सुधार गर्नुभएन भने तपाईहरु के गर्नुहुन्छ ?

के गर्ने नगर्ने भन्ने भन्दा पनि कांग्रेसको विधि र विधान छ । त्यसका लागु गर्नुपर्छ । जो नेतृत्वमा बस्छ उसले मनलाग्दी गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।

संसदीय वोर्ड र कार्यसम्पादन समिति गठन पनि विधिविपरित थियो । तर त्यसबेला तपाईहरुले केही भन्नुभएन ?

त्यसबेला अप्ठ्यारो अवस्था थियो । बाध्यात्मक स्थितीले गर्दा हामी पनि सहभागि हुनुपर्ने स्थिती आयो । किनभने तत्कालै हुन लागेको निर्वाचनमा वाम गठबन्धन मिलेका थिए । त्यसबेला प्रश्न नउँठाउँ भनेर चुप लागेको हो । वास्तवमा टिकट वितरणमा पनि मनपरी गरियो । खासगरी समानुपातिकमा त कसैलाई सुचि नै नदेखाई अपारदर्शी ढंगले तयार पारियो । यस्ता धेरै कारकतत्वहरुलाई सुधार गर्नुपर्छ । अब वैज्ञानिक दृष्टिकोणले पार्टीभित्र आमुल परिवर्तन गर्नुपर्छ ।

युवा नेताहरुले त नेतृत्व नै परिवर्तन गर्नुपर्ने आवाज उठाएका छन् नि ?

त्यो आवाज आयो होला । तर विधि र प्रक्रियालाई एकातिर पन्छ्याएर समाधान हुँदैन । विधिवत ढंगले पहिला केन्द्रिय समितिको बैठक बसेर समिक्षा गर्नुपर्छ । सबैको विचारलाई संश्लेषण गरेर नयाँ बाटो खोज्नुपर्छ ।

त्यसोभए अहिलेको नेतृत्व हटाउने योजना छैन ?

हटाउने योजना पनि होइन । राख्ने योजनामा पनि म संलग्न छैन । म वास्तविक संश्लेषण गर्ने पक्षमा छु ।

कांग्रेस इतिहासमै यतिबेला कमजोर बनेको छ । अब कसरी जनतामाझ जानुहुन्छ ?

हो, शर्मनाक पराजयकै रुपमा लिनुपर्छ । विभिन्न कारणहरुको बारेमा समिक्षा गर्नुपर्छ । तर कांग्रेस कमजोर चाँही छैन । अहिले पनि समानुपातिकमा पहिलो पार्टीभन्दा अत्यन्त थोरै मतले पछाडि छौँ । आत्तिनुपर्ने अवस्था छैन । तर अहिलेकै नीति, नेतृत्व र संरचनालाई लिएर हामी अगाडि बढिरहेका छौँ, यस्तै हो भने कांग्रेस अगाडि बढ्न सक्दैन ।

तपाई नेतृत्व परिवर्तनको पक्षमा हो ?

युवाहरुबाट नेतृत्वको माग आइरहेको छ । म त भन्छु यो पार्टीलाई पुनः संरचना गर्ने हो भने वा पुर्नजीवन दिने आँट गरेर कोही आउँछ भने सल्लाहाकार भएर बस्न तयार छु । तर पार्टीभित्र देखिएका विकृति, विसंगति, गुट, विभाजित मनस्थितीको अन्त्य गर्नुपर्छ । अहिले त पार्टी २,४ जनाको गिरोहबाट चलेको छ । विधान विपरित पार्टी संचालन गराउनमा भूमिका खेल्ने कारकतत्वहरु दण्डित हुनुपर्छ ।

तत्काल अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा युवा पुस्ताहरु लागिसकेका छन् । यसलाई कसरी लिनुहुन्छ ?

ठीकै छ, उहाँहरुको विचार र भावना राख्ने कुरा हो । म चाँही के भन्छु भने सबै कुरा विधि विधानअनुसार गर्नुपर्छ ।

अहिलेकै नेतृत्वबाट पार्टीमा सुधार हुने आशा गर्न सकिन्छ ?

कार्यकर्ताहरु निराश हुनु स्वभाविक हो । तर राजनीतिक यात्रा भनेको आशा, निराशा, जित–हारको संगम हो । तर अहिलेको नीतिगत र संरचनागत हिसाबमा पार्टीमा सुधार गर्नुपर्छ । पार्टी सुधार गनुपर्ने बेलामा पदाधिकारीहरु वाम गठबन्धन तोड्ने भनेर हिँडिरहेका छन् । रचनात्मक प्रतिपक्ष भएर बस्नुपर्छ ।

Published : Saturday, 2018 January 20, 8:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया