एकीकृत पार्टीको अध्यक्षमा आलोपालो हुँदैनः वामदेव गौतम

एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता र नयाँ सरकार निर्माणको काम सुरु भैसकेको बताएका छन् । गौतमले प्रधानमन्त्री को हुने ? भन्ने निर्णय गर्न बाँकी रहेको तर, पार्टी अध्यक्ष केपी ओली नै प्रधानमन्त्री हुने संभावना रहेको पनि बताए । बर्दिया क्षेत्र नं. १ बाट सानो अन्तरले पराजित गौतमले आफ्नो पराजयबारे छानबिन गर्न माग गरेको पनि बताए । गौतमसंग बीबीसी नेपाली सेवाले गरेको कुराकानी ।

पार्टी एकता हुने भयो कि झन् अल्झिने भयो ?

पार्टी एकता र तालमेल हाम्रो सँगसँगै सुरु भएको हो । हामीले प्राविधिक रुपमा केही समय पर्खिएका हौँ । पार्टी एकता र सरकार निर्माणको काम सुरु भइसकेको छ ।

पार्टी एकताको प्रक्रियामा तपाई नजिकबाट संलग्न भनिन्छ सुरुदेखि नै । एकीकृत पार्टीको नेतृत्व कसले गर्छ ?

एकीकृत पार्टीको नेतृत्व दुबै पार्टीका नेताहरू बसेर हामीले निर्णय गर्छौं । टुंगो लगाउँछौँ । दुबै पार्टीका नेताहरू मिलेर यसको नेतृत्व गर्छौ ।

संयुक्त रुपमा नेतृत्व गर्ने हो ?

हो । सामूहिक रुपमा हामीले नेतृत्व गर्ने हो । नेतृत्वमा प्रमुख व्यक्तित्व चाहिँ नेताहरूमध्ये एकजना नेता रहने व्यवस्थापन हुन्छ । तर, त्यो व्यक्तिले सामान्य तरिकाले एक्लै निर्णय केही पनि गर्दैन ।

संयुक्त अध्यक्षको अवधारण हुन्छ कि एकल अध्यक्ष हुन्छ ?

संयुक्त अध्यक्षको अवधराणा हुँदैन । कुनै न कुनै उपाय हामीले निकाल्छौँ ।

तर, भद्र सहमति त एकखालको भएको होला नि ?

अहिले पार्टी एकता संयोजन समितिमा दुबैजना नेता संयोजक हुनुहुन्छ । हामीले त्यो सम्मान गरेका छौँ । पार्टी एकता नै गरिसकेपछि को अध्यक्ष हुने को नहुने भन्ने कुरा त त्यो संयोजन समितिमा हामीले बसेर छलफल गरेर छलफल गर्न बाँकी नै छ । त्यसमा अहिले भरखरै भन्न सकिन्न ।

प्रचण्ड पनि अध्यक्ष हुने सम्भावना छ ? त्यत्तिकै प्रधानमन्त्री भए पनि केपी ओली समेत अध्यक्ष हुने सम्भावना पनि छ ?

छ, छ । त्यससम्बन्धमा हामीले सर्वसम्मत निर्णय गर्ने हो । जसरी हामीले सर्वसम्मत गर्न सक्छौँ त्यही हामीले गर्ने हो ।

बिकल्प भन्नुभयो नि ? एकजना अध्यक्ष भइसकेपछि पार्टीलाई संयुक्त नेतृत्वको अवधारणमा लैजान सक्ने भनेर त्यो चाहिँ कस्तो खालको हुन सक्ला ?

आजसम्म नेकपा एमालेले जे गरेको छ । आजसम्म अरु पार्टीले जे गरेका छन् एउटा अध्यक्ष हुन्छ । पार्टीको सर्वोच्च नेताको रुपमा । तर, त्यो नेताले आफैले त्यो निर्णय, यो निर्णय भनेर भन्न सक्दैन । बसेर छलफल गर्छौँ । निर्णय गर्छौं । र, त्यो निर्णय लागू गर्ने छौँ । त्यो लागू गर्ने निर्णय का नेतृत्व सर्वोच्च नेताले गर्नु हुन्छ । त्यो नेताले आफ्नो मनखुसी गर्न पाउँदैन ।

तपाईहरूको पार्टी सबैभन्दा ठूलो बन्यो । प्रधानमन्त्री केपी ओली बन्ने लगभग लगभग निश्चित भएको हो ?

प्रधानमन्त्री को हुने भन्ने निर्णय गर्न बाँकी नै छ । तर, बाहिरबाट हेर्दाखेरी पार्टी अध्यक्ष नै प्रधानमन्त्री हुने सम्भावना त छ ।

पार्टी अध्यक्ष प्रधानमन्त्री भयो भने त्यो चाहिँ पाँच वर्षका निम्ति हुन्छन् कि आधिआधि समयावधि बाँडिन्छ ?

संविधान बमोजिम पाँच वर्षसम्मकै प्रधानमन्त्री हुन्छन् । तर, आन्तरिक रुपमा के सहमति गरिएको हुन्छ भने, सहमति हुन बाँकी नै छ, त्यस सम्बन्धमा हामीले अहिलेसम्म कुनै विचार गरेका छैनौँ । छलफल पनि गरेका छैनौँ ।

आलोपालोको सम्भावना पनि त्यत्तिकै छ ?

होइन आलोपालो त भइनै हाल्छ । हामीले निर्णय गरेकै हौँ । पार्टी एकता र तालमेल गर्ने सम्बन्धमा हामी एउटा निष्कर्षमा पुग्दाखेरी त्यस्तो निर्णय पनि हामीले गरेका थियौँ ।

आधिआधि नेतृत्व गर्ने ?

आधिआधि भन्ने पनि होइन । आलोपालो भनेको पाँच वर्ष एउटा नेताले अर्को पाँच वर्ष अर्को नेताले गर्ने हुन सक्छ । यही कार्यकालमा पनि कसैले दुई वर्ष गर्ने अर्कोले तीन वर्ष गर्ने पनि हुन सक्छ । कसैले एक वर्ष गर्ने कसैले के गर्ने भन्ने पनि हुन सक्छ । आलोपालो भनेको ठ्याक्कै फलानो मितिदेखि भन्ने हुँदैन ।

आलोपालो गर्ने सहमति भएको छ ?

आलोपालो गर्ने सहमति पहिले नै भएको थियो ।

त्यो अहिले पनि जीवित छ ?

हामीले घोषणा गर्दाखेरी त्यो विषय समावेश भएको छैन । अब त्यसलाई के गर्नुभएको छ ? मलाई थाहा छैन ।

अनि आलोपालो प्रधानमन्त्रीमा मात्रै हो कि पार्टी नेतृत्वमा पनि हो ?

होइन होइन प्रधानमन्त्रीमा मात्रै हो ।

तपाईले चुनाव हार्नुभयो । तपाईको यत्रो भूमिका हुँदा हुँदै पनि । तपाईलाई पार्टीभित्रैबाट अन्तरघात भएको हो ?

त्यो के भएको हो भन्ने कुरा छानविनपछि थाहा हुन्छ । छानविनको माग मैले गरेको छु । ३ महिना पहिलोको निर्वाचनमा २४ हजार पनि नल्याएको नेपाली कांग्रेसले अहिले ४४ हजार कसरी ल्यो भन्ने कुरा त एउटा गम्भीर विषय छदैछ । त्यसको आधारमा अनेक किसिमको अड्कलवाजी भएका छन् । जे भए पनि मैले चुनाव हारेको छु ।

केन्द्रीय नेताहरूको भूमिका भएको शंका लाग्छ कि तपाईलाई ?

त्यस्तो व्यक्ति केन्द्रीय नेता हुनै सक्दैन हाम्रो पार्टीमा । जसले अन्तरघातको नेतृत्व गर्छ ।

Published : Saturday, 2017 December 16, 9:56 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया