माओवादी मन्त्रीहरुमा नैतिकता छ भने राजीनामा देउ

सरकारमा बस्ने सत्ता साझेदार दललाई हराउन प्रमुख विपक्षी दल नेकपा (एमाले)सँग वाम गठबन्धन गर्ने । राज्यशक्तिको दुरुपयोग गरेर प्रधानमन्त्रीलाई गुमराहमा राख्ने । प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति दिने । यस्तो विषय संसारमा कतै हुँदैन । तर, नेपालमा आफूलाई प्रगतिशील भन्न रुचाउने वामपन्थीहरुले गाईजात्रा देखाइ रहेका छन् ।

एमालेसँग धोका पाएपछि नेपाली कांग्रेसको साथ पाएर सत्तामा पुगेका पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दल माओवादी केन्द्रलाई फेरि पनि उही एमालेसँग नजिक्याएर राजनीतिमा गम्भीर धोका दिएका छन् । त्यति मात्र होइन प्रचण्डले जसरी वाम गठबन्धन गरेका छन् त्यसमा अनेकौँ प्रश्नहरु त छन् नै, कांग्रेससँग सरकारमा अहिले पनि टाँसिएर बस्ने अनि कांग्रेसलाई नै हराउन एमालेसँग रणनीति बनाउने । उनको यो चाल कांग्रेसले मात्रै होइन सारा नेपाली जनताले बुझेका छन् ।

यदि थोरै पनि राजनीतिक नैतिकता हुन्थ्यो भने प्रचण्डले वाम गठबन्धन बनाउन केही घण्टा अगाडि नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउनु पर्ने थियो । तर, उनले त्यसो गरेनन् । बरु सत्ताको स्वाद अहिले पनि लिइरहेका छन् । मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले विनाविभागीय बनाउँदा समेत लाचार बनेर माओवादीका मन्त्रीहरुको कमाइमा प्रचण्डले स्वाद लिइरहेका छन् । प्रचण्ड र माओवादी मन्त्रीलाई त्यसमा कुनै पनि आत्मग्लानी छैन । बरु उनीहरुले प्रधानमन्त्री देउवा र कांग्रेसलाई सत्तोसराप गरिरहेका छन् ।

माओवादी भन्ने पार्टी र त्यसका नेताहरुमा कुनै पनि प्रकारको नैतिकता भन्ने देखिएको छैन । उनीहरु पद र व्यक्तिगत स्वार्थका लागि जे पनि गर्न सक्छन् भन्ने कुुराको ठूलो प्रमाण दिएका छन् । उनीहरुले जसरी हुन्छ सत्ताको स्वाद अन्तिम क्षणसम्म लिइरहनु पर्छ भन्ने मान्यता राखेका छन् ।

नेपाली कांग्रेसले पनि यो विषयलाई धेरै महत्व दिएको छैन । एउटा नेपाली उखान छ, …लाई भन्दा देख्नेलाई लाज भन्ने कुराको प्रमाणित माओवादी र उनका मन्त्रीहरुले गरेका छन् । माओवादीलाई एमालेले उचालेका कारण नै मन्त्रीहरु विनाविभागीय हुँदा पनि अपमान सहेर बसेका छन् । यसको बेफाइदा एमालेलाई हुने छैन । र, भएको पनि छैन । बेफाइदा माओवादी र उनै विनाविभागीय मनत्रीहरुलाई भएको छ ।

जनताले माओवादी पार्टी र माओवादीका विनाविभागीय मन्त्रीहरुलाई लाजश्रम नभएका भनेर आलोचना गर्न थालेका छन् । यदि माओवादी भन्ने पार्टी र उसका मन्त्रीहरुमा कत्ति पनि नैतिकता छ भने तत्काल राजीनामा दिएर जानु पर्छ । होइन भने सत्तामा पनि बस्ने । सत्ता नेतृत्वकर्ता दललाई हराउन प्रमुख विपक्षी दलसँग मिलेर वाम गठबन्धन र पार्टी एकीकरणको कुरा गर्नु कदापि सुहाउँदैन ।

Published : Wednesday, 2017 October 25, 5:52 pm

1 प्रतिकृया प्राप्त “माओवादी मन्त्रीहरुमा नैतिकता छ भने राजीनामा देउ”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया