जनमत भएन भन्दैमा संघीयता ठीक हुँदैन : के.सी. (अन्तर्वार्ता)

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले संघीयताको कट्टर विरोधी हुन् । उनले कुनै पनि हालतमा संघीयता नेपालमा सफल नहुने दाबी गर्दै आएका छन् । संसद र प्रदेशको चुनावको तयारी तीब्र रुपमा भइरहेको छ । संघीयता सफल हुँदैन भन्ने कुराको औचित्य के छ त ? यही विषयमा केन्द्रित रहेर अध्यक्ष चित्रबहादुर के.सी.सँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलाले गरेको कुराकानी :–

प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावमा यहाँको पार्टी कसरी प्रस्तुत हुँदैछ ?

निर्वाचनमा भाग लिने र सकेसम्म जित्ने उद्देश्य छ ।

नेपालमा साना पार्टीको औचित्य नै सकिएको जस्तो देखिन्छ नि ?

संसदमा जाने भए मात्रै औचित्य हुने नत्र नहुने भन्ने होइन ।

तपाईहरूले ३ प्रतिशत मत ल्याउने सम्भावना ज्यादै कम छ । प्रतिनिधिसभाको चुनावपछि के गर्नुहुन्छ ?

सिन्डिकेटवाला ठूला पार्टीहरूलाई स्थानीय निकायको चुनावमा पनि साना दलहरू नआउन भन्ने थियो । तर, हाम्रो उपस्थिती रह्यो । केही स्थानीय तहमा हामीले पनि चुनाव जितेका छौँ ।

ज्यादै कम ठाउँमा जित्नुभएको छ ?

धेरै ठाउँमा जित्नका लागि त सत्ता, पैसा र शक्ति चाहिन्छ । हामी मनी र मसलतिर लागेनौँ । मनी र मसलको प्रयोगले नै देशको यो हालत भएको छ । जनताको संसद, न्यायपालिका र सरकारप्रति विश्वास छैन । मनी र मसलले जित्ने भएकाले देश अप्ठ्यारोमा परेको छ ।

तपाईं संघीयता विरोधी । अहिले संघीयता लागू भइसक्यो । कसरी हेर्नुभएको छ ?

संघीयता काठमाडौंमा त लागू हुन सकेको छैन । संघीयताले गर्दा नै देशको अवस्था विग्रिएको छ । राजधानीका सडकको खाल्डा पुर्न नसक्ने र फोहर फाल्न नसक्ने संघीयताको के काम ? संघीयता सफल हुन्छ भन्ने भ्रम नराख्नुस् ।

संघीयता त कार्यान्वयन भइसक्यो नि ?

जान त ११ वर्ष पहिलेदेखि गएको हो नि । संघीयताले जनतालाई फल दिन सक्छ भन्ने कुरा त संघीयताका ठेकदारलाई समेत थाहा छैन । संघीयता वाक्नु न निल्नु भएको छ राजनेताहरूलाई । स्थानीय निकायको चुनाव भएको चार महिना भइसक्यो । कर्मचारी जान मानेका छैनन् । भौतिक संरचनाको थलो छैन । कर्मचारी गएर झोला राख्ने ठाउँ छैन । यस्तै हो संघीयता लागू भएको ? भन्नलाई त पैसा तिर्न पर्दैन ।

आजको दिनमा संघीयता, गणतन्त्री देशको आवश्यकत होइन र ?

गणतन्त्र र लोकतन्त्र नेपालको आवश्यकता हो । तर, संघीयता होइन । किनकी संघीयता कार्यान्वयन गर्नै सक्दैनन् ।

स्थानीय निकाय, प्रदेश र संसदको चुनाव संघीयता कार्यान्वयनका लागि होइन र ? चुनावमा तपाई पनि सहभागी हुनुभएकै छ ?

नेपालमा प्रजातान्त्रिक विकेन्द्रीकरण गरेर जनतालाई अधिकार दिनका लागि त संघीयताको नाम राख्नै पर्दैन नि ।

संघीयताको विरोध गर्दा जनमत त पाउनुभएन नि ?

जनमत भएन भन्दैमा संघीयता ठीक छ र सफल हुन्छ भन्ने होइन । संघीयताको नतिजा त भोग्न बाँकी नै छ । संघीयताले विखण्डन ल्याउन सक्छ । २ नम्बर प्रदेशलाई कसैले आफ्नो आधार इलाका बनाइसके । अरु पार्टीलाई जानै नदिने नीति लिएका छन् । २ नम्बर प्रदेशलाई पहाडबाट अलग गरिसके । बेग्लै देश हो भन्न थालिसके । आर्थिक रुपले पनि संघीयता कार्यान्वयन गर्न गाह्रो छ । सासंद र प्रशासनको संख्या बढ्दा कार्यान्वयनको पाटो जटिल छ ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाएको छ । यसमा यहाँको धारणा के छ ?

कहाँ कसरी क्षेत्र निर्धारण गरिएको छ, त्यो हेर्न बाँकी छ । छिटै निर्वाचन क्षेत्र घोषणा हास् भन्ने त हामीले पनि चाहेको हो ।

अबको चुनावमा तालमेलको योजना कस्तो छ ?

कहाँ कसरी चुनावी तालमेल गर्ने भन्ने निश्चित छैन । कुनै पनि दलसँग चुनावी तालमेलका लागि कुरा भएको छैन । केही दलसँग सामान्य छलफल भएको थियो । अरुको बुई चढेर संसदमा जाने र राजनीति गर्ने कुरा ठूलो होइन ।

Published : Sunday, 2017 September 3, 5:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया