‘संविधान संशोधनको विषय टुंगियो’

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनको प्रक्रिया टुंगीसकेको बताउँदै संशोधनबारेको कुनै विवाद नरहेको बताउनुभएको छ ।

विराटनगरमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले संविधान संशोधनको विषय तत्कालका लागि टुंगिएको बताउनुभयो ।

‘संविधान संशोधन प्रक्रिया टुंगिएको छ’, उहाँले भन्नुभयो, ‘राजपा नेपाल समेत सहभागी भएको छ । निर्वाचनपछि संशोधन गर्ने नगर्ने कुरा पछिको विषय हो । यस विषयमा धेरै बोलिराख्नु पर्दैन ।’

भारतसँग भएको सन्धि र सम्झौताका विषयमा सोधिएको जिज्ञासामा अध्यक्ष दाहालले भन्नुभयो, ‘परराष्ट्र मन्त्रीले आज बिहान मात्रै संयुक्त वक्तव्य, भारतसँग भएको सहमति र सम्झौताको डकुमेन्ट दिनुभएको छ । अध्ययन गर्न बाँकी छ । अध्ययनपछि मात्रै टिप्पणी गर्न सकिन्छ ।’

हिन्दूराष्ट्रका विषयमा भारतले आफूलाई कहिल्यै पनि दवाव नदिएको दाहालको भनाइ थियो । ‘हिन्दुराष्ट्रका विषयमा भारतसँग कुनै कमिटमेन्ट गरिएको छैन’, उहाँले भन्नुभयो, ‘शेरबहादुर देउवा वा अरुले के गरे उहाँहरुको कुरा हो । मैले कुनै सहमति गरेको छैन ।’

कोशी बाँधका बारेमा मुलुकभित्रै गम्भीर छलफल आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ । ‘कोशी बाँधका विषयमा गहन अध्ययन र छलफल जरुरी छ’, उहाँले भन्नुभयो, ‘हचुवाको भरमा कुनै निर्णय गर्नु हुँदैन ।’

Published : Monday, 2017 August 28, 11:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया