साना ४ दलबीच एकीकरण

काठमाडौं । आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्ने ४ दल सामाजिक लोकतान्त्रिक पार्टी, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, किरात खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल र नव जनवादी मोर्चाबीच एकीकरण भएको छ । शनिबार राजधानीमा सामाजिक लोकतान्त्रिक पार्टीको छैटौँ वार्षिकोत्सव कार्यक्रममा चार दलका अध्यक्षहरुले पार्टी एकीकरण भएको घोषणा गरे ।

कार्यक्रममा एकीकरणको घोषणा गर्दै सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राईले ०७ साल, ०४६ साल, ०६२/६३ को जनआन्दालनले संसद पुनर्स्थापना गरेपनि त्यसपछि बनेको अन्तरिम संविधानमा संघीयता छुटेकाले मधेस, आदिवासी जनजाति, महिला, मुस्लिम, थारु, दलित, सिल्पी, खस, भाषिक पहिचानमा आधारित राष्ट्रिय र क्षेत्रीय पार्टीहरुका आन्दोलन र संघर्षहरुका दबाबमा संघीया पारित अन्तरिक संविधानमा ३० चैत ०७३ मा प्रथम संशोधन भएको र त्यसैमा टेकेर मुलुकमा संविधानसभाको गठन भएको बताएका छन् ।

तर, सो संविधानसभामा पहिचानको मुद्दा हाबी भएको संकेत मिल्नेबित्तिकै षड्यन्त्रपूर्वक प्रथम संविधानसभा विघटन गरिएको पनि उनले आरोप लगाए । जसले गर्दा पहिचानवादीको आन्दोलन र संघर्ष लम्बिएर जानु बाध्य पारिएपछि १५ पुस ०६९ मा सामाजिक लोकतान्त्रिक पार्टी स्थापना भएको अध्यक्ष राईले बताएका छन् ।

त्यस्तै, ०६३ मा स्थापना भएको खम्बुवान राष्ट्रिय मोर्चा पुनर्गठन गरिएको र यसै सेराफेरोमा किरात खम्बुवान लोकतान्त्रिक पार्टी र संघीय खम्बुवान लोकतान्त्रिक पार्टी स्थापना भएको र यससँगै नवजनवादी मोर्चा गरी आज चार दल एक स्थानमा उभिनुलाई खुसीको कुरा भएको अध्यक्ष राईले बताए ।

अध्यक्ष राईले चारै दलहरुको स्थापनाको मुख्य उद्देश्य संघीय लोकतान्त्रिक गणतन्त्र लोककल्याणकारी राज्यको स्थापना भएको पनि बताएका छन् । १९१० सालमो मुलुकी ऐनले वैधानिक र संस्थागत रुपमा जन्माएको विभेद, वहिष्करण, उत्पीडनको सही सम्बोधन नभएकाले, मानवअधिकार, मौलिक अधिकार साथै अन्तर्राष्ट्रिय कानुनहरुले प्रत्याभूत गरेका व्यैयक्तिक वा सामूहिक रुपमा प्रचलनमा नआएकाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक भएको स्वीकारिए पनि धर्मनिरपेक्षता अस्विकार गरिएकाले सम्बोधन र संविधान संशोधनको मुद्दालाई कायम राख्दै साथै अर्कोतर्फ वाम र लोकतान्त्रिक ध्रुवीकरणले संविधान संशोधनको मुद्दालाई कायम राख्दै साथै अर्कोतर्फ वाम र लोकतान्त्रिक ध्रुवीकरणले प्राप्त हक अधिकारहरु समाप्त गरिने लक्षण देखा परेकाले तिनका रक्षाका लागि मानव इज्जत, स्वतन्त्रता, स्वाधीनता, समानता प्राप्तिका लागि अदम्य साहस, उच्च मनोबल र स्वभाविमानका साथ चार दल एक ढिक्का भई अगाडि बढ्ने पनि अध्यक्ष राईले घोषणा गरे ।

एकीकरण कार्यक्रममा नवजनवादी मोर्चाका अध्यक्ष तथा सामाजिक लोकतान्त्रिक पार्टीका सदस्य मैयाकुमारी राईले विभिन्न धारमध्ये सामाजिक लोकतान्त्रिक पार्टी संसारमै चौँथो धार भएको बताएकी छन् । उनले पितृसतात्मक मुलुकमा महिलालाई स्थान नदिइएको भन्दै नारीलाई सन्तान उत्पादन गर्ने यन्त्र मात्र भएको सोचाइले समाज अघि बढ्न नसकेको बताइन् ।

त्यस्तै, किरात खम्बुवान लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष तथा सामाजिक लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ज्ञानेश्वर राईले ठूला दलहरुले दलीय सिन्डिकेट लगाएर साना दलहरुलाई माथि उठ्न नदिने अधिनायकवादी सोचाइ राखेको बताएका छन् ।

ठूला दलले निषेधको राजनीति गर्न खोजेको भन्दै सिन्डिकेट लगाउने नेताहरुले संविधान कार्यान्वयनको कुरा गरे पनि यसको कार्यान्वयन तहलाई आफूहरुले पनि अध्ययन गरिरहेको बताए । साना दलहरुलाई माथि उठ्न नदिन अनेकौ बाधा, अड्चन खडा गरेर आफू मात्र सत्तामा पुग्ने र आफू अनुकूल शासन चलाउने रोगबाट ठूला दल ग्रसित भएको तर यसले मुलुकलाई झन् बर्बादीतिर लैजाने बताए ।

त्यस्तै, किरात खम्बुवान लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष किरण राईले पनि पहिचानको मुद्दा बोक्ने दलहरुलाई जातीय मुद्दाको ट्याग लगाएर राज्यले दमनको नीति अख्तियार गरेको बताउँदै उनले यसको विरोध गरे । यस कार्यक्रममा पार्टीलाई सहयोग गर्ने विभिन्न व्यक्ति, व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

Published : Sunday, 2017 December 31, 12:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया