मध्यराति पैसा बाँड्न हिँडेका राजेन्द्र महतो लखेटिए

जनकपुरधाम । मौन अवधिमा प्रचार प्रसार गर्न देवीचोकमा पुगेका राष्ट्रिय जनता पार्टीका उम्मेदवार राजेन्द्र महतोलाई रोक्ने क्रममा कांग्रेस र महतोका कार्यकर्ताबीच झडप भएको छ ।

धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधी सभा उम्मेदवार राजेन्द्र महतोलाई कांग्रेसका कार्यकर्ताहरूले मौन अवधिमा प्रचार प्रसार नगर्न चेतावनी दिएका थिए ।

तर, महतोले नमानेर अगाडि बढ्न खोजेपछि मंगलबार राति सवा ११ बजे झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् । झडपमा केही व्यक्ति घाइते भएका छन् ।

कांग्रेसका युवा नेता राकेशविक्रमले महतोले मौन अवधिमा पैसा बाँड्न गएको आरोप लगाउँदै आफूहरूले लखेटेको बताएका छन् । राजपा नेता जैन खानले भने व्यक्तिगत कामले निस्किएका महतोमाथि आक्रमण भएको दाबी गरेका छन् ।

जनकपुरको संकटमोचन, बाह्रबिघा नजिकको घरमा डेरा गरी बसेका महतो आफ्ना कार्यकर्तासहित मंगलबार राति बाहिर निस्केका थिए ।

सुरुमा जनकपुर १६ को कपिलेश्वरमा जाँदा पनि कांग्रेस कार्यकर्ताले होहल्ला र नाराबाजी गरेको तथा जनकपुर सहरभित्र छिरेर एक जना डेन्टल अस्पतालका मालिकलाई भेटेर निस्कँदा पनि ढुंगामुढा गर्ने क्रममा झडप भएको खानले बताए ।

धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राजपा नेता राजेन्द्र महतोबीच प्रतिस्पर्धा हुँदैछ ।

Published : Wednesday, 2017 December 6, 10:29 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया