यस्ता छन् एचटीसी स्मार्टफोनका नयाँ मोबाइल

काठमाडौं । नेपालका लागि एचटीसी स्मार्टफोनको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले एचटीसी डिजायर ६५०, एचटीसी डिजायर १० प्रो तथा एचटीसी यू ११ सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्ना अघिल्ला उत्पादनबाट पाएको सफलतापछि बजारमा नयाँ उत्पादन सार्वजनिक गरेको हो ।

कम्पनीले बजारमा ल्याएको एचटीसी डिजायर ६५० सिरिज कम्पनीको पछिल्लो उत्पादन हो । यसमा नयाँ डिजाइन र सुविधा छन् । ५.० इन्चको आईपीएस एलसीडी क्यपासिटिभ टचस्क्रिन रहेको यस स्मार्टफोनमा क्वाड कोर १.६ गिगाहर्ज प्रोसेसर छ ।

३२ जीबीको रोम र तीन जीबीको र्‍याम रहेको फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामरा र पाँच मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको कम्पनीले जनाएको छ ।

झिक्न नमिल्ने ३००० एमएएचको ब्याट्री रहेको डिजायर ६५० मा जियो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, पानोरोमा तथा मार्समाल्लो अपरेटिङ सिस्टम छ । यसको नेपाली बजार मूल्य १७ हजार आठ सय रुपैयाँ छ ।

त्यस्तै कम्पनीले बजारमा ल्याएको एचटीसी डिजायर १० मा १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर छ । चार जीबी र्‍याम रहेको फोनमा आन्तरिक स्टोरेज ६४ जीबी छ ।

२० मेगापिक्सेलको मुख्य क्यामरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको डिजायर १० मा ३००० एमएएचको ब्याट्री रहेको छ । फोनमा जियो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, एचडीआर, पानोरोमा, फिंगर प्रिन्ट तथा एन्टी सेकजस्ता सुविधा छन् । यसको बजार मूल्य २९ हजार नौ सय छ ।

कम्पनीले ५.५ इन्चको सुपर एलसीडी क्यापासिटिभ टच स्क्रिन डिस्प्ले रहेको एचटीसी यू ११ पनि बजारमा ल्याएको छ । अक्टाकोर प्रोसेसरयुक्त फोनमा ६ जीबीको र्‍याम र एक सय २८ जीबीको आन्तरिक स्टोरेज रहेको छ । १६ मेगापिक्सेलको मुख्य क्यामरा र १२ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको फोन ७.१ भर्सनको एन्ड्रोयड अपरेटिङ सिस्टममा आधारित छ ।

३००० एमएएचको ब्याट्री रहेको फोनमा एचटीसी यू ११ नुगटको फिचर छ । यसमा स्न्यापड्रागन ८३५, जियो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, एचडीआर र पानोरामा जस्ता सुविधा रहेको कम्पनीले जनाएको छ । यी स्मार्टफोन निलो गोल्डेन ब्ल्याक, ब्ल्याक र रेड कलरमा बजारमा उपलब्ध छन् ।

Published : Friday, 2017 September 8, 7:03 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया