पैसा ठगेर फरार एमालेका नेता तथा मेयर देवकुरमाविरुद्ध ७ सयभन्दा धेरै उजुरी
काठमाडौं । बागलुङमा कार्यालय सञ्चालन गरेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा एमालेका नेता देवकुमार नेपालीविरुद्ध हालसम्म सात सय ६८ वटा उजुरी परेका छन् ।
ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका एमालेका नेता नेपाली जेठ ५ गतेदेखि सम्पर्कमा छैनन् । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यबाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्य चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको छ । हालसम्म उनीहरू बेपत्ता छन् ।
‘नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानले खोजी गरिरहेको छ, कोही भेटिएका छैनन्’, बाग्लुङका प्रहरी नायब उपरीक्षक मदन केसीले भनेका छन् ।
‘उजुरी गर्नेहरू राति ८ बजेसम्म लाइनमा हुन्छन्, केही दिन भयो हाम्रो कार्यालय भीडले भरिएको छ’, उनले भनेका छन् । बचतकर्ताको दुई अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप मेयर नेपालीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकर्ताको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरूविरुद्व उजुरी लिन पत्राचार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो । जसअनुसार सोमबार बेलुकासम्म सात सय ६८ जनाले रकम मागदाबीसहित उजुरी गरेको र अझै चार हजारभन्दा बढी संख्यामा बचतकर्ताको उजुरी आउनसक्ने अनुमान छ ।
हालसम्म ८९ करोड ६६ लाख बचत रकम पाउनुपर्ने दाबी गरिएको छ । इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी तीन वटा शाखा बागलुङमा मात्र छन् । पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ ।
बागलुङमा मात्रै दुई अर्बभन्दा बढी रकम हिनामिना भएको अनुमान गरिएको छ । पोखरा सिर्जनाचोकमा रहेको सहकारीका बचतकर्ता पोखरा महानगरको सहकारी महाशाखा र जिल्ला प्रहरी कार्यालयमा धाइरहेका छन् । बागलुङ र पोखरा दुवै ठाउँका बचतकर्ताले संघर्ष समिति नै बनाएर धर्ना तथा दबाब कार्यक्रम गरिरहेका छन् ।
एमालेका नेता तथा नगरप्रमुख नेपालीले तिब्बती नागरिकलाई फर्जी कागजपत्र बनाएर नेपाली नागरिकता दिएको आरोप पनि खेप्दै आएका छन् । उनको घर काठमाडौंको सुकेधारामा प्रहरी बिट नजिकै मुख्य सडकसँग जोडिएको छ । ३/४ रोपनीमा भव्य घर बनाएका नेपाली सोही घरमा बेलाबेला लुकेर आउने गरेको आशंका पीडितहरूले गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया