एमालेका टोपबहादुरले सबैलाई हैरान बनाउने पत्र पठाए, हिरासतमा राख्न खाणलाई म्याद
काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा प्रहरीको फरार सूचीमा रहेका एमालेका सचिव तथा प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझीले संसद सचिवालयमा बिरामी भएको निवेदन पठाएका छन् ।
प्रहरीको पक्राउ पर्नबाट बच्न संसद सचिवालयमा बिरामी विदाको निवेदन पठाएका हुन् । स्रोतका अनुसार रायमाझीले बिरामी विदा स्वीकृति गरिदिन भनेर सभामुख देवराज घिमिरेलाई निवेदन पठाएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले रायमाझीलाई गत बुधबार पक्राउ पूर्जी जारी गरेको छ । अर्घाखाँचीबाट बुटवलतर्फ आउने क्रममा एमालेका नेता रायमाझी एक सातादेखि फरार छन् ।
यसैबीच, एमालेले आफ्ना सचिव रायमाझीलाई निलम्बन गरेको छ । एमालेले रायमाझीले प्रहरी समक्ष आत्मसमर्पण गरेर नक्कली भुटानी शरणार्थी काण्डमा सहयोग गर्न निर्देशन दिएको छ ।
रायमाझीले आफूलाई प्रहरी समक्ष आत्मसमर्पण गरेर अनुसन्धानमा सहयोग गर्नुको साटो संसद सचिवालयमा बिरामी विदाको लागि निवेदन पठाएर चुनौती दिएका छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण फरार भएनन् । फार नभएपछि प्रहरीले बुधबार बिहान चाबहिलस्थित निवासबाट खाणलाई पक्राउ गरेर राखेको छ ।
खाणलाई अनुसन्धानका लागि प्रहरी जिल्ला अदालत काठमाडौंबाट चार दिनेको म्याद अनुमति लिएको छ । पूर्वगृहमन्त्री खाणलाई वीर अस्पतालमा लगेर प्रहरीले स्वास्थ्य परीक्षण समेत गराएको छ ।
खाणलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको थियो । खाणलाई जरूरी पक्राउ पुर्जी जारी गरेर पक्राउ गरेको थियो ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार खाणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ ।
यसअघि प्रहरीले केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ, सन्दीप रायमाझी, इन्द्रजित राई, टेकनारायण पाण्डे, रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको छ ।
सन्दीप एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा हुन् । इन्द्रजित पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षाविज्ञ थिए । पूर्वगृहसचिव पाण्डे पक्राउ पर्दा उप–राष्ट्रपति कार्यालयमा सचिव थिए।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया