रास्वपाले समर्थन फिर्ता लिँदैमा विश्वासको मत लिनुपर्दैन : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता हुँदैमा अंकगणितमा कुनै असर नपर्ने जनाएका छन् ।

शनिबार बिहान अन्तर्वार्ताका क्रममा नेता खतिवडाले सरकार बलियो अवस्थामा रहेको बताए । उनले रास्वपालाई प्रतिपक्ष दलको रुपमा काम गर्न शुभकामना दिएका छन् ।

प्रतिनिधि सभाका सांसद समेत रहेका नेता खतिवडाले रास्वपाले दिएको विश्वासको मत फिर्ता लिँदैमा पुन: विश्वासको मत लिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

रास्वपाले समर्थन फिर्ता लिएकै भरमा ३० दिनभित्र सरकारले विश्वासको मत लिन नपर्ने खतिवडाले बताएका छन् ।

नेता खतिवडाले भने, ‘रास्वपाले राम्रो काम गर्नुस् । हामी पनि प्रतिपक्षमा बसेका छौँ । उहाँहरू आउनेवित्तिकै सत्तामा जानुभयो । भनेका मन्त्रालय नपाएपछि प्रतिपक्ष कस्तो हुनुपर्छ त्यो देखाउँछौं भन्नुभएको छ । त्यसका लागि शुभकामना ।’

रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेर पहिला पाएका मन्त्रालयहरू माग गरेका थिए । तर, प्रचण्डले पुराना मन्त्रालय दिन अस्वीकार गरिदिएका थिए । पहिला पाएका मन्त्रालय नपाएको झोँकमा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

दोहोरो नागरिकता काण्डमा दोषी ठहर भएका लामिछानेले उप–प्रधानमन्त्री र गृह मन्त्रालय माग गरेका थिए । उनले शिक्षा र श्रम मन्त्रालय पनि माग गरेका थिए ।

Published : Saturday, 2023 May 6, 6:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया