कांग्रेसद्वारा बुद्ध जयन्तीका अवसरमा शुभकामना प्रदान
काठमाडौं । नेपाली कांग्रेसले बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा शुभकामना दिएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरेर स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।
देउवाले भने, ‘हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानवअधिकार विरोधी लगायतका घटनाहरूबाट मुक्त हुन सकेको छैन ।’
‘मानवअधिकार विरोधी यस्ता क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक कार्य गर्न आश्वयक छ’, उनले भनेका छन् ।
‘दिगो शान्तिविना मुलुकको समग्र विकास सम्भव छैन’, देउवाले भने, ‘शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौं ! अशान्ति, हत्या र हिंसाको विरोध गरौँ ।’
‘देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गर्दछु’, देउवाले भनेका छन् ।
‘विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६७ औं जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धधर्मावलम्वी, शान्ति र अहिंसाप्रेमी दिदीबहिनी तथा दाजुभाइ एवं किराँत समुदायको महान पर्व उभौलीको अवसरमा किराँत दिदीबहिनी तथा दाजुभाइहरुमा पुन: हार्दिक शुभकामना व्यक्त गर्दछु’, सभापति देउवाले भनेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया