सञ्चार क्षेत्रमाथि राजनीतिक नेतृत्वबाटै धम्की आएको भन्दै अध्यक्ष पोखरेल चिन्तित
काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विश्वभर प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिएका छन् ।
बुधबार अध्यक्ष पोखरेलले शुभकामना सन्देश दिँदै भनेका छन्, ‘युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले महत्वपूर्ण दिनका रूपमा लिन्छन् ।’
उनले भनेका छन्, ‘आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदै छ । वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा तयार पारिएको ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’मा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्ट रूपमा उभ्याएको थियो ।’
‘यो दिनमा प्रेस स्वतन्त्रताका पक्षमा लडाइँ लड्ने योद्धाहरूप्रति सम्मान गर्ने, उनीहरूको योगदानको चर्चा गर्ने, प्रेस स्वतन्त्रताको पक्षमा थप प्रतिबद्धता जनाउने र प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ अगाडि कसरी लैजाने भन्ने सन्दर्भमा अन्तरक्रियाहरू गर्ने गरिन्छ’, पोखरेलले भनेका छन् ।
‘प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र आफ्नो देशभित्रको प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हनन्का घटनाको सार्वजनिकीकरण र स्वतन्त्रताको प्रतिरक्षा एवं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्ने यो दिनको विशेष महत्व छ’, उनले भनेका छन् ।
‘नागरिकले आफूलाई अभिव्यक्त गर्न सक्यो भने मात्र उसले सबै प्रकारका मानव अधिकारहरूको प्रयोग गर्न सक्नेछ भन्ने भावका साथ यो नारा तय गरिएको छ’, अध्यक्ष पोखरेलले भनेका छन् ।
‘अभिव्यक्ति स्वतन्त्रतालाई बढिभन्दा बढी प्रचलनमा ल्याउन र नागरिकलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्न सञ्चार क्षेत्रले नै भूमिका निर्वाह गर्नसक्छ’, उनले भनेका छन् ।
‘नेपाली पत्रकारिता क्षेत्र अझै पनि सुरक्षाका दृष्टिकोणले सन्तोष गर्नसकिने अवस्था छैन । भौतिक हमला र पेशागत असुरक्षा दुवैले पत्रकारहरूलाई त्रासमा राखेको अवस्था छ भने इन्टरनेटमा आधारित प्रविधिको प्रयोग गर्दै पत्रकारहरूलाई निरुत्साहित गर्ने, अपमानित गर्नेखालका नयाँ प्रवृत्तिहरू पनि देखिन थालेका छन्’, उनले भनेका छन् ।
‘नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईको तथ्यांक हेर्ने हो भने यस वर्ष पनि पत्रकारहरूको पेशागत सुरक्षाको अभाव जनाउँदै सैयांै उजुरीहरू आएका छन्’, उनले भनेका छन् ।
श्रमजीवी पत्रकार ऐन, २०५१ को पूर्ण पालना नहुँदा आज पनि पत्रकाहरू पारिश्रमिकबाट वञ्चित रहेको पोखरेलले बताएका छन् ।
‘मे ३ सन् २०२२ देखि अप्रिल २६ सन् २०२३ प्रेस स्वतन्त्रता हनन्का ५५ वटा घटना भएका छन् । गत वर्ष यही अवधिमा ७५ वटा घटनाहरू अभिलेख भएका थिए’, उनले भनेका छन् ।
‘यसबाट ९३ जना पत्रकार र ८ सञ्चार संस्था गरी १०१ पीडित भएका छन् । महासंघको सञ्चार अनुगमन इकाइमा अभिलेख भएअनुसार यी घटनाहरूमा यो एक वर्षको अवधिमा पत्रकार गिरफ्तारका २ घटना भएका छन्’, पोखरेलले भने, ‘कब्जा अवरोधका ७ , दुर्व्यवहार तथा धम्कीका २४, आक्रमणका ११ वटा घटना भएका छन् । लैङ्गिक हिंसाका २, विस्थापन १ र पेशागत असुरक्षाका ५५ वटा घटना भएका छन् ।’
‘इन्टरनेटको बढ्दो प्रयोगसँगै प्रेस स्वतन्त्रतामाथि आक्रमणका प्रवृत्तिहरू पनि बढेका छन् । सामाजिक सञ्जालमार्फत पत्रकारको बेडरुमसम्म पनि धम्किका सन्देशहरू पुग्ने गरेका छन् । यस्ता धम्किहरूको आधिकारिक तथ्यांक पाइँदैन’, उनले भनेका छन् ।
उनले भने, ‘मुलुकले संविधानसभामार्फत निर्मित संविधानको आधारमा संघीयताको अभ्यास थालेको पनि ८ वर्ष भैसकेको छ । तर, यतिका अवधि भैसक्दा पनि अझ पनि नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानुनहरू निर्माण हुन सकिरहेका छैनन् ।’
‘आमसञ्चार नीति २०७३ को कार्यान्वयनका लागि कानुनको अभाव भएको छ, जस्ले गर्दा संघीय गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको जस्तो गरी पत्रकारिता क्षेत्रलाई अगाडि बढाउन सकिएको छैन’, उनले भनेका छन् ।
‘प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनैतिक शक्ति अझै पनि अनुदार रहेको अनुभूति हामीले गर्न परिरहेको छ’, अध्यक्ष पोखरेलले भनेका छन् ।

‘सरकार र संसद्को प्राथमिकतामा सञ्चारसँग सम्बन्ध कानून र मुद्दाहरू पर्ने गरेका छैनन् । सञ्चार क्षेत्रमाथि जिम्मेवार राजनीतिक नेतृत्वबाट सञ्चार संस्था घेराउ गर्ने धम्कीसमेत सुनिदै आएको अवस्था छ’, उनले भनेका छन् ।
‘यति हुँदाहुँदै पनि निरन्तर नागरिकलाई सूचना प्रवाह गर्ने, राज्यलाई खबरदारी गर्ने आफ्नो दायित्व निर्वाह गर्न नेपाली पत्रकारिता निरन्तर लागिपरिरहेको अवस्था छ’, उनले भने, ‘प्रेसमैत्री कानून निर्माणका लागि पनि हाम्रो खबरदारीले काम गरिरहेको छ । हाम्रो लडाइँका कारण स्थगित भएका कानून निर्माणका प्रक्रियाहरूलाई सही ढंगले अगाडि बढाउन राज्यसँग हामीले प्रतिबद्धता खोजिरहेका छौं ।’
यसैबीच, पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा विशेष कार्यक्रम गरेको छ । महासंघले काठमाडौंमा प्रभातफेरी पनि गरेको छ ।
पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामगंगलमा आयोजित कार्यक्रमलाई सञ्चार, सूचना तथा प्रविविधिमन्त्री रेखा शर्मा, महासंघका अध्यक्ष पोखरेल, उपाध्यक्ष रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, महासचिव रोशन पुरी लगायतले सम्बोधन गरेका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया