लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा विश्वासको मत माग, एमालेका कारण बैठक स्थगित
मसुरिया । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभामा विश्वासको मत मागेका छन् ।
मंगलबार देउखुरीस्थित प्रदेश सभाको बैठकमा चौधरीले विश्वासको मत माग गरेका हुन् । उनले प्रदेशका नागरिकको जीवनस्तर सुधार गर्न आर्थिक समृद्धिको लागि प्रतिपक्षसँग पनि सहकार्य गरिने बताएका छन् ।
उनले भने, ‘आशा र विश्वास दिलाउनेगरी काम गर्नुपर्नेछ । केन्द्र सरकारसँग अधिकार प्राप्तिको लागि हामी सबै सँगै हिँड्नुपर्नेछ । सँगै हिँड्ने वातावरण निर्माण गर्छु ।’
मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत मागेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए । मुख्यमन्त्री चौधरी विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने तयारीमा छन् ।
प्रमुख विपक्षी दल एमालेले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत नदिने जनाएको छ । मुख्यमन्त्री चौधरीको नियुक्तिको पत्र प्रदेश सभालाई जानकारी नदिई मुख्यमन्त्रीले विश्वासको मत मागेको आरोप एमालेले लगाएको छ ।
एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले मुख्मयन्त्री नियुक्ति भएको जानकारी प्रदेश सभालाई गराउनुपर्ने जनाएका हुन् । सभामुख तुलाराम घर्तीले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । सभामुख घर्तीले एमालेको ध्यानाकर्षणलाई सुन्दै तत्कालका लागि सदन स्थगित गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया