बबरमहलमा टिपर दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको बबरमहलमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित सडकमा बा.१ क ३३०० नम्बरको टिपर कोल्टे पर्दा नजिकैको ट्रसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
टिपर ट्रसमा च्यापिएर चालक दोलखाको ठूलोपाटल गाउँपालिका–१ घर भई भक्तपुरको जगती बस्ने ३७ वर्षीय झकास पाख्रिनको शुक्रबार बिहान मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता, बाजुराको बुढीगंगा नगरपालिका–४ जाडेपानीस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९७२ नम्बरको ट्याक्टरमा चढ्ने क्रममा ट्याक्टरको टायरमा च्यापिएर सोही ठाउँ बस्ने ३१ वर्षीय खम्म रावतको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२८ शाझापुरस्थित सडकमा ना.२२ प ६८०० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय जलवा महत्तोको बिहीबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाराको कलैया उपमहानगरपालिका–२३ स्थित सडकमा ना.५ त ८२५० नम्बरको ट्याक्टरमा बा. ८० प ४०२१ नम्बरको मोटरसाइकल ठोक्किएर बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–२१ बस्ने २५ वर्षीय राजनकुमार रामको घटनास्थलमै मृत्यु भएको छ ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया