गोदावरीबाट ओखलढुंगा र कास्कीका दुई मानिसहरू पक्राउ
काठमाडौं । प्रहरीले ललितपुरबाट दुई जनालाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले आइतबार गोदावरी नगरपालिका–१३ झरुवारासीबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झरुवारासी बस्ने ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ घर भएका ३६ वर्षीय सुरेश तामाङ ‘जीवन’ र कास्कीको मादी गाउँपालिका–१ घर भएका २१ वर्षीय भुपाल बिक ‘सुकुटे’लाई नक्कली नोट र विभिन्न दशीका समानसहित प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
सुरेश तामाङले गोदावरी नगरपालिका–१३ झरुवारासीस्थित किराना पसलमा सामान किनेर जाली नोट दिएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको थियो ।
प्रहरीले सोही पसल अगाडिबाट नेपाली एक हजार दरको नोट १ थान, पाँच सय दरको नोट १ थान र एक सय दरको नोट १ थान गरी जम्मा ३ थान नक्कली जस्तो देखिने नोटसहित पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा भुपाल बिकको समेत संलग्नता रहेको खुल्न आएपछि ललितपुरको गोदावरी नगरपालिका–११ बज्रवाराहीबाट उनलाई नेपाली पाँच दरको नोट १ थान र सय दरको नोट १ थान गरी जम्मा २ थान नक्कली जस्तो देखिने नोटसहित फेला पारी बिहीबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
भुपाल बिकको गोदावरी नगरपालिका–१३ स्थित डेरा समेत तलासी गर्दा मुद्रा सम्बन्धी कसुरमा प्रमाणमा लाग्ने फोटकपी, प्रिन्टर मेसिन १ थान, नेपाली एक हजार, पाँच सय र एक सय दरका नोटको फोटोकपी गरिएको कागजातहरू र नक्कली जस्तो देखिने विभिन्न नोटपानाहरू समेत फेला पारी बारमद गरेको छ ।
उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया