पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । प्रहरीले ठगीको अभियोगमा तीन जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा कैलालीको टीकापुर नगरपालिका–१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका टीकाथली बस्ने ४० वर्षीय कृतकबहादुर साउँद, गोरखा घ्यालचोक गाउँपालिका–८ घर भई ललितपुरको गोदावरी नगरपालिका–१४ ठैब बस्ने ५१ वर्षीय दुर्गाबहादुर रेग्मी र सोही ठाउँ बस्ने ४५ वर्षीया कमला रेग्मी रहेका छन् ।

कृतकबहादुरले वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाई प्रतिष्ठित कम्पनीमा २ लाख रूपियाँभन्दा बढी तलब हुने काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी जम्मा १३ लाख ९२ हजार रुपियाँ ठगी गरेका थिए ।

उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट बुधबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी दुर्गाबहादुर र कमलाले पोर्चुगल पठाई प्रतिष्ठित होटलमा २ लाख रूपियाँभन्दा बढी तलब हुने काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा २१ लाख रुपियाँ ठगी गरेका थिए ।

उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर गोदावारी ठैबबाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

Published : Thursday, 2023 April 27, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया