काठमाडौंकी रश्मी भक्तपुरमा पक्राउ, शुकराज र विष्णुमा भेटिए

काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ७ घर भइ हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ बस्दै आएकी ४० वर्षीया रश्मी सिग्देललाई पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरले २०७९ सालको चैत २३ गते बैंकिङ कसूरको मुद्दामा दोषी ठहर गरेको थियो ।

रश्मीलाई अदालतले २६ लाख ९८ हजार ५ सय रुपियाँ नतिरेर फरार रहेको अभियोगमा फैसाल गरेको हो । उनलाई प्रहरीले सूर्यविनायकबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

यसैबीच, प्रहरीले दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । वैदेशिक रोजगारका लागि ओमन पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा ईलामको फाकफोकथुम गाउँपालिका–६ घर भई काठमाडौं गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बु र सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिकाको भैसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङ रहेका छन् ।

उनीहरूले पीडित व्यक्तिलाई वैदेशिक रोजगारको लागि ओमनमा फ्रि भिषा फ्रि टिकटमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोग लागेको छ ।

उनीहरूले विभिन्न प्रलोभनमा पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमन पुर्‍याई ३५०० ओमनी रियलमा ओमनी घर मालिकलाई बिक्री गरेको र मालिकले शारिरीक तथा मानसिक यातना दिई आफ्नो घर तथा अफिसको काममा लगाई राखेको अवस्थामा अचानक बेहोश भई पुन: कम्पनीमा फिर्ता गरेकोमा कम्पनीको मालिकले आफ्नो घर तथा अफिसको काममा लगाई राखेको अनुसन्धानबाट खुल्न आएको छ ।

पीडित नेपाली राजदूतावासको सहयोगमा नेपाल फर्किएका छन् । उनीहरू उपर मानवबेचबिखन तथा ओसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Published : Thursday, 2023 April 20, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया