दुई करोड काण्डमा परेका ‘धनप्रिय’ रवि लामिछानेबारे के भन्छन् कांग्रेसका रामहरि खतिवडा ?
भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले चितवन २ मा मतदाताहरूले गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठलाई जिताउनुपर्ने बताएका छन् ।
सोमबार बिहान चितवन २ मा आयोजित चुनावी प्रचार प्रसार तथा कोण सभामा बोल्दै खतिवडाले सिंहदरबारभित्र छिर्नेवित्तिकै धनप्रिय हुने नेतालाई मतदान नगर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘जनताको बीचमा गएर एउटा कुरा गर्ने, नेतासँग अर्को कुरा गर्ने पद्धति चितवनका साथीहरूसँग छैन । हामी जनतालाई ढाँटेर राजनीति गर्न चाहँदैनौँ । हामी जनतामा जाँदा बिक्रम संवत् २००७ सालदेखि कहिल्यै पनि परिवर्तन गरेनौं । हामी जे जनतामा भन्छौँ त्यही कुरा माथि पनि राख्छौँ ।’
‘सत्तामा नहुँदा एउटा कुरा गर्ने, सत्तामा जाँदा अरु कुरा गर्ने, जनतासँग जाँदा एउटा कुरा गर्ने, सत्तामा जाँदा अर्को कुरा गर्ने, जनतामा जाँदा जनप्रिय हुने, सिंहदरबारमा जाँदा धनप्रिय हुने पद्धति अन्त्य गर्नुपर्छ’, कांग्रेस नेता खतिवडाले भनेका छन् ।
उनले भने, ‘हामीले चुनाव ती शक्तिसँग लड्दै छौं । जुनशक्तिले जनतालाई ढाँटेर, आफूलाई ढाँटेर, आमालाई ढाँटेर, देशलाई ढाँटेर, नागरिकलाई ढाँटेर गएर चुनाव हुने वातावरण गर्यो । त्यो शक्ति नैतिक रुपमा पराजित भइसक्यो ।’
खतिवडाले भने, ‘तीन वटा उप–निर्वाचन गर्न लागेका छौँ । चितवन २ मा उप–निर्वाचन हुनका लागि जीतनारायण श्रेष्ठ पहल होइन, यहाँका जनताको पहल होइन, यहाँका साथीहरू जो निर्वाचित भएर जानुभएको थियो उहाँहरूले आफूलाई होइन, देशलाई होइन, आमा, छोरा, श्रीमती, जनतालाई ढाँटेर गलत कार्य गर्नाले आज उप–निर्वाचन भएको छ ।’
‘त्यसलाई सुधार्ने प्रयत्नमा तपाईहरू आउनुभएको छ । मतदान गलत ठाउँमा गयो भने तुरुन्त फिर्ता गर्न मिल्दैन’, उनले भने, ‘गलत ठाउँमा मतदान गर्नु हुँदैन । २०८० मा भएको यो निर्वाचनमा पहिलो मतदान गलत नगरिकन सम्पूर्ण गठबन्धनमा मतदान गर्न अनुरोध गर्दछु ।’
खतिवडाले भने, ‘जीतनारायण श्रेष्ठलाई मतदान गर्न अपील गर्दछु । चितवन भनेको लोकतान्त्रिक शक्ति र वामपन्थी शक्ति मिलेको भूमि हो ।’
‘भरतपुर महानगरपालिकामा गठबन्धनका कारण अत्याधिक मतले जित्न सफल भयौं’, उनले भने, ‘फेरि गठबन्धन हुँदै जाँदा संघमा हारियो भने गठबन्धन गरेको तिमीहरूले सहि गरेका रहेन छौं भन्नेछन् ।’
उनले भने, ‘म कसैलाई गाली गर्न आएको होइन । मलाई एउटा कुरामा दु:ख लागेको छ । चितवनबासीले दु:खलाई सुखमा परिणत गर्नु हुनेछ ।’
‘गलत ठाउँमा मतदान गर्नाले आज फेरि चुनाव हुने अवस्था आयो । यस पटक सहि ठाउँमा मतदान गर्ने अवसर चितवनबासीलाई छ’, खतिवडाले भने, ‘त्यो सहि उम्मेदवार भनेको जीतनारायण श्रेष्ठ हो ।’
उनले भने, ‘चितवनमा मलाई मतदान गर्ने अधिकार छैन । चितवनबासीले मतदान सहि ठाउँमा गरेर वैशाख १० को चुनावपछि चितवन २ बाट जीतनारायण श्रेष्ठले जितेको छभन्ने समाचार देशभरि गुञ्जनेछ ।’
खतिवडाले भने, ‘सुकुम्बासी र ढलको समस्या सुनेको छु । सांसद भएको नाताले ती मुद्धाहरू समाधान गर्न गठबन्धनको नेतृत्वले जीतनारायणको हात समातेर समस्या समाधान गर्न पहल गरिनेछ ।’
कांग्रेस नेता खतिवडाले नाम उल्लेख नगरेरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका कारण चितवन २ मा उप–निर्वाचन हुन थालेको र देश र जनतालाई ढाँटेको बताएका हुन् ।
सभापति लामिछाने आफ्नै सांसद ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाउन २ करोड माग गरेको अभियोगमा विवादमा परेका छन् ।
लामिछानेले आफ्नै सांसदलाई भ्रष्टाचार काण्डमा कारबाही गरेका छन् । आफू भने चुनावमा उम्मेदवार बनेर जनताको आँखामा छारो हाल्ने काम गरिरहेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया