रुम्जाटार र खिजिदेम्बा विमानस्थल सञ्चालन गर्न कांग्रेसका खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले देशमा बाँदर आतंक भएको भन्दै केही बाँदरलाई चीनतिर पठाउन ब्याङ्ग्य गरेका छन् ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा शून्य समयमा बोल्दै खतिवडाले भने, ‘देशमा बाँदर आतंक छ । मैले एउटा समाचार सुनेको थिएँ । पढेको थिएँ । श्रीलंकाले बाँदरलाई चीनतिर निकासी गरेछ, बेचे छ ।’

‘हाम्रो पनि आर्थिक संकट परिरहेको छ’, उनले भने, ‘केही बाँदरहरू चीनतिर लाने व्यवस्था गरियोस भनेर सरकारसँग अनुरोध गर्न चाहन्छु । कि मार्ने अनुमति दिइयो ।’

खतिवडाले ओखलढुंगामा दुई वटा विमानस्थल रहे पनि सञ्चालन हुन नसकेको भन्दै चिन्ता जनाएका छन् । उनले ओखलढुंगाका दुई वटा विमानस्थलहरू तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।

उनले भने, ‘ओखलढुंगामा रुम्जाटार र खिजिदेम्बामा दुई वटा एयरपोर्ट छन् । दुबै सञ्चालनमा छैनन् । तुरुन्त रुम्जाटार र खिजिदेम्बा एयरपोर्ट सञ्चालन गर्ने व्यवस्था होस् ।’

प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेकोमा पनि खतिवडाले प्रतिवाद गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खतिवडाले भने, ‘भरखरै प्रधानमन्त्री हराएको सूचना सुन्न पाइयो । आज तीन बजे शपथग्रहण गर्ने भनेको सनेको छु । सूचना गर्ने माननीयज्यूलाई ३ बजे त्यहाँ उपस्थित हुन अनुरोध छ । दौरा सुरुवालमा जानु होला ।’

Published : Sunday, 2023 April 16, 11:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया