ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौं । ललितपुरसहित विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

ललितपुरको ललितपुर महानगरपालिका–३ धोबिघाटस्थित सडकमा प्रदेश १–०३–००१ प १६६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेस्थित सडकमा ना.१ क ६१६० नम्बरको टिपर र को.१ त ६५३६ नम्बरको ट्याक्टर एक–आपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका–४ बस्ने ४५ वर्षीय भुषणलाल चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बैतडीको डिलासैनी गाउँपालिका–३ धौकुचेस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००१ ज १२९४ नम्बरको जीपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया गौरा नाथको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको मिथिला नगरपालिका–५ श्रीपुर औरही पुलस्थित सडकमा प्र.२–०२–००२ प ८३०४ नम्बरको मोटरसाइकललाई प्र.१–०१–००२ ख ८७७३ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–३ हरिहरपुर बस्ने २० वर्षीय युवराज महतोको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरीले दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Thursday, 2023 April 6, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया