सिंहसहित प्रहरीका यी ठूला हाकिमहरूले अवकास पाए

काठमाडौं । नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहसहित ९ जना वरिष्ठ प्रहरी अधिकृतले अनिर्वाय अवकाश पाउन लागेका छन् ।

आईजीपी सिंहसहित उनका ब्याचका ९ वरिष्ठ अधिकारीले ३० वर्षे सेवा हदका कारण अवकाश पाउन लागेका हुन् । उनीहरू सबै शुक्रबार मध्यरातदेखि प्रहरी सेवाबाट विदा हुनेछन् ।

प्रहरी किताबखानाले एक महिना अगाडि नै उनीहरू सबैलाई अवकाशको पत्र थमाइसकेको छ ।

आईजीपी सिंहसहित अधिकृतहरूको विदाइका लागि शुक्रबार साँझ ५ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा विदाइ कार्यक्रम राखिएको छ ।

आईजीपी सिंहसँगै एआईजी सहकुलबहादुर थापा, उत्तमराज सवेदी र दिवेश लोहोनी अवकाशमा जान लागेका छन् ।

डीआईजी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि अवकाशमा जान लागेका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी) उमाशंकर पञ्जियार र जनकराज पाण्डे पनि अवकाशमा जान लागेका छन् ।

आईजीपी सिंहको टोली २०४९ चैतमा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेको थियो ।

३० वर्षे सेवा अवधिका कारण महानिरीक्षक सिंहले एक वर्ष मात्रै प्रहरीको नेतृत्व गर्न पाए ।

यसैबीच, सरकारले नेपाल प्रहरीको आईजीपीमा बसन्तबहादुर कुँवरलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपीमा बढुवा गरेको हो ।

Published : Friday, 2023 March 24, 5:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया