वातावरणीय प्रभावका असर कम गर्न हातेमालो गरौं : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद आरजु राणाले वातावरणीय प्रभावका असरहरू नेपालमा द्रुतगतिमा देखिन थालेको बताएकी छिन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेतृ राणाले सरकार र निजी क्षेत्रले वातावरणीय प्रदुषण नियन्त्रणमा हातेमालो गरेर अघि बढ्नुपर्ने सुझाव दिएकी छिन् ।

राणाले जलवायु परिवर्तनको मुद्दा तत्काल सम्वोधन गर्नुपर्ने बताएकी छिन् । उनले तत्काल अन्तर्राष्टिय समुदाय समक्ष यो विषय उठाउनुपर्ने बताइन् ।

उनले जलवायु परिवर्तनमा नेपालको विधिहरू वातावरणमैत्री नै भएपनि अझै धेरै काम भने गर्न बाँकी रहेको बताएकी छिन् ।

‘हामी जलविद्युतमा उदाहरणीय छौं । जलवायु परिवर्तनका बारेमा सार्वजनिक सचेतना फैलाउने काम हामीले तत्काल सुरु गर्नुपर्ने छ’, उनले भनेकी छिन्, ‘यसका लागि राजनीतिक दल, संचार माध्याम लगायत सबैले हातेमालो गरेर अघि बढ्नु पर्छ ।’

नेतृ राणाले भनेकी छिन्, ‘हामीले खानपिन, यातयात र विकासको मोडल लगायतका क्षेत्रमा तत्काल सुधार गरर वातावरणमैत्री बनाउन पहल गर्नुपर्छ ।’

‘वातावरण र वन मन्त्रालय मात्रै होइन, सबै मन्त्रालयले वातावरणमैत्री नीति अवलम्वन गर्नुपर्छ’, उनले भनेकी छिन्, ‘तपाईहरू सबै सांसदज्यूहरूलाई म अनुरोध गर्न चाहान्छु, स्थानीय र प्रदेश सरकारले जलवायु परिवर्तनका क्षेत्रमा के काम गरिरहेको छ ? त्यसमा हामीले ‘वाच डग’को काम गरौं ।’

Published : Thursday, 2023 March 23, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया