कांग्रेसका खतिवडाको मागसँगै प्रचण्ड सरकार २४ घण्टाभित्रै ब्याक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले रासायनिक मलको अनुदान घटाउने निर्णयको विरोध गरेको २४ घण्टाभित्र सरकार आफ्नो निर्णयबाट ब्याक भएको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बताएकी छिन् ।

सरकारले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णय गरेको शर्माले बताएकी छिन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले मलमा अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।

सरकारले रासायनिक मलमा अनुदान कटौती गरेर मूल्य बढाएपछि कांग्रेसका सांसद खतिवडाले सो निर्णय फिर्ता गर्न प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा शून्य समयमा माग गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सोमबार विश्वासको मत लिने क्रममा प्रतिनिधि सभाको बैठकमा रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय फिर्ता लिइएको सांसदहरूलाई जानकारी गराएका थिए ।

Published : Monday, 2023 March 20, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया