कांग्रेस सहमतिबाट दायाँबायाँ हुँदैन : देउवा

काठमाडौं । जनादेशविपरीत षडयन्त्र गरेर आर्जेको सत्ता चरम अहंकार र घमण्डले गुमेसँगै छटपटाइरहेको एमालेपंक्तिले नयाँ गठबन्धनविरुद्ध अर्को षडयन्त्र थालेको छ ।

एमालेले संगठित रुपमा ८ दलीय गठबन्धनमा अविश्वास पैदा गर्न सिंगो संगठनलाई परिचालन गरेको छ । एमाले नेता कार्यकर्ताले माओवादी नेतृत्वको सरकारलाई कांग्रेसले समर्थन नगर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा पर्नेभन्दै दुष्प्रचार गरेका छन् ।

कतिसम्म भने एमालेजनहरूले राष्ट्रपति चुनावलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाको सरकार बन्ने र ‘प्रचण्ड’ एक्लिने भन्दै सत्ता गुमाएको झोंकमा नयाँ गठबन्धनमा अविश्वास पैदा गराउने प्रयत्नमा लागेका छन् ।

कांग्रेस सभापति देउवासहित सिंगो पार्टीपंक्ति ८ दलीय सहमतिको स्पिरिटबाट दायाँबायाँ नहुनेमा प्रतिबद्ध देखिएको छ ।

सभापति देउवाले पार्टीका युवा नेता विकाशकुमार ठाकुरसँगको भेटमा ‘प्रचण्ड’लाई सहमतिविपरीत नचलाउने र सहमतिबाट दायाँबायाँ नहुने प्रष्ट पारेका हुन् ।

‘धारा ७६(३) जाने भन्ने एमालेको प्रपञ्च हो । माओवादीसँग सम्बन्ध बनाएर अघि बढ्छौं । प्रचण्डजीले आफ्नो कार्यकाल पूरा गर्छन् । पाँचै वर्ष सरकार चल्छ । त्यसमा कांग्रेसका मन्त्रीहरूले देश र जनताका पक्षमा राम्रो काम गर्छन्’, देउवाले भनेका छन् ।

कांग्रेस ८ दलीय गठबन्धनको सहमतिबाट दायाँबायाँ नहुने देउवाको भनाइ छ ।

एमालेले प्रपञ्च रचेको कुरा सभापति देउवाले प्रधानमन्त्री ‘प्रचण्ड’लाई पनि जानकारी गराइसकेको र प्रचण्ड ढुक्क रहेका छन् ।

‘कांग्रेसबाट धोका हुँदैन भन्नेमा प्रचण्डजी पहिलेदेखि नै विश्वस्त हुनुहुन्छ’, देउवाले भने, ‘अहिले फर्किएर आउँदा कोर्स करेक्सन भएको छ । उहाँ अब आफ्नो कार्यकाल ८ दलीय गठबन्धनबाट गर्नुहुन्छ । कांग्रेसले इमान्दारिताका साथ सहकार्य गर्छ ।’

Published : Friday, 2023 March 3, 11:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया