असइको हत्या, जवान खत्रीलाई जन्मकैद

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीलाई जन्मकैदको सजाय भएको छ ।

सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असइ) सत्यनारायण यादवको हत्या कसुरमा खत्रीलाई सो सजाय सुनाइएको हो ।

सोमबार जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले जन्मकैद सजाय सुनाएको सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केले बताएका छन् ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बिओपी)मा कार्यरत असइ सिराहाको भगवानपुर गाउँपालिका–२ नरहाका ४५ वर्षीय यादवको गत असोज १९ गते हत्या भएको थियो ।

हत्या कसूरमा सोही पोस्टमा कार्यरत प्रहरी जवान ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–२ का ३९ वर्षीय खत्रीलाई जन्मकैदको सजाय भएको छ ।

खत्रीलाई ३ लाख रुपियाँ क्षतिपूर्ति भराउने र फौजदारी कसूर पीडित राहत कोषमा २ हजार ८ सय रुपियाँ जम्मा गराउने फैसला भएको छ ।

यादवको हत्या भएपछि मृतककी पत्नी फुलसैरदेवी यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

मोहनपुरस्थित बोर्डर आउट पोस्टभित्रै हत्या गरी घटना लुकाउन आरोपित खत्रीले अन्य व्यक्तिको सहयोगमा भारत पु¥याएर शव फालेको मृतक परिवारका सदस्यको आरोप थियो ।

नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर दक्षिण भारत बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित खोलामा यादवको शव गत असोज २० गते बिहान फेला परेको थियो ।

हत्याको घटनामा खत्रीलाई गत असोज २६ गते पक्राउ गरिएको थियो ।

Published : Tuesday, 2023 February 21, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया