धादिङको राइजिङ स्टार ईङलिस बोर्डिङ स्कुलले मनायो १९औं वार्षिकोत्सव
धादिङ । धादिङको बेनीघाट रोराङ– ७, चरौदीमा रहेको राइजिङ स्टार ईङलिस बोर्डिङ स्कुलले १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवनकुमार घिमिरेको सभापतित्व तथा बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
माघ २९ गते भएको कार्यक्रममा विद्यार्थीले पिटी तथा ड्रिल लगायत थुप्रै मनोरञ्जनात्मक साङ्गीतिक प्रस्तुति देखाएका थिए ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरू श्याम राना मगर, सुमन थापा मगर, विद्यालयका भुतपूर्व विद्यार्थी कलाकार प्रसङ्ग थपलियाले विशेष प्रस्तुति देखाएका थिए ।
प्रमुख अतिथि बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ले संस्थागत विद्यालय नभनी गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढाउन सहयोग गर्ने बताएका छन् ।
वि.स.२०६१ सालमा ५२ जना विद्यार्थीबाट कक्षाहरू सुरु गरेको विद्यालयले अहिले नर्सरीदेखि कक्षा १० सम्म ३५० छात्र–छात्रालाई अध्ययन अध्यापन गराउँदै आएको छ ।
विद्यालयले २०७८ सालका एसईईमा विषयगतमा ४ जीपीए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको थियो ।
उत्कृष्ट शिक्षक सम्मान अनि अभिभावकलाई सम्मान पनि गरिएको छ ।
यस वर्ष उत्कृष्ट अभिभावकका रुपमा चन्द्रबहादुर गुरुङ, माया गुरुङ र सुकुमाया सेन्चुरीलाई स्कुलका प्रिन्सिपल टीका थपलिया र अध्यक्ष जीवनकुमार घिमिरेबाट सम्मानित गरिएको छ ।
कार्यक्रममा शिक्षिकाहरू अर्चना रिजाल, रेजिना रेग्मी र निशा सिलवाल पनि सम्मानित भएका छन् ।
विगत तीन वर्षबाट सुरुवात भएको उत्कृष्ट वर्ष शिक्षिका रुपमा दिइने बेस्ट टिचर अवार्डबाट भने नेपाली शिक्षिका कमला थपलिया सम्मानित भएका छन् ।
प्रिन्सिपल टीकाप्रसाद थपलिया आफैले मूल्यांकन गरिने सो पुरस्कारको राशी रू. ५ हजार नगद र बेस्ट टिचर ट्रफी रहेको छ ।
विद्यालयका प्रिन्सिपल टीकाप्रसाद थपलियाले आफ्नो प्रतिवेदन पेस गरेका छन् । उनले विद्यालयलाई अझै उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अघिल्लो वर्षको एसईईको नतिजाअनुसार पालिकाबाट सामाजिकतर्फबाट उत्कृष्ट विषय शिक्षक हुन सफल यसै स्कुलका प्रिन्सिपल टीकाप्रसाद थपलिया र बीएलईको नतिजाअनुसार नैतिक शिक्षाबाट उत्कृष्ट विषय शिक्षक हुन सफल यसै विद्यालयका भाइस प्रिन्सिपल दुर्गाबाबू गुरुङ जस्तै यसपाली अरु विषयमा पनि उत्कृष्ट हुने आशा व्यक्ति गरेका छन् ।
तेस्तै अबको दिनमा पढाइलाई मात्र फोकस नगरी पालिकाले आयोजना गर्ने खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत अब्बल हुनलाई आजैदेखि तयारी गर्ने तथा विद्यार्थीको सर्बाङ्गिण विकासमा जोड दिने प्रतिबद्धता जनाए ।
२०७१ देखि एसएलसीमा सहभागी भएको यस विद्यालय अहिलेसम्म शतप्रतिशत नतिजा दिन सफल पालिकाकै एक मात्र विद्यालय भएको उनले बताएका छन् ।
नाफामुखीभन्दा पनि सेवामुखी रुपमा अघि बढ्दै आएको यस विद्यालयले आगामी दिनमा पैसाकै कारण शिक्षाबाट बालबालिका बञ्चित हुन नपरोस् भनेर राइजिङ स्टार जन्मदिन सहायता अक्षयकोष स्थापनाका लागि प्रिन्सीपलले वाषिर्कोत्सवकै अवसर पारेर रू. १० हजारको चेक विद्यालयका कोषाध्यक्ष होमनाथ थपलियालाई हस्तान्तरण गरिएको छ ।
उल्सन रुवालिको जन्मदिनको उपलक्ष्यमा उनका वुवा उद्योग बाणिज्य संघका दक्षिण क्षेत्रीय अध्यक्ष उमेश रुवाली तथा आमा लक्ष्मी बस्नेत रुवालीको तर्फबाट १०५०, शिक्षिका रेजिना खड्काको तर्फबाट आफ्नै जन्मदिनको उपलक्ष्यमा ११०० अक्षयकोषमा जम्मा भएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया