इन्टरपोलको सम्मेलनबाट आईजीपी सिंह स्वदेश फिर्ता, अपराधीहरूले छुट नपाउने
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह स्वदेश फर्किएका छन् ।
आइतबार आईजीपी सिंह स्वदेश फर्किएका हुन् । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा नेपालको तर्फबाट सिंह सहभागी भएका थिए ।
प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीका उच्च अधिकारीहरूले स्वागत गरेका छन् ।
सम्वाददाताहरूसँग कुरा गर्दै सिंहले सम्मेलनमा एसियाली राष्ट्रका प्रहरी संगठन मजबुत बनाउने विषयमा छलफल भएको बताए ।
उनले इन्टरपोललाई थप सक्रिय बनाउने विषयमा छलफल भएको बताएका छन् ।
एसियाली देशहरूबाट आतंकवाद निर्मुल पार्ने, मानव बेचबिखन नियन्त्रण तथा पछिल्लो समयमा विश्वव्यापी समस्याको रुपमा देखापरेको साइबर अपराध र साइबर सुरक्षामा एकतावद्ध भएर प्रभावकारी तरिकाले काम गर्ने विषयमा छलफल भएको उनले बताएका छन् ।
कुनै पनि अपराधी अर्को देशमा गएर लुक्न नपाओस् भन्ने विषयमा समेत सम्मेलनमा सदस्य राष्ट्रहरूले जोड दिएको उनले बताएका छन् ।
इन्टरपोल स्थापना भएको सय वर्ष पूरा भएको अवसरमा सदस्य राष्ट्रले यसलाई विशेष रुपमा मनाउने निर्णय गरिएको र नेपाल सयौं सदस्य राष्ट्र समेत भएकोले सोही अवसरमा नेपाल प्रहरीले आइजीपी रनिङ शील्ड फुटबल प्रतियोगिता आयोजना गरिसकेको सिंहले बताएका छन् ।
प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमा अन्य विविध कार्यक्रम आयोजना गरिने समेत बताएका छन् ।
हाल इन्टरपोलको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका दुई जना अधिकृतहरू सिंगापुर र लियोनमा कार्यरत रहेकोले यो नेपाल प्रहरीकै लागि गौरवको विषय भएको उनले बताएका छन् ।
महानिरीक्षक सिंहले नेपाल प्रहरी इन्टरपोलको सदस्य भएकै कारण गल्फ लगायत विभिन्न देशमा लुकेर रहेका अभियुक्तहरूलाई इन्टरपोलको सहायताबाट पक्राउ गरेर ल्याउन सफल भएको बताएका छन् ।
सिंहले इन्टरपोलका अध्यक्ष मेजर जनरल अहमद नासिर अल–रइसी र महासचिव जर्गन स्कटलगायत इन्टरपोलका पदाधिकारीहरूसँग भेटघाट गरेका छन् ।
भेटघाटको क्रममा नेपालले इन्टरपोलको सदस्य राष्ट्रको रुपमा देखाएको सक्रियताको प्रशंसा भएको र नेपाल प्रहरीका अधिकृतहरूको क्षमता अभिबृद्धिको लागि विभिन्न तालिममा सहभागी गराउने विषयमा छलफल भएको सिंहले बताएका छन् ।
सम्मेलनको क्रममा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन भारत, चीन र दक्षिण कोरियालगायतका मुलुकका प्रहरी प्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता एवम् औपचारिक र अनौपचारिक छलफल समेत निकै फलदायी भएको सिंहले बताएका छन् ।
नेशनल सेन्ट्रल ब्यूरो (एनसिबि) काठमाडौं नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपमशम्शेर जबरा समेत उक्त सम्मेलनमा सहभागी भएको थियो ।
त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरूमा बृहत छलफल भएको थियो ।
यसअघि इन्टरपोलको २३औँ एसियाली सम्मेलन सन् २०१७ मा काठमाडौंमा सम्पन्न भएको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया